पिताजीले भन्नुहुन्थ्यो,
” तिमीहरूले सोह्र वर्ष पूरा गर्यौ । बाल्य अवस्था पूरा भयो । अब तिमीहरू साथी समान भयौ । विस्तारै जीवन र जगत बुझ्ने चेतना विकास हुँदै जान्छ । यो चुनौतीपूर्ण उमेर हो त्यसैले ख्याल गर । यो उमेरलाई सहकार्यमा बदल्न कोसिस गर । मनमा अनेकौं इच्छा आकांक्षाहरू पलाउने र हराउने उमेर भएकोले सहकार्य गर्न सिक । “
पिताजीका ती व्यावहारिक वार्तालाप अब पाइन्न । अहिलेका मातापिता प्राविधिक मात्रै भए व्यावहारिक भएनन् । पिताजीले त्यो समयमा व्यक्ति,परिवार र समाजको बारेमा भनेका भनाइहरू अहिले म झल्झलि सम्झने गर्छु । हरेक मानिसका स्वभाव र व्यवहारसगँ दाँज्दै आफुलाई अड्कल्छु । उहाँले भनेको जीवन र जगतको परिभाषा भेट्दिनँ ।
सरल,व्यवहारिकता जोडिएको सामाजिक न्यायको मानवता अनि जिउने प्रेरणाले भरिएको ओज कहिँकतै छैन । सास हुन्जेलको आश,आश छउन्जेलको त्रासभित्र व्यवहार खोजीरहेकी छु । यहि त्रासले भरिएका अनेकौं रङ्गले रङ्गिन हुँदै जीवन अघि बढाइरहेकी छु । पिताजीले सिकाएको र बुझाएको ज्ञान,सीप र व्यवहारबाट च्युत हुने वातावरण कहिल्यै नबनोस ।
पिताजीले खोजेको परिवारभित्रको भावनात्मक एकता कायम गर्न लोभांश हटाउने र सबैलाई न्याय दिने भुमिकामा रहँदा सयौं पटक एक्लै परिने कुरा आज सत्य सावित भएको छ । “अँहकार र दम्भको घेरा पूरा नभएसम्म मानिसमा म ठूलो भन्ने घमण्ड जिउँदै हुन्छ । मनको अहँम जिउँदो रहुन्जेल मानिसलाई परिवार,नाता र सम्बन्ध चाहिँदैन । त्यसलाई मार्न सामाजिक चेत चाहिन्छ । आफ्नो र आफ्नाको पेरिफेरिबाट अलग भएर सोच्ने र बुझ्ने हुन सक्नु पर्दछ । त्यो बेला भावनामा सबैबाट एक्लिएको महसुस हुनसक्छ ! ” ” त्यस प्रकारको कठोर र अप्रियताले आफ्नाको खेदो खन्ने, हेप्ने, लखेट्ने र घेराबन्दी गर्ने भईरहन्छ । आतिनु हुन्न !” “विचलित नहुनु भन्ने वाक्यले अहिले मलाई चौबाटोमा ठिङ्ग उभ्याएको छ।
पिताजी साथमा नभएपनि आँतमा हुनुहुन्छ । आँतको साथ सदा जिवित हुँदोरहेछ । पिताजीको भौतिक साथ त अब मैले पाउँदिन तर अदृश्य त्यो आँतको आड,साथ र सहयोगले मलाई डोर्याइ रहनेछ । पिताजी,तपाईंको यादभित्र जोडिएको अर्को पक्ष तपाईंकी सह धर्मणी मेरी ममतामयी माताको साथ, सहयोग र मातृत्व भरिएको हात अझै सशक्त छ । उहाँको हातले व्यवहारमा स्पर्श गर्दा तपाईंको न्यानो काखको अनुभुति पाएको महसुस गर्छु । तपाईंले बुझाएको ” मानवीय धर्म बिर्सनु हुन्न, सामाजिक दायित्वबाट तर्कनु हुन्न !” भन्ने भनाइसँग जोडिन खोज्दा परिवारबाट टाढा भइदो रहेछ । यो पक्षको पहिचान गर्ने चेतको विकास पनि तपाईंबाटै पाएको हो ।
” परिवारका सबै आफुबाट माथि नउठ्न सक्छन् । तिमीले जीवन र जगत केलाउँनु र सामाजिक दायित्वभित्र निथ्रुक भिज्न सक्नु” भन्नू भएको थियोे । म अझै पनि जोडिन, भिज्न र अडिन खोजिरहेकी छु । तपाईंको यादसँगै जोडिएर आउने अहिलेको मेरो पौरखी हात तपाईंकि सह- धर्मिणी मेरी ममतामयी माताजीको स्वस्थ जीवनको कामना गर्दै पिताजी तपाईंप्रति शब्द श्रद्धा व्यक्त गर्न चाहन्छु ।




























































Discussion about this post