- विजय हितान


नेपालमा मनसुन सक्रिय भएको दुई महिना भयो । यस छोटो अवधिमा बाढी पहिरोको प्रकोपले ३९ जनाको मृत्यु, दर्जनौँ बेपत्ता, सयौँ घरहरू डुबानमा परेका, पुरिएका तथा भत्केका, साथै सयौँ सडकहरू अवरुद्ध भएका समाचारहरू आएका छन् ।
यसै सिलसिलामा राजधानी काठमाडौँ पनि अछुतो रहन सकेन । गत साउन २२ गते बागमती, मनोहरा, धोबी खोला, विष्णुमतीलगायत नदीका तटीय वस्ति डुबानमा परे । यी नदीमा खस्ने ढलको मुख बाढीले अवरुद्ध हुँदा तटीय क्षेत्रभन्दा अलि परका सडक तथा घरहरू पनि प्रभावित भए । त्यो दिन तटीय क्षेत्रमा बस्ने सर्वसाधारणको जनजीवन कष्टपूर्ण भयो । दिनभर यातायातका साधन सञ्चालनमा आउन सकेनन् । मानिसहरू काममा जान सकेनन् । बालबच्चा स्कुल जान पाएनन् । बन्द व्यापार ठप्प भए ।


काठमाडौँका नदीका स्रोत हिमाल होइनन् यही वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन । त्यसर्थ यहाँका नदीहरू सानादेखि मझौला स्तरका छन् । बागमतीलाई मझौला र यसका सहायक नदीहरूलाई साना नदीमा वर्गीकरण गर्न सकिन्छ । यस्ता ससाना नदीमा बाढी आएर वरिपरिका वस्ति डुबानमा पर्दा सर्वसाधारणलाई अस्वाभाविक लाग्न सक्छ । तर, यी नदीहरूमा ‘आकस्मिक बाढी’ (फ्ल्यास फ्लड्स) देखिन थालेको छ । विशेषतः पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्–झन् भीषण बनाइरहेको छ र चुनौतीहरू पनि क्रमश: थपिँदा छन् ।
बाढी पहिरो आउनुको प्रमुख कारण अतिवृष्टिलाई मानिन्छ । जलवायु परिवर्तनको प्रभावले गर्दा अतिवृष्टि हुन्छ भनेर त वैज्ञानिकहरू भनिरहेका छन् । उक्त दिन काठमाडौँको वर्षालाई अतिवृष्टि नमानेर मध्यम स्तरीय वृष्टि मान्न सकिन्छ । यद्यपि माथिका नदीहरूमा बाढी आयो र सहर बजार डुबानमा पर्यो ।
काठमाडौँमा हालै आएको बाढीको प्रमुख कारण वर्षापात नै भएपनि त्यसका अन्य कारण छन् । ती अतिरिक्त कारणमाथि सामान्य चर्चा गरिनु यस लेखको मुख्य आशय हो ।
काठमाडौंमा आउने यस्ता बाढीहरू मानव निर्मित हुन् । अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित शहर विस्तार एवं जलविज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं बर्सेनि डुब्दै र उत्रदै छ ।
काठमाडौँ वरिपरिका पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन् । ती प्लटिङ नाङ्गै राखिएका छन् । डाँडाकाँडामा डोजरले खनेर सडक निर्माणका परियोजना पनि चलाई राखिएका छन् । ट्र्याकटरले खनेर खेतीपाती गर्ने बानीको विकास तीव्ररूपमा भएको देखिन्छ । साथै, यहाँ भवन निर्माण कार्य पनि युद्धस्तरमै चलेका छन् । यस्ता गतिविधिहरूमा गिट्टी माटो बालुवा उत्खनन गरिने, उदाङ्गै पारिने, थुपारिने र प्रयोग गर्ने गरिन्छ ।
काठमाडौं आज पनि नवनिर्माण एवं पुनर्निमाणकै चरणमा छ । भुइँचालोपश्चात् पुनर्निमाण तीव्र गतिमा भएका छन्, नदी करोडरलाई हरियो बनाउने नाममा कंक्रिटका पार्कहरूको निर्माण पनि जोडतोडले बढेको छ । यियस्ता संरचना निर्माण गर्दा उत्पन्न हुने ईट्टा, कङ्क्रिट, माटो ढुङ्गा जस्ता फोहोर पनि सिधै नदीमा र नदी किनारमा लगेर थुपारिएको पाइन्छ । यस्ता वस्तुबाट सिर्जित लेदो वर्षायाममा पानीले बगाएर नदीमा थुपारेको छ । जसको कारणले नदी गेग्र्यानीकरण (siltation) भएको छ । नदीको आयतन खुम्चिनुमा गेग्र्यानीकरणको मुख्य भूमिका हुन्छ ।


अर्कोतर्फ, तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिँदै गएको छ । प्राय: काठमाडौँका सबै नदीमा तटबन्धन गरिएको छ र कतिमा गरिँदै छ । बाढी न्यूनीकरणका यस्ता इन्जिनियरिङ कार्य जलवायुको परिवर्तनको जोखिम मूल्याङ्कन नगरीकन सम्पन्न गरिएको जस्तो देखिन्छ । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने मापदण्ड पुरा गरेर निर्माण गरिएको भए नदीका दुई किनारमा यति साँघुरा पर्खाल उठाइने थिएनन् होला ।
काठमाडौँको ढल सिधै नदीमा मिसाउनाले पनि नदीको आयतन घटनमा यसले भूमिका खेलेको छ। अप्रशोधित ढलमा तरलको साथै ठोस पदार्थ पनि अत्यधिक मात्रामा हुन्छ । जब यस्तो ढल नदीमा विसर्जन गरिन्छ ठोस मात्राको एकत्रीकरणले नदी विस्तारै पुरिँदै गएको छ ।
यसको साथै नदीमा प्लास्टिक तथा सिमेन्टका ब्याग, पुराना कपडा, गुट्का, सुर्ती, चाउचाउ, चिप्सका खोल, पानीका बोतल जस्ता फोहर पनि मिल्क्याइको पाइन्छ । यो पङ्क्तिकारले गत चार महिनामा काठमाडौँ वरिपरिका डाँडाकाँडा र नदी किनार भएर केही पदयात्रा गरेको छ । सोही क्रममा सडकलाई कङ्क्रिटिङ गरेपछि सिमेन्टका खालि बोरा खोल्सातिर फालेको देखेको छ । यस्ता फोहरमैलाले पनि नदीको पिँधलाई पुर्ने काम गरेको हुन्छ ।


यसर्थ, जलवायु परिवर्तन मात्रै नभै स्थानीयस्तरमा माथि उल्लेखित मानव सिर्जित क्रियाकलापले पनि काठमाडौँ डुबानमा परेको वास्तविकता हो । यसको निवारणको लागि तत्काल उचित कदम चालिहाल्नु पर्ने देखिन्छ । अन्यथा, यस्तो प्रकोप काठमाडौँमा आउँदा वर्षहरूमा पटकपटक दोहरिन सक्दछ । काठमाडौं, ललितपुर् र भक्तपुरकाको मुख्य राजमार्ग एवम् सहायक राजमार्ग, गोरेटाहरू जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भइरहने घटनाहरूमा वृद्धि हुन् सक्दछ । नदी बग्ने जमीनमै भवन उभ्याइदा थप समस्याहरू निम्तिन सक्ने सूचकहरू प्रष्टै देखिन थालेका छन् ।
काठमाडौँमा बाढी र डुबानलाई न्यूनीकरण गर्न थुप्रै उपायहरू छन् । ढल प्रशोधन गरि त्यसमा भएको ठोस पदार्थलाई छानेर निकाल्ने र तरल पदार्थलाई मात्र नदीमा विसर्जन गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा, माटो जस्ता वस्तु नदीनालामा नपसुन् भनेर यसको स्रोतमै रोकथामका योजना कार्यान्वयनमा ल्याइनुपर्छ । निर्माणकार्यजन्य फोहरमैला विसर्जनको लागि पनि छुट्टै ल्याण्डफिल साइटको व्यवस्था गरिन पर्छ । नदीमा थुप्रिएको गेग्र्यानलाई बेलाबेलामा निकालेर फाल्ने पनि गर्नुपर्छ । यसका साथै जलवायु परिवर्तन र यसबाट सिर्जित बाढीको जोखिम मूल्याङ्कन गरेर तटबन्धन निर्माण गरिन पर्छ ।
(लेखक इङ्ल्याण्डमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् )



























































Discussion about this post