दाङ: दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेती गर्दै गरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरू सयपत्री खेतीमा तल्लीन भएका हुन् । उनीहरूले तुलसीपुर–६ गोलौरामा सात कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सयपत्री खेती थालेका हुन् ।
कलेजमा अध्ययनरत बिबिएस प्रथम, द्वितीय र चौथो वर्षका ८० विद्यार्थी मिलेर सामूहिक खेती गरिरहेका हुन् । पढाइ किताबी ज्ञान मात्रै होइन, कृषिमा जोडिनु तथा व्यावसायिक बन्नु पनि ज्ञान हो भन्ने बुझेर उनीहरू सयपत्री खेतीतर्फ लागेको बताउँछन् । विद्यार्थीले ‘कर्म पाँच सय ५५’ जातको सयपत्री खेती गरिरहेका हुन् ।
सबै विद्यार्थीले सामूहिक रुपमा रकम उठाएर खेती सुरु गरेका हुन् । अहिलेसम्म रु एक लाख २० हजार खर्च भइसकेको र यसबाट रु छ लाख आम्दानी लिने लक्ष्य रहेको विद्यार्थीहरूले बताए । हाल चार हजार बिरुवा रोपिएका छन् । ती बिरुवा हेर्नका लागि टोली बनाइएको छ । रोप्ने, गोडमेल गर्ने, पानी चहार्ने काम पनि छ टिम बनाएर गर्ने गर्दछन् । सयपत्री बिक्री गरेर प्राप्त हुने आम्दानीबाट कफीसप, पानीपुरीलगायत व्यापार गर्ने लक्ष्य छ । सयपत्रीलाई माला बनाएर बेच्ने उनीहरूको योजना छ ।
विद्यार्थीलाई पढाइसँगै उद्यमी बनाउन सयपत्री खेतीमा जोडेको कलेज प्रमुख पूर्णबहादुर डाँगीले बताए । “विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिने होइन, हामीले उद्यममा पनि जोड्नुपर्छ”, उनले भने, “त्यसैले पनि विद्यार्थीलाई उद्यममा सक्रिय बनाउन यो खेती सुरु गरिएको हो ।” यो कार्यले विद्यार्थीलाई आत्मनिर्भर बन्न मद्दत गर्ने डाँगीको भनाइ छ ।



























































Discussion about this post