काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन । बुधबार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
मन्त्री किरातीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए । उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनका लागि तत्काल आउन नसक्ने औंल्याए ।
मन्त्री किरातीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए। उनले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको जानकारी दिए ।
मन्त्री किरातीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर पाँचदेखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताए। उनले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शून्य बनाएर छाड्ने भनाइ राखे।
मन्त्री किरातीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने जिकिर गरे । उनले दुई छिमेकी राष्ट्रको जनसङ्ख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कयता रहेको बताए ।


उनले भूटान, बङ्गलादेश र नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताए । उनले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रवर्द्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताए । मन्त्री किरातीले बोर्डका आजसम्मका विकृति, विसंगतिहरु अन्त्य गर्न चाहेको उल्लेख गरे।
मन्त्री किरातीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरु ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताए । उनले पर्यटन बोर्ड बिना पनि यो देश चल्नसक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने जिकिर गरे ।
मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताए।
मन्त्री किरातीले आफू मन्त्री हुनका लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताए। उनले राजनीतिक स्थायित्वका लागि पुरानाको अनुभव र नयाँको जोसजागर मिलाएर अगाडि बढ्नुपर्ने बताए । आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्नेगरी ‘टुरिस्ट बस नेपाल’ एप्स सञ्चालनमा ल्याएको छ ।



























































Discussion about this post