प्लास्टिक प्रदूषण र प्रजनन स्वास्थ्यमाथिको प्रभावबारे बहस
काठमाडौं, जेठ ११ – नेकपा एमालेको वन तथा वातावरण विभागले यस वर्षको विश्व वातावरण दिवस (जुन २२ गते) भव्य रूपमा मनाउने तयारी गरेको छ। बानेश्वरस्थित अल्फा हाउसमा बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम ११ बजे सम्पन्न हुने छ। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।
कार्यक्रममा प्लास्टिक प्रदूषण तथा त्यसले महिलाको प्रजनन स्वास्थ्यमा पार्ने असर सम्बन्धी विशेष छलफल हुनेछ। यसका साथै प्लास्टिकमै काम गरिरहेका विज्ञहरूका प्रस्तुति, बहु-सरोकारवालाबीचको संवाद तथा सचेतनामूलक सन्देशहरूको आदानप्रदान गरिनेछ।
वन तथा वातावरण विभागकी अध्यक्ष भारती पाठकका अनुसार कार्यक्रमको उद्देश्य वातावरण प्रदूषण नियन्त्रण, प्लास्टिकको प्रयोगमा कमी, र सार्वजनिक सचेतना अभिवृद्धि गर्नु हो। “प्लास्टिक प्रयोगको दुष्प्रभावबारे समाजमा व्यापक रूपमा सचेतना फैलाउनु आवश्यक छ,” उनले भनिन्।
कार्यक्रममा युवा प्रतिनिधि, विभिन्न समितिहरूका सदस्य, सामुदायिक प्रतिनिधिहरू गरी करिब ३५–४० जनाको सहभागिता रहने जनाइएको छ। बहस र छलफलमार्फत प्लास्टिकको प्रयोग कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कार्यदिशा तय गरिने बताइएको छ।
विश्वभर वातावरण प्रदूषण चिन्ताको विषय बनेको सन्दर्भमा नेकपा एमालेले यस वर्ष वातावरण दिवसलाई कार्यदिशामूलक बहसको थलो बनाउँदैछ।



























































Discussion about this post