काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमीर शेख तमिम विन हमाद अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा वातावरणका मुद्दामा छलफल भएको छ।
नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौं आएका अमीर अल थानीसँग राष्ट्रपति भवन शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्ता साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
“आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताएका थिए । पौडेलले उक्त क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।
त्यस्तै, कतारका अमीरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरण सम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । साथै, कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा प्रशंसा गर्दै आभार प्रकट पनि गरेका थिए ।
उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता मार्फत नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा लगानीका नयाँ सम्भावना बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले नेपाल र कतारको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको बताएका थिए ।



























































Discussion about this post