धादिङ, वैशाख ३२ — नेकपा एमालेका प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारीले धादिङको भौगोलिक र सांस्कृतिक विविधतालाई मुलुकको पर्यटन विकासको मूल आधार बनाउने खालको दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा बोल्दै उनले भने, “अहिलेको युग प्रतिस्पर्धाको युग हो। अब आफूसँग जे छ, त्यसैलाई उपयोग गर्दै अरुसँग नभएको विशेषता देखाएर जित्ने हो।”
उनले उदाहरण दिँदै सिंगापुरको मात्र ७० वर्ग किलोमिटर क्षेत्रफलमा वार्षिक १ करोड ६५ लाख पर्यटक पुग्ने, फ्रान्स, स्पेन, इङ्ग्ल्याण्ड जस्ता मुलुकमा पनि लाखौँ पर्यटक जाने उल्लेख गरे। “त्यही आधारमा तुलना गर्दा धादिङको १,९२६ वर्ग किलोमिटर क्षेत्रफल र नेपालमा वार्षिक जम्मा ११ लाख पर्यटक आउनु सोचनीय विषय हो,” उनले भने।
पूर्वाधारप्रति सचेतता आवश्यक
डा. अधिकारीले विदेशी पर्यटकहरू सर्वप्रथम शौचालय र त्यसपछिमात्र खोलासम्मको सफाइ हेर्ने भएकाले, पर्यटकीय पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने बताए। “यो सामान्य लाग्न सक्छ तर यिनै कुराहरूले पर्यटकको धारणा निर्माण गर्छ,” उनले भने।
पर्यटन विकासका लागि विज्ञ टोलीको आवश्यकता
धादिङको पर्यटन प्रवर्द्धनका लागि गठन हुने समितिहरूमा विज्ञहरूको सहभागिता हुनुपर्नेमा डा. अधिकारीले जोड दिए। “यो जुन समिति बन्न लागिएको छ, पर्यटनविज्ञहरू राखौं। उनीहरूले नीतिगत सल्लाह दिन सक्ने खालको संरचना बनाऔं,” उनले आग्रह गरे।
उनले पर्यटनमा दीर्घकालीन सोच र व्यावसायिक रणनीति आवश्यक भएको उल्लेख गर्दै, स्थानीय र प्रदेश तहका नीतिगत निकायले समन्वय गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।



























































Discussion about this post