धादिङ, वैशाख ३२ — काठमाडौंबाट साढे दुई घण्टाको दूरीमा अवस्थित नेत्रावती डबजोङ गाउँपालिका पर्यापर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले यस क्षेत्रका विविध धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको प्रवर्द्धन गर्न सकिने बताए।
शाहका अनुसार नुवाकोट र धादिङको सीमामा पर्ने भर्याङभुरुङस्थित विन्दुकेशरी महादेव, ऐतिहासिक छ्योलिङ गुम्बा, मार्पाक पोखराको बस्ती र बोजोगङ बुद्ध पार्कजस्ता स्थलहरू पर्यटकीय दृष्टिले महत्वपूर्ण छन्। बोजोगङ बुद्ध पार्कको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै शाहले भने, “यो ठाउँमा परापूर्वकालमा लामाहरूले तपस्या गरेका थिए।”
यसैगरी त्रिवेणीधाममा रहेको गोकर्णेश्वर महादेव मन्दिर, तामाङ समुदायको आस्थाको केन्द्र मानिने डबजोङ दरबार, र बाह्रै महिना चिसो रहने वाकाराहा क्षेत्रले पर्यटकहरूलाई आकर्षित गर्न सक्ने बताए।
“वाकाराहा क्षेत्र समुद्री सतहबाट २,२५० मिटरको उचाइमा अवस्थित छ र यहाँ होमस्टे सुविधा पनि उपलब्ध छ,” उनले जानकारी दिए। साथै, वाका तालको प्राकृतिक सौन्दर्य, वाका जाँदै गर्दा देख्न पाइने अष्ट चैत्य र पैयुको फूलले यो क्षेत्रलाई झनै आकर्षक बनाएको शाहले बताए।
वाकाराहामा प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने “वाकाकप” कार्यक्रम पर्यटक आकर्षणको अर्को स्रोत भएको उनले उल्लेख गरे।
शाहले राजधानीसँग निकट भए पनि नेत्रावती अझै पर्यटकीय दृष्टिले ओझेलमा परेको भन्दै सबैलाई भ्रमणको निम्तोसमेत दिए। “यस क्षेत्रमा आएका जो कोहीलाई प्रकृति, संस्कृति र शान्तिको त्रिवेणी अनुभव हुनेछ,” उनले भने।
गाउँपालिकाले पर्यटकीय पूर्वाधार विकास, प्रचार–प्रसार र स्थानीय सहभागिताका माध्यमबाट नेत्रावती डबजोङलाई एक प्रमुख पर्यापर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजनामा रहेको समेत उनले बताए।



























































Discussion about this post