बाजुराः बाजुरा लगायत सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा शुरु भएको छ । तिर्थ यात्रा शुरु भए सँगै पूजाका लागि बाजुराको सरकारी टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालगायतको टोली बिहानै सदरमुकाम मार्तडीबाट पूजा सामग्री सहित बडिमालिकाका लागि प्रस्थान गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताए ।
हरेक वर्ष शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि मेला लाग्नु भन्दा चार दिन अघि नै तिर्थयात्रीहरु प्रस्थान गरिसकेका छन्।
बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणि र खेतीपाती लगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकन सँगै बडिमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पुरा हुन्छ भन्ने बिश्वासले बाजुरा लगायत देशभर तथा भारत बाट समेत तीर्थयात्री बडीमालिका जाने गरेका छन् ।
बडीमालिकाको दर्शनपछि धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने लगायत धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए । पुजारी पाध्यायका अनुसार बडीमालिका माता शक्तिका रुपमा बरदान दिने भएकाले देश तथा विदेशबाट आउने दर्शनार्थीको भिड लाग्ने गरेको छ।
बडीमालिकामा बाजुरा,डोटी,जुम्ला र कालिकोटबाट पूजा सामग्री सहित सरकारी टोली जाने गरेको छ। बाजुरामा हरेक बर्ष शुक्ल चतुर्दशीका दिन बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेखसुनन्दा लगायतका शक्तिपीठहरुमा एकैदिन पूजा लाग्ने गरेको छ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरि आन्तरिक पर्यटकको गन्तव्यका रुपमा जिल्लालाई स्थापित गर्न यी शक्तिपीठ हरुको महत्त्वपूर्ण भूमिका रहेको छ।




























































Discussion about this post