हरेक बाह्र वर्षमा विजया दशमीको दिन पचिमह्र जात्रामा खड्गसिद्धी गर्ने परम्परा थियो । जसमा राजा र पचली भैरव बिच खड्ग साट्ने गरिन्थ्यो । तर गणतन्त्र पछि यो क्रम रोकिएको छ । अन्तिम पटक राजा वीरेन्द्रले खड्ग साटेका थिए ।
- सुनिल उलाक
पचिमह्र उपत्यकावासीहरूका विशेष जात्राको दिन हो । अन्य स्थानमा भने खासै मनाइँदैन । पचिमह्र अर्थात् पचली भैरवलाई कुमारीसँग भेट गराउने दिन पनि हो । जात्राको अर्को विशेषता भनेको पचली भैरवको मूर्ति आजकै दिन मात्र सर्वसाधारणले दर्शन गर्न पाउँछन् । तसर्थ पनि टेकु स्थित पचली भैरव मन्दिरमा यस दिन निकै भिड हुने गर्दछ ।


आखिर को हुन् त पचली भैरव ?
यस विषयमा निकै रोचक किंवदन्ती छ । जसरी इन्द्रचोकको आकाश भैरवलाई किरातकालीन पहिलो राजा यलम्बर भन्ने मान्यता राखिन्छ । त्यसैगरि पचली भैरवलाई किरातकालीन राजा पलम्बर हुन भन्ने गरिन्छ । उनको दरबार फर्पिङमा थियो । राजा पलम्बर प्रत्येक दिनजसो नित्यपूजा गर्न टेकुबाट बागमती पारी रहेको राजतिर्थमा आउने गर्दछे । राजतिर्थ भने पाटन क्षेत्रमा पर्दछ । यसरी नित्य पूजा गर्न आउँदा एकदिन टेकु दोभानमा उनको भेट एक निकै राम्री महिलासँग भयो । ती महिलाको रूप देखेर राजा मुग्ध भए । यसपछि उनीहरूको भेट दैनिकजसो हुन थाल्यो । सँगसँगै घुम्न पनि थाले । यसरी नियमित जसो घुम्दै गर्दा एकदिन गणेशले भेटेछन् । यसरी दुई प्रेमिल जोडीलाई देखेपछि गणेश मुस्कुराएछ । यसरी मुस्कुराएको गणेश भएको हुँदा यस गणेशलाई मुसुकाः गणे द्यः भन्ने गरिन्छ ।
रूप परिवर्तन गरेर आउने राजा भैरव थिए । तर उनले आफ्नो परिचय ती महिलालाई दिएनन् । यसरी नजिकिँदै जाँदा उनीहरूको सम्बन्धले छोरीको पनि जन्म भयो । ती महिला आफूसँग सम्बन्ध राख्ने को हो, कहाँको हो भन्ने कुनै कुरा थाहा नहुँदा समेत उनिबाट टाढिन सकेनन् । एकदिन यसरी लुकीछिपी भेटघाट गर्ने तथा छोरीको समेत जन्म भइसकेको भन्ने गाउँले सबैले थाहा पाए । त्यसपछि समाउनका लागि सबैले लखेटे । लखेट्दै जाँदा भैरव धल (नाली अर्थात् ढल) भित्र लुक्न पुगे । यसरी लुकिरहँदा गाउँका मानिसहरूले उनलाई समाते पछि केरकार गर्दा उनले सबै कुरा भने । आफू फर्पिङको राजा भएको तथा भैरवको रूप रहेको जानकारी दिए । यसरी धलमा लुकेको भैरव फर्पिङ फर्किए तर उनले आफ्नो पूजा गर्न भने । आफ्नो सम्झनाका रूपमा धलमा एक प्रकारको फूल छोडेर गए । जुन फूललाई धले स्वाँ भन्ने गरिन्छ । जुन फूल पचली भैरवको जात्रामा नभई हुँदैन ।
किंवदन्तीको अझै अर्को रूपले अलि बढी विस्तृत कथा दिन्छ । एकदिन साधारण मानिसको रूपमा सधैँ महिलालाई भेट्न आउने पचली भैरवले एकदिन ती महिलालाई आफ्नो परिचय दिँदै भनेछन्, “म फर्पिङको राजा हुँ । तर म भित्र दिव्य शक्ति छ” भन्दै महिलालाई मन्त्र गरेको एकमुठी चामल दिएर आफू माथि छर्न लगाए । चामल छर्नासाथ साधारण मानिसका रूपमा आएका राजा भैरवको रौद्ररूपमा प्रकट भए । महिला आत्तिएको देखेपछि रौद्ररूप भएको भैरव नालीमा लुक्न गए । यसरी भैरव लुकेको नालीलाई पञ्चनाली भन्ने गरिन्छ । जहाँ अझै पनि भैरव लुकेको विश्वासमा पूजा गर्ने गरिन्छ ।
वास्तवमा राजाले दिएको चामल राजालाई नै छरेको भए राजा साधारण मानिसको रूपमा फर्कन्थे तर महिलाले त्यो चामल खाइदिएछन् । ती महिलामा पनि दिव्य शक्ति आएछ । त्यसपछि महिलाले भनेछन्, “म पनि साधारण महिला होइन । म पनि साधारण महिलाको रूपमा बसेको अजिमा हुँ” भन्दै आफ्नो वास्तविक रूप देखाएछ ।


कोरोनाकालमा पचली भैरवको जात्रा पीपीई लगाएर सम्पन्न गरिएको थियो
ती अजिमा महिला खड्गी परिवारमा जन्म भएको हुँदा असाधारण देवीको रूपमा रहेका ती महिलालाई ‘नै अजिमा’का रूपमा पुज्ने गरिन्छ । पचली भैरव र नै अजिमाको छोरीलाई मचली अजिमाको रूपमा पुज्ने गरिन्छ । तथा ती राजालाई पचली भैरवका रूपमा पुज्ने गरिन्छ । यो त भयो एक प्रेम कथा र प्रेमपछि जन्मेको एक कन्याको कथा । तर कथामा केवल मिठो प्रेमभाव मात्रै रहेको छैन । यहाँ अचेलको फिल्मी कथा झैँ त्रिकोणात्मक प्रेम कथा पनि छ ।
पचली भैरव र नै अजिमा बिच प्रेम पछि छोरी जन्मिसके पनि पचली भैरव अर्को महिलासँग प्रेममा फस्दछ । ती महिला हुन्- लुमरी अजिमा अर्थात् हालको भद्रकालीमा रहेको देवी । नै अजिमा आफ्नो प्रेमी पचली भैरवको प्रतीक्षा गरिरहँदा लामो समयसम्म पनि नफर्के पछि रुँदै-रुँदै बागमती किनार किनार विरहले सुकसुकाउँदै अगाडि बढ्दै जान्छ ।
बाटोमा एक ज्यापूले भेटेपछि रुनुको कारण सोध्छ । नै अजिमाले रुँदै विरक्त लागेर कोही नभएको ठाउँ जान लागेको भनेपछि ‘यहीँ ठाउँमा बस । यहाँ कसैले तिमीलाई चिन्दैन’ भनेपछि नै अजिमा त्यही बस्न थाले । रुँदै कथा सुनाएको ठाउँ अर्थात् नेवारीमा खोया खं क्यंगू थाय भएको हुँदा यो ठाउँको नाम नै त्यही रह्यो तर पछि अपभ्रंश हुँदै त्यो ठाउँको नाम खोकना हुन पुग्यो । खोकनाको रुद्रायणी नै अजिमाको अर्को रूप हो भन्ने मान्यता छ । अब जाऊँ पचली भैरव तथा पचिमह्र जात्राको कथामा ।


पचिमह्र जात्रा
साधारण मानिसको रूपमा नित्य दिन ती खड्गी महिलालाई भेट्न आउने र नियमित जसो जाँड पनि सेवन गर्ने हुँदा पचली भैरवको रूपलाई ठूलो घ्याम्पोको रूपमा पनि पुज्ने गरिन्छ । तसर्थ पचली भैरवलाई नेवाःहरू तेप आजु द्य पनि भन्ने गर्दछन् । ठकुरी राजा हुन भनेर थकु जुजु पनि भन्ने गरिन्छ । त्यसैले घटस्थापनाको चौथो दिनको साँझ पचली भैरवको मूर्तिलाई क्वा बहाःमा बस्ने थकु जुजुहरूको घरमा लगेर पूजा गर्ने गरिन्छ । त्यसै रात मूर्तिलाई टेकु पचलीमा ल्याइन्छ । भोलिपल्ट बिहानै वर्ष दिन अगाडि बनाएको जाँड रक्सी ठूलो घ्याम्पोमा राखेर पञ्चनालीमा बगाइन्छ ।


पञ्चमीको बिहान अनौठो किसिमले बोकाको बलि दिइन्छ । बलि दिइदा बोकालाई भुईँमा राख्न हुँदैन भन्ने मान्यता भएको हुँदा हात हातमा बोकेर नै बलि दिइन्छ । साथै रगत पनि भुईँमा खस्नु हुँदैन भनेर रगत थाप्दै बोकालाई १०८ टुक्रा बनाइन्छ । यसरी बलि दिइसकेपछि रातमा पचली भैरवको मूर्तिलाई खटमा बोकेर हनुमान ढोकातर्फ लगिन्छ । यसरी लगिन जात्रालाई नै पचिमह्र जात्रा भन्ने गरिन्छ ।
हनुमान ढोकामा पुगेर पचली भैरवलाई राँगोको बलि दिएर पूजा गरेपछि काष्ठमण्डपतर्फ ल्याइन्छ । यसरी भैरवलाई काष्ठमण्डप ल्याउने क्रममा पचली भैरवको वास्तविक पत्नी र छोराले बाटो छेकेको भन्दै पञ्चरंगी काँचो धागोले बाटो छेक्ने गरिन्छ । जसलाई पसूका पेनेगु भन्ने गरिन्छ ।


पञ्चमीको रात नै अर्को एक विशेष कार्यक्रम हुने गर्दछ । त्यो हो- जीवित देवी कुमारीसँग पचली भैरवको आँखा जुधाउने । कुमारीलाई वास्तवमा पचली भैरवको छोरीको जीवित रूपमा लिने गरिन्छ । यसरी आँखा जुधाउँदा भैरवमा रहेको दिव्य शक्ति कुमारीलाई दिने मान्यता छ । यसर्थ कुमारीले पुग्यो नभनेसम्म आमनेसामने राखेर आँखा जुधाउने गरिन्छ ।
यस्तै हरेक बाह्र वर्षमा विजया दशमीको दिन पचिमह्र जात्रामा खड्गसिद्धी गर्ने परम्परा थियो । जसमा राजा र पचली भैरव बिच खड्ग साट्ने गरिन्थ्यो । तर गणतन्त्र पछि यो क्रम रोकिएको छ । अन्तिम पटक राजा वीरेन्द्रले खड्ग साटेका थिए ।






























































Discussion about this post