जुम्लाः जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ अवस्थित पर्यटकीय गन्तव्य गिडिदह (तालमा ) पदमार्ग निर्माण गरिएको छ । गत वर्ष गिडिदह सम्मेलन पछि चर्चामा आएको नयाँ पर्यटकीय गन्तव्य गिडिदहमा पर्यटकको आगमन बढाउन पदमार्ग निर्माण गरिएको हो ।
असजिलो बाटो,बास बस्न समस्या,प्रचार प्रसारको अभाव लगायतका कारण गिडिदह दशकौँदेखि ओझेलमा थियो । एकिन क्षेत्रफल आउन बाँकी रहेपनि आकारलाई हेर्दा मुगुको रारा, डोल्पाको शेफोक्सण्डोपछि कर्णालीकै ठुलो ताल गिडिदह हो । यद्यपि क्षेत्रफल मापनको काम सकेर नजिता सार्वजनिक गर्ने तयारी हुँदै छ ।
समुद्री सतहदेखि ३४८२ मिटर उचाइमा अवस्थित गिडिदहमा दुईवटा दह (ताल) रहेका छन् । पाटन हुँदै गिडिदह सम्मको यात्रालाई सहज र पर्यटकको आगमनमा वृद्धि गर्न पदमार्ग निर्माण गरिएको तातोपानी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताए ।
गिडिदह तातोपानीको मात्र सम्पत्ति र सम्पदा हैन । हामीले ओझेलमा परेको सम्भावना उजागर गर्ने प्रयास गरेका हौ । उनले भने,“गिडीदहमा पुग्न सबैभन्दा अप्ठ्यारो भनेकै बाटो हो । त्यसपछि खान बस्नको समस्या छ । पछिल्लो समय गिडिदह पुग्ने पर्यटकको रुचि बढेपछि सहजताका लागि गिडिदहदेखि पाटनसम्म पदमार्ग निर्माण गरेका हौ ।”
जुम्लाको प्रसिद्ध ताल गिडीदह पुग्ने पर्यटकलाई अवलोकन गर्न सजिला होस भनी पद मार्न निर्माण गरिएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रचारप्रसार थालिएको छ ।


अप्ठेरो बाटो, उचित बासस्थानको अभाव आदि कारणले गिडीदह अझै पनि पर्यटकीय गन्तव्य बन्न सकिरहेको छैन। तथापि भविष्यमा तमाम पर्यटक भित्र्याउन सकिने सम्भावनालाई मध्यनजर गरि पदमार्गलाई पहिलो प्राथमिकता दिएर निर्माण गरेको तातोपानी वडाध्यक्ष रोकायाको भनाई छ ।
पदमार्ग निर्माण तथा बाटोमा केही बासस्थान तथा प्रतीक्षालय निर्माणपछि सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहको काखमा सयौँ पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना पालिकाले गरिरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए । उनले भने,“गुमनाम गिडिदहलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मिडियाको अहम् भूमिका रह्यो । प्रचुर सम्भावना भएर पनि गिडीदहमा जाने आउने बाटो नहुँदा समस्या भएको कुरा गिडिदह सम्मेलनमा जाँदा हामीले भोगेका थियौ । त्यसैले पालिकाको आन्तरिक स्रोतबाट पदमार्ग निर्माण गरेका छौ ।“
गिडीदह जाँदा हराउने, बाटो बिराएर अलमल हुने लगायतका समस्या रहेकोले दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर बाटो निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले उल्लेख गरे ।
गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर १० दिन लगाएर पदमार्ग निर्माण भएको हो । स्थानीय युवा कौरव पाण्डेको अध्यक्षतामा गिडीदह धर्मशाला देखि पाटनसम्म पदमार्ग निर्माण छ ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट सात लाख २५ हजार विनियोजन भएपछि कार्तिक १६ देखि २६ सम्म निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कौरव पाण्डेले बताए ।
आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ । यहाँ अझै लगानीको खाँचो छ । पूर्वाधार विकासमा लगानी बढाउन सके गिडिदह जुम्लाको आर्थिक समृद्धि तथा रोजगारी सृजनाको आयाम बन्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।
तातोपानीले गिडिदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसारदेखि लगानी जुटाउने प्रयास गरिरहेको छ । कर्णाली राजमार्गदेखि हाँकु जोड्न पक्कि पुल निर्माण, गिडि खोलादेखि फूलचौल्या सम्म ग्रामीण सडक निर्माणमा प्राथमिकता दिइएको तातोपानीले जनाएको छ ।
पालिकाको लगानीले मात्रै गिडिदहको विकास र अपेक्षित पर्यटक आगमन सम्भव नरहेकोले जिल्लाकै सम्पत्तिको रुपमा बुझेर सबैको साँझा पहल कदमी हुन जरुरी रहेको वडाध्यक्ष रोकायाको जोड छ ।
उनले राष्ट्रिय ताल संरक्षण समितिले गिडिदहमा पुगेर लम्बाई,चौडाई र गहिराई नापेर लिइसकेकोले चाडै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गरे । गिडिदहको विकासबारे जुम्लाका आठै पालिका र प्रदेश तथा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई जबाफदेही बनाउन जरुरी रहेको छ । सीमित स्रोत र असीमित आवश्यकताले स्थानीय सरकारले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न सक्ने अवस्था छैन । कर्णालीको पर्यटन प्रर्बद्दन गर्न तथा रोजगारी सृजना गर्न संघ प्रदेशको लगानी आवश्यक छ ।




























































Discussion about this post