धादिङमा एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी : सम्भावना, सञ्जाल र समृद्धिका साझा पाइला
धादिङ, वैशाख ३२ — धादिङ जिल्लाको समग्र पर्यटन विकासका लागि जिल्ला समन्वय समिति, धादिङको आयोजनामा सम्पन्न जिल्ला स्तरीय एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठीमा विभिन्न तहका सरोकारवालाहरूले सम्भावना, चुनौती र समाधानबारे गहन छलफल गरेका छन्।
गोष्ठीमा बोल्दै जिल्ला समन्वय अधिकारी रामश्रय यादवले अहिलेसम्म विभिन्न पालिकाहरूले आ-आफ्नो पर्यटन गुरुयोजना त निर्माण गरेका छन्, तर ती योजनाहरूबीच समन्वयको कमी रहेको बताए। “योजनाहरू छुट्टाछुट्टै छन्, तर तिनबीच जडान छैन,” यादवले भने, “यही कारणले हामीले यो गोष्ठी एकीकृत सञ्जाल निर्माणका लागि आयोजना गरेका हौँ।”
यादवले पर्यापर्यटनलाई स्रोतहरूको सदुपयोग र जनसहभागितामार्फत समृद्धि ल्याउने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे। “सांस्कृतिक, ऐतिहासिक धरोहरहरूलाई संरक्षण गर्दै, जैविक तथा मानवनिर्मित सम्पदाको प्रवर्द्धन आवश्यक छ,” उनले भने।
उनका अनुसार धादिङसँग हिमाल, तालतलैया, पदमार्ग, गुफा, सांस्कृतिक बाजा लगायत विविध पर्यटकीय सम्पदाहरू छन्। “तर, यी सबै सम्भावनाबीच धादिङ अझै ओझेलमा छ,” उनले चिन्ता व्यक्त गरे।
विशेष रूपमा खनियाबासको झार्लाङ, रुवीभ्यालीको सेर्तुङमा रहेको तातोपानी, रतुवा, घोरल, थार, मुनाल जस्ता वन्यजन्तु, एसियाकै लामो गुफा लगायत क्षेत्रहरू पर्यटकीय आकर्षणको केन्द्र हुनसक्ने भए पनि सडक पहुँच, ट्रेकिङ रुट र प्रचारमा कमी रहेको उनले बताए।
“सुलभ पूर्वाधार निर्माण हाम्रो चुनौती हो,” यादवले भने, “तर अवसरको रूपमा रोजगारी सिर्जना, प्राकृतिक तथा सांस्कृतिक स्रोतको संरक्षण गर्न सकिन्छ।”
उनले सबै १३ वटा पालिकाले समुदायमा आधारित (Community Based) र दृष्टिकोणमा आधारित (Vision Based) योजना वडास्तरमै तयार गर्नुपर्नेमा जोड दिए। त्यसपछि मात्रै जिल्लास्तरीय एकीकृत पर्यापर्यटन योजना तयार गर्न सकिने उनले उल्लेख गरे।
योजना कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले प्रदेश पर्यटन मन्त्रालय, संघीय पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग समन्वय गर्ने स्पष्ट नीति लिएको बताए।
प्रचारप्रसारको सन्दर्भमा यादवले नेत्रावती जानेलाई रुवीभ्यालीको, ज्वालामुखी जानेलाई थाक्रे क्षेत्रको जानकारी दिने गरी अध्ययन सामग्री र प्रचार सामग्री निर्माण गर्नुपर्ने बताए।
गोष्ठी सन्चालनमा आइरहेको छ।
उनले रुवीभ्यालीलाई जिल्लास्तरीय एकीकृत पर्यापर्यटन सञ्जाल निर्माणमा ‘टाउको’को रूपमा प्राथमिकता दिनुपर्ने सुझाव पनि राखे।
गोष्ठीमा माननीय सांसदहरू, पर्यटन विज्ञ, स्थानीय तहका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले योजना निर्माण मात्र नभई कार्यान्वयनका लागि पनि स्पष्ट खाका तयार गर्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।



























































Discussion about this post