पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर बुधबार पर्यटकीय सहर पोखरामा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवस “टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट” भन्ने मुल नाराका साथ कार्यक्रमहरू गरिएका हुन् ।


पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाईमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमार्फत अवतरण गरेका आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिएको छ । पर्यटकहरूको स्वागत गर्न पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङ, महानगरका प्रवक्ता मोती तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, कर्मचारी, पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । पाहुनाको स्वागत गर्न पर्यटन व्यावसायी बिहानै विमानस्थल पुगेका थिए । पञ्चेबाजा बजाउँदै पाहुनालाई व्यावसायीले स्वागत गर्दा पाहुना पनि खुसी भएका थिए ।


पहिलो उडानमार्फत आएका पाहुनामध्ये पनि पहिलोलाई दोर्जेज रिसोर्टमा एकजोडीका लागि बसोबास, दोश्रोलाई प्याराग्लाइडिङ र तेश्रोलाई डिनरको कुपन प्रदान गरिएको परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ” १२ जना पाहुनालाई अन्नपूर्ण केवलकारको कुपन दिइएको छ । त्यस्तै पर्यटक बसबाट आएका पाहुनालाई पनि स्वागत गरिएको छ”, उनले भने ।


यसैगरि, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले पनि विश्व पर्यटन दिवसकै अवसरमा पोखरा पर्यटक बसपार्कमा वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना गरेको छ । शमी, धुपी, पारीजात लगायतका जातका बिरुवा रोपिएको हो । गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले पहिलो रक्तदाता अमृत सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए। उपाध्यक्ष देवकोटा, प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ लगायतले रक्तदान गरेका थिए ।


यसैगरि, रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा बुधबार बेलुकी पोखराको लेकसाइडमा ‘मिनी स्ट्रिट फेस्टिबल’ आयोजना गर्ने तयारी भएको रेबान अध्यक्ष नरेश भट्टराईले बताए । उनका अनुसार बुधबार बेलुकी पाँचबजेदेखि राती अबेरसम्म लेकसाइडमा स्ट्रिट फेस्टिभल संचालन हुनेछ । फेस्टिभलका क्रममा सडकमै रेस्टुरेन्ट संचालन गरिनेछ भने पाहुनाले चाहेको परिकार सडकमै खान पाउनेछन् ।


यसैगरि, पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरको आयोजनामा फेवातालको सिरान क्षेत्रमा एकदिने पदयात्रा पनि संचालन गरेको थियो । टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न एकदिने पदयात्रा संचालन गरिएको बताए ।
पृथ्वी होटल समितिले विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी र सरसफाई गरेको छ । पोखराको मानव अधिकार चोकबाट सुरु भएको र्याली पृथ्बीचोक हुँदै पोखरा बसपार्कमा सरसफाई गरिएको समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले बताए । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सरसफाई कार्यक्रमको शुभारम्भ गर्दै सफाई अभियानमा जुटेका थिए ।


विश्व पर्यटन दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय मिडियाकर्मीहरू बिच अन्तरक्रिया समेत हुने भएको हो । पर्यटन दिवसको पूर्व सन्ध्यामा असोज ९ गते टान गण्डकीको आयोजनामा व्यवसायीहरू, पर्यटकहरू र पत्रकारहरू सहितको टोली मार्की देखि पुम्दीकोट सम्मको एकदिने पदयात्रा कार्यक्रम आयोजना भएको थियो ।































































Discussion about this post