– राममणि दुवाडी


धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको बीचमा रहेको जलमूखी (ज्वालामूखी) माईको मन्दिर धादिङका प्रसिद्ध मन्दिरहरूमध्ये एक हो । विक्रम संवत् १८५७ मा धादिङका प्रथमकालीन कवि तथा साहित्यकार दैवज्ञकेशरी अर्यालले यो मन्दिरमा घण्टा चढाएका थिए । त्यसअघि कुवामा भेटिएको ‘जलमूखीको शिला’को सालको फेदमा नै पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । यसकारण जलमूखी (ज्वालामूखी)माई निकै पुरानो मानिन्छ । यस मन्दिरको पुरानो छाना जीर्णोद्धार गरेर अहिले नयाँ स्वरूप दिइएको छ ।


यस मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र फागु पूर्णिमाको दिन भव्य मेला (जात्रा) लाग्ने गर्दछ । ती मेला कहिलेदेखि लाग्दै आएको हो भन्ने कुरा यो लेखकको जानकारीमा छैन । फागु पूर्णिमाको मेला दिनमा लाग्दछ भने कार्तिक पूर्णिमाको मेला रातमा लाग्दछ । विगतमा यी दुवै मेलामा खरी, मैधी, ढोला, पौवा, सल्यानटार लगातयका जनमानसको बाक्लो उपस्थिति रहन्थ्यो । समयको अन्तरालसँगै मेलाको प्रकृति, महत्त्व र आकर्षणमा केही परिवर्तन हुँदै आएको पाइन्छ । डाँडाको थुम्कोमा रहेको जलमूखीको मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले पनि आकर्षक मानिन्छ । यो मन्दिर पहाडको शिखरमा रहेकोले यहाँबाट धादिङ र गोरखाका टाढाटाढासम्म देख्न सकिने हुँदा यहाँ लाग्ने दुवै मेलाहरूको विशेष महत्त्व रहेको छ ।


१. रातमा लाग्ने कार्तिक पूर्णिमाको मेला :
मन्दिर र मेला एउटै भएपनि विभिन्न उमेर समूहका मानिसको लागि यो मेलाको आकर्षण फरक फरक पाइन्छ । आजभन्दा ४०/५० वर्ष अघिको उक्त मेलाको प्रत्यक्षदर्शीको अनुभवका आधारमा त्यसबेलाको कार्तिक पूर्णिमाको जलमूखी (ज्वालामूखी) मेला (जात्रा) को उमेरगत र समूहगत रूपमा आकर्षणबारे यहाँ संक्षिप्त चर्चा गरिन्छ ।
- केटाकेटी र किशोर समूहका लागि यो मेला जेरी तथा सेलरोटी जस्ता मीठा परिकार खाने, गीत सुन्ने, नाचगान र रमाइलो हेर्ने आदि विषयमा केन्द्रित हुन्थ्यो ।
- युवायुवतीका लागि यो जात्रा परिवारको नियन्त्रणबाट उम्किएर आफ्ना साथीभाइ तथा प्रेमी प्रेमिकासँग ठाँटिँदै भेटघाट तथा हिँडडुल गर्ने अवसरका रूपमा लिइन्थ्यो । त्यसबेला प्रेमीप्रेमिकासँग लामो समयदेखि मनमा गुम्सिएर रहेका प्रेमका भावना साटासाट गर्न आजको जस्तो मोबाइल र फेसबुक जस्ता साधन र प्रविधि थिएनन् । तसर्थ यस्ता पर्वलाई प्रेमीप्रेमिका भेट्ने अवसरको रूपमा उपयोग गरिन्थ्यो । कतिपय युवायुवतीहरू बिच ठाडो भाका तथा झ्याउरे भाकामा आशुकवित्व झल्कने गरी घण्टौँसम्म मायाप्रेमका दोहोरी गीत गाउँथे । प्रणयका गीत गाउँदा गाउँदै कतिपय युवायुवतीले त्यहीँ आफ्नो जोडी छान्दथे र केटाले केटीलाई सिन्दूर हालेर भगाउने काम पनि गर्थे । अन्य प्रेमीहरू यस्तै अर्को मेलामा भेट्ने प्रण गरी अमिलो मन लगाएर मुटुमा गाँठो पारी बिहानीपख छुट्टिन्थे । तसर्थ यस्ता मेला पर्वले युवायुवतीका लागि विशेष महत्त्व राख्दथ्यो ।


- बूढापाकाहरु भने बिग्रँदो स्वास्थ्य तथा रमझममा रुचि कम हुने कारणले यस्ता मेला पर्वमा कमै आउँथे । तर जो आउँथे, अन्य गाउँबाट आएका आफन्त तथा विगतका दौतरीहरुसँगको भेटघाट तथा कुराकानीका लागि आउँथे । कसैले आफ्ना छोराछोरी तथा आफन्तका लागि सम्भावित जोडी मिलाउने बारे इष्टमित्रसँग कुरा बुझ्न तथा केटाकेटी हेर्न पनि आएका पाइन्थे । यो समूहका वयोवृद्ध मानिसहरू प्राय: दौरासुरुवाल तथा इष्टकोटमा सजिएर आउँथे । यो समूहका प्राय सबैलाई बुढ्यौलीले छोएको हुँदा जाडोबाट बच्न टाउकामा टोपी र गलामा गलबन्दीले बेरिएको हुन्थ्यो ।
- उमेर पाकेका महिलाहरूका लागि यो मेलाको छुट्टै महत्त्व हुन्थ्यो । हालसालै दिवङ्गत आफ्ना पितृहरूको मुक्तिका लागि उनीहरूको सम्झनामा अघिल्लै दिनदेखि उपवासका साथ रातभर जाग्राम रही मन्दिर परिसरमा बसेर बत्ती बाल्ने काममा अग्रसर देखिन्थे । यस्ता व्यक्तिहरू साँझमा पण्डितबाट सङ्कल्प गराई बालिएको बत्ती भोलीपल्ट बिहान उज्यालो भएपछि मात्र त्यतै सेलाएर घर फर्कन्थे । यस्ता व्यक्तिले खुला आकाशमुनी चिसोको परवाह नगरी रात काट्दथे । तिनलाई न त मेलाको रमझमको मतलब हुन्थ्यो, न त जेरी र सेलरोटीको तिर्सना नै ।


- यस्तो मेलामा एकाथरी मानिस पुरानो रिसईवी साध्नका लागि अर्को गाउँले वा समूहमाथि कुटपिट गर्ने उद्देश्यले पनि आउँथे । यस्ता मानिस कुनै गाउँ वा भेगको प्रतिनिधित्व गरेर समूहमा आउँथे र विरोधी समूहमाथि मौका छोपेर आक्रमण गर्नका लागि हातहातमा लाठी बोकेर समूहमा आउँथे । यस्ता समूह बेलुकादेखि नै रक्सी पिएर बस्दथे र विरोधी समूहको नामै लिएर लड्नका लागि चुनौती दिन्थे । विरोधी समूहमाथिको आक्रमण खास गरी आधा रात बितेपछि शुरु हुन्थ्यो । एकअर्काको आक्रमणले बिहानीपखसम्म कतिको त टाउको फुटेको हुन्थ्यो भने कतिको हात भाँचिएका हुन्थे । त्यसबेला जिल्ला सदरमुकाम धादिङवेशीमा बाहेक अन्यत्र अस्पतालको व्यवस्था नहुँदा त्यस्ता घाइतेहरूलाई बिहानीपख तिनका नातेदार वा समूहका अन्य मानिसले डोलीमा राखेर निजको घर पुर्याउँथे र स्थानीय विधिबाट उपचार गर्दथे । मन्दिर जस्तो पवित्र ठाउँमा यस्ता कार्य हुनु राम्रो होइन । जनचेतनामा आएको विस्तार र शान्ति सुरक्षाको व्यवस्थाको कारण आजभोलिको मेलामा यस्ता कार्य नहुनु सकारात्मक पक्ष मानिन्छ ।
- जलमूखी माईको जात्रा भर्न विभिन्न गाउँठाउँबाट आउने विभिन्न बाटोहरूमा कोदो एवं धान पाक्न-पाक्न लागेको हुन्थ्यो । विजुली बत्ति नआइसकेको रातको समयमा मानिसहरू घरगाउँ एवं खेतीबारीका बाटो हुँदै मन्दिरतर्फ आउने गर्दथे । केहि उटुङ्गया युवाहरूले पाक्न लागेको कोदो वा धानलाई एकअर्कामा कसेर पासाे थापेजस्ताे गरेर बाटोमा राखिदिने र जात्रालुहरू त्यसमा लडेर तल्लो गह्रामा पुग्ने एवं जात्राका लागि लगाएका नयाँ लुगा हिल्लाम्मे भएर फर्किने कि के गर्ने भन्ने दशामा पुग्दथे ।
फुलको डोली: मन्दिरमा फूलको डोली लैजाने काम त्यस्ता मेला पर्वको अर्को विशेष आकर्षण हुन्थ्यो । मन्दिरलाई कम्तीमा तीन फन्को लगाउन पुग्ने गरी बाबियोको बलियो डोरी बाटेर उपलब्ध भए अनुसार त्यसमा लालुपाते, सयपत्री, मखमली लगायतका विविध प्रकारका फूल उनिन्थ्यो । त्यसमा उपलब्ध भए अनुसार केरा, अम्बा, अमला जस्ता मौसमी फलफूल समेत उनिन्थ्यो । त्यसरी तयार गरिएको फूलको डोरीलाई डोलीमा राखेर अघिअघि पञ्चेबाजाको टोली सहित गाउँले र आफन्तहरूको साथमा मन्दिरमा पुगी जलमूखी देवीको पूजा अर्चना गरी मन्दिरलाई कम्तीमा तीन फन्को पुग्ने गरी फूलको डोरीले बेरिन्थ्यो । कुनै भाकल पूरा गर्न वा निस्वार्थ रूपले गरिने यो काम सम्पन्न गर्न धेरै मानिसको सहयोग चाहिने र अलि खर्चिलो पनि हुन्थ्यो ।


- अर्काथरी मानिसहरू व्यापारिक प्रयोजनले यस्ता मेलामा जाने गर्दथे । खासगरी आफ्ना घरमा पसल राख्नेहरू त्यस रात मेलामा लगेर सामान बेच्नका लागि मेलामा जाने गर्दथे । मेला लाग्ने अघिल्लो दिनमै मन्दिर परिसर र बाटोका छेउछाउमा तँछाडमछाड गरेर उपयुक्त ठाउँ ओगटी छाप्रो बनाउँथे र जात्राको अघिल्लो साँझदेखि नै आफ्नो पसल शुरु गर्थे । त्यस्ता छाप्रोमा कसैले जेरी, सेलरोटी, आलुको अचार, चनाको तरकारी जस्ता परिकार पकाएर बेच्थे । कसैले भने बिस्कुट, चकलेट, पिपलगेडी मिठाइ जस्ता तयारी वस्तु बेच्थे । कसैको पसलमा भने टोपी, गन्जी, फेटा (मफलर), टर्च लाइट, छाता लगायतका सामान बिक्री गरिन्थ्यो । त्यसबेला आजभोलि जस्तो विभिन्न प्रकारका रेडीमेड कपडा पाइँदैनथ्यो ।
- त्यसबेला यस्तो मेलामा बढी बिक्री हुने अर्को वस्तु मदिरा थियो । त्यसबेलाको मदिरा अहिलेको जस्तो कारखानामा बनेको बोत्तलबन्दी मदिरा नभएर घरमा कोदो कुहाएर बनाएको घरेलु मदिरा हुन्थ्यो । मेलाको लागि भनेर वरपरका गुरुङ मगर समुदायका पधेरामा मेलाको एक दुई हप्ता अघिदेखि नै घरेलु मदिरा बनाउने होड चल्दथ्यो । यस्तो मदिरा घैँटोमा ल्याएर सिसाको ग्लासमा बिक्री गरिन्थ्यो । खास गरी मतवाली जातकाले रातिको जाडो भगाउन र मनोरञ्जन लिन मेलामा मदिरा सेवन गर्दथे । त्यसबेला यस्ता मेलामा अहिले जस्तो प्रहरीको खास उपस्थिति नदेखिने र उपस्थिति भई हाले पनि प्रहरीको आँखा नपर्नेगरी रुख बुट्यानको छेला पारेर मदिरा बेच्ने गर्दथे । मदिरा बेच्न मध्यरात पछि बिहानसम्म पनि मेलाको छेउछाउतिर मदिराको नशामा बेहोस भएर लडेका मानिस देखिन्थे । मदिराको बिक्रीबाट बिक्रेतालाई राम्रो आम्दानी हुन्थ्यो भने मेलामा हुने कुटपिट र झैँझगडामा यस्ता मदिरा सेवनको विशेष भूमिका देखिन्थ्यो ।


२. दिनमा लाग्ने फागु पूर्णिमाको मेला :
फागू पूर्णिमाको दिनमा पनि यस मन्दिरमा मेला लाग्ने गरेको पाइन्छ । बाल्यकालमा एक दुई पटक यो मेलामा सहभागी भएको आधारमा मेरो सम्झना अनुसार त्यस दिन बिहानैदेखि मानिसहरू वरपरका गाउँबाट मानिसहरू मेलामा आउँथे । दिउँसोको समयमा भने बाक्लो उपस्थिति हुन्थ्यो । कार्तिक पूर्णिमाको रातमा झैँ उक्त दिनमा मन्दिर परिसरमा दिवङ्गत पितृको सम्झनामा बत्ती बाल्ने, फूलको डोली ल्याउने जस्ता काम हुँदैनथ्यो तापनि मन्दिरमा होलि चढाउने र सबै मिलेर आपसमा विभिन्न रङका होली खेल्ने काममै मानिसहरू केन्द्रित देखिन्थे ।


मेलामा थोरै सङ्ख्यामा पसल पनि राखिएका हुन्थे । उक्त पसलमा खास गरी होलीमा प्रयोग हुने विविध प्रकारका रङ्गहरू र रङ्ग हान्ने पिचकारीहरू बिक्री गरिन्थे । रङ्ग बाहेक चिया र रोटी तरकारी लगायतका खाजाका पसल पनि हुन्थे । होलीमा खास गरी अबिरको बढी प्रयोग हुन्थ्यो । परिचित व्यक्तिहरू बिच र आफन्तमा मात्र आपसमा रङ्ग दल्ने काम हुन्थ्यो । अपरिचित मानिसलाई रङ्ग दल्ने काम हुन्नथ्यो । यो मेलामा पनि बालक र युवायुवतीको उपस्थिति बढी हुन्थ्यो । बुढापाकाहरू त्यति देखिन्नथे । जे होस्, फागू पूर्णिमाको जलमूखी (ज्वालामूखी) मेला त्यस भेगका मानिसको लागि आस्था र मनोरञ्जनको केन्द्र बनेको थियो ।


अहिलेको तुलनामा त्यस बेला जलमुखी मेलामा मानिसको भीड निकै बढी हुन्थ्यो । किनकि त्यस बेला मानिसमा धार्मिक आस्था र विश्वास बढी पाइन्थ्यो । मन्दिरमा फूलको डोली लैजाने र दिवङ्गत आफन्तको सम्झनामा उपवास बसी मन्दिर परिसरमा रातभर बत्ती बाल्ने भक्तहरूको सङ्ख्या बढी हुन्थ्यो । यजमानसँगै पण्डित तथा पुरेतहरूको पनि मेलामा बाक्लो उपस्थिति हुन्थ्यो । आजभोलि जस्तो युवायुवतीमा भेटघाट, सञ्चार र मनोरञ्जनका अन्य माध्यम थिएनन् । त्यसैले त्यसबेला यस्ता मेलामा युवायुवतीको उपस्थिति बढी नै हुन्थ्यो । मेलापर्वको अवसरमा व्यापार पनि हुन्थ्यो । बालबालिकाको लागि पनि यस्ता मेला आकर्षणको विषय मानिन्थे । मेलामा वरिपरिका मात्र नभएर टाढाटाढादेखि भक्तजनहरू आउँथे । यसरी त्यस बेला जलमूखी मेला सबैको लागि आस्था र आकर्षणको केन्द्र थियो र अहिले पनि छ ।








यहाँ प्रयोग भएका फोटोहरू दिनमा लाग्ने फागु पूर्णिमाको मेलाको हो, फोटो सौजन्य: ज्वालामूखी समाज
३. चित्रेपाखाको जात्रा:
साँधभञ्ज्याङबाट करिब १५ मिनेटको दूरीमा रहेको चित्रेकालिकाको मन्दिर रहेको छ, स्थानीयहरू यसलाई चित्रेपाखा भन्दछन् । कालिकाको अधि स्थान (चित्रेपाखा) जोडिँदा यसको नाम चित्रेकालिका रहेको हो । यस मन्दिरमा छानो छैन, सालको फेदमा देवी स्थापना गरिएको छ ।
जलमूखीको दुई वटा जात्रा जस्तै चित्रेपाखाको जात्रा पनि यहाँको प्रसिद्ध जात्रा हो । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । यहाँ मैधी, ढोला, चैनपुर, खरी, नलाङ, मुरलीभञ्ज्याङ लगायतका ठाउँहरूबाट भाकल बुझाउन र बत्ती बाल्ने भक्तजनहरू आउने गर्दछन् । यस जात्रालाई थप आकर्षक बनाउन स्थानीय सरकारले मन्दिर परिसरमा धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गर्दै आएको छ । त्यस्ता महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनीमा राखिएका पाइन्छ ।
































































Discussion about this post