नेपालमा पञ्चवर्षीय राष्ट्रिय विकास योजना प्रथमपटक सन् १९५५ मा बनेको थियो, जसको अवधि सन् १९५६ देखि १९६० रह्यो । त्यो पहिलो योजनाले नेपालमा पर्यटन विकासको राम्रो सम्भावना रहेको र त्यसका लागि पूर्वाधार विकासको आवश्यकतालाई औँल्याएको थियो ।
सरकारका तर्फबाट नेपालमा पहिलोपटक राष्ट्रिय संस्थाको रूपमा ‘पर्यटन विकास बोर्ड’को सन् १९५७ मा स्थापना गरिएको थियो । त्यसैगरी, सन् १९५८ मा तत्कालीन ‘शाही नेपाल वायुसेवा निगम’ (हाल नेपाल वायुसेवा निगम) को स्थापना भयो भने सन् १९५९ मा ‘पर्यटन विभाग’ स्थापना गरियो । सन् १९७८ मा आएर नेपालकै पहिलो ‘पर्यटन ऐन’ बन्यो ।
यसैगरी, सन् १९६९ सम्म आइपुग्दा पर्यटनलाई नेपालको अर्थतन्त्रको एक प्रमुख अंग मानी त्यसका लागि दीर्घकालीन योजना बन्नुपर्ने कुरामा जोड दिन थालियो । फलस्वरूप त्यसै वर्ष ‘पर्यटन विकास समिति’ पनि गठन गरियो । त्यसैको अग्रसरतामा सन् १९७२ मा पहिलोपटक नेपालको राष्ट्रिय पर्यटन गुरुयोजना तयार भएको थियो । त्यसका लागि नेपाललाई (तत्कालीन) पश्चिम जर्मनी सरकारले सहयोग गरेको थियो ।
स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय




























































Discussion about this post