बाजुरा जिल्लाको त्रिवेणी, बडीमालिका र बुढीनान्दा नगरपालिका तथा कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका एवं अछाम जिल्लाको रामारोशन गाउँपालिकाका करिब ५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बडीमालिका क्षेत्र (२,०००–४,२१९) मिटरमा अवस्थित बडीमालिका भ्रमणका हिसाबले वर्षभरी नै उपयुक्त छ, तर व्यवस्थापकीय कमजोरी एवं सामान्य पर्यटकीय पूर्वाधारको अभावका कारण वैशाखको दोस्रो हप्तादेखि कार्तिकको पहिलो हप्तासम्म मात्रै यहाँ मान्छे पुग्छन् । प्रतिवर्ष श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म लाग्ने जनैपूर्णिमाको मेलामा यहाँ विशेष भीड लाग्ने गर्दछ ।
उक्त मेलामा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका भक्तजनहरूले उपस्थिति जनाउने गर्दछन् । सुदूरको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र हुँदाहुँदै पनि यस ठाउँले देशका अन्य आन्तरिक पर्यटकलाई तान्न सकेको देखिँदैन । पछिल्लो एक वर्षबाट देशका अन्य ठाउँबाट पनि पर्यटकहरू जान सुरु गरेका छन् तर, बाहुल्यता भने छैन ।


बडीमालिकामा त्रयोदशीको राति बास बसेर चतुर्दशीको बिहानै बडीमालिकाको पूजा गरी तीर्थालुहरू नाट्टेश्वरीमा जनैपूर्णिमामा लाग्ने मेलातर्फ लाग्छन् । जनैपूर्णिमाको दिन नाट्टेश्वरीका कालिकाको पूजा हुन्छ । समुद्री सतहबाट २ हजार १०१ मिटर उचाइमा रहेको नाट्टेश्वरी मन्दिरमा जनैपूर्णिमाको दिन भाकल गर्ने भक्तजनहरूले बोकाको बलि दिने गर्छन् । नाट्टेश्वरीमा सयौँ बोका अनेकौँ शैलीमा काटिन्छन् । नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समय देखिको देवभूमि, तपोभूमिका रूपमा रही देवीको नाच गान मनोरञ्जन गर्ने थलो हुनाले यसलाई ‘नाचन थली’ पनि भनिन्छ । नाट्टेश्वरी माई का पुजारी छत्याल वंशीय ठकुरी रहेका छन् । नाट्टेश्वरी मन्दिरमा पूजा गरेपछि बडीमालिका दर्शनको चक्र पूरा हुन्छ ।


यस वर्षको जनैपूर्णिमाको मेलामा बाजुराको बडीमालिका मन्दिर हुँदै नाटेश्वरी मन्दिर पुगेका टुर न्यूजको टोलीले त्रिवेणी नगरपालिकाकी नगर उप-प्रमुख कमला कुमारी जैसी न्यौपानेसँग गरेको कुराकानीको संक्षिप्त अंश:
जनैपूर्णिमाको अवसरमा यस नाटेश्वरी मन्दिरमा लागेको मेलालाई कसरी हेरिरहनु भएको छ ?
जनैपूर्णिमाको मेला एक हिसाबले त्रिवेणीबाटै सुरु हुन्छ । द्वादशीको दिन त्रिवेणीमा नुहाएर त्रयोदशीमा बडीमालिका पुगेका भक्तजनहरूले चतुर्दशी बिहान मन्दिर दर्शन गर्छन् । साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्दछ । पूजा अर्चनासँगै बिहान होम सुरु हुन्छ । जौ, तिल, घ्यू, तेल, विधि विधान र मन्त्रबाट हवन कुण्डमा हाम भई टीका, तिलक, प्रसाद स्वरूप देवीलाई चढाई सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूलाई दिइन्छ । बडीमालिकाको पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा पाँचै जिल्लाका सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्रीहरू नाट्टेश्वरीतर्फ लाग्छन् । साँझ यहाँ ठुलो जात्रा लाग्दछ । भोलिपल्ट अर्थात् जनैपूर्णिमाको दिन नाटेश्वरीको मेला एवं पूजामा सरिक हुन्छन् । नाटेश्वारी मन्दिरमा पुजा गर्दा मनोकाक्षा पुरा हुने भने जनविश्वास रहेको छ ।
त्रिवेणीबाट सुरु हुने यो मेलाको व्यवस्थापनको लागि नाटेश्वरी मन्दिरको एउटा धार्मिक समिति छ, जसले मेलालाई व्यवस्थापन गर्दै आइरहेको छ । हामीले १५ दिन अगाडि नै उक्त समितिलाई सरसफाइ लगायतका कुराको व्यवस्थापनका लागि जिम्मा दिएका थियौँ । यसका अलावा यस जिल्लाका रेडक्रस, स्काउट जस्ता संस्थाहरूले पनि व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।


यसपटक हामी मेला व्यवस्थापन सँगसँगै त्रिवेणी पाटनलाई लिएर रहेको सीमा विवाद सुल्झाउने प्रक्रियामा थियौँ । यस विवादको समाधानको लागि बैठक बस्ने उद्देश्यले पूर्व तयारीको लागि बाजुरा जिल्लाको सिडिओसहितको टोली बडीमालिका मन्दिर पुगेर आएका हौँ । कालिकोटबाट सम्बन्धित व्यक्ति नआएकाले बैठक बस्न असफल भयौँ ।
त्रिवेणी पाटन क्षेत्रमा तीर्थालुको सहजताका लागि भनी कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामार्फत कालिकोट वन डिभिजन कार्यालयमार्फत एक धर्मशाला, एक हेलिप्याड, शौचालय, एक प्रवेशद्वार, एक पोखरी र पूजाका लागि १०८ वटा धारा निर्माण हुँदैछन् । गत आ.व.देखि सञ्चालनमा आएको ‘त्रिवेणी बडीमालिका पूर्वाधार विकास आयोजना (कुल लागत ५ करोड १ लाख)’को निर्माण प्रकिया अघि बढेसँगै बाजुरा जिल्ला र सुदूरपश्चिम प्रदेशमार्फत आफ्नो क्षेत्रमा बिना स्वीकृति, वातावरणीय मूल्याङ्कन बेगर संरचना निर्माण थालिएको भन्दै विरोध जनाएपश्चात् यहाँको सीमा विवाद सतहमा आएको हो ।


मेलामा के-कस्ता कुराको व्यवस्थापन गर्न जिम्मा दिइएको छ ?
विभिन्न जिल्लाबाट आउने सिडिओ, एसएसपी लगायतका तीर्थालु तथा भक्तजनहरूको लागि पालको व्यवस्था गर्न, यहाँ भएका शौचालयमा सरसफाईको वातावरण मिलाउन, यहाँका शौचालय अपुग भएमा स्थानीय शौचालयलाई प्रयोगमा ल्याउन र तीर्थालु तथा भक्तजनको सहजताको लागि काम गर्न जिम्मा दिएका हौँ ।


मेलामा विशेषतः कुन जिल्लाबाट बढी भक्तजनहरू आएका छन् ? भक्तजनहरूको सङ्ख्या कति रहेको अनुमान छ ?
यस मेलामा आउने मुख्य भक्तजनहरू त सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट हुनुहुन्छ । यसका साथै कर्णालीका केही जिल्लाबाट पनि आउने गर्नुहुन्छ । यसपटक काठमाडौँबाट आउनेको सङ्ख्या पनि विगतको तुलनामा बढेको छ । भारतबाट पनि तीर्थालुहरू आउने गर्नुहुन्छ ।
सङ्ख्याको कुरा गर्दा बडीमालिका मन्दिरमा आउने सङ्ख्या भन्दा यहाँ अल्लि कम नै हुन्छ । बडीमालिका आउने कालिकोटका तीर्थालुहरू उतैबाट फर्किने हुँदा यहाँ सङ्ख्या कम हुने हो । अहिले भक्तजनहरूको सङ्ख्या १० देखि १५ हजारको हाराहारीमा रहेको अनुमान गरेका छौँ ।


यस क्षेत्रको व्यवस्थापनको लागि के गर्न सकिएला ?
सर्वप्रथम त यहाँको सीमा विवाद सुल्झाउनु पर्छ । यो क्षेत्रले धेरै धार्मिक महत्त्व बोकेको र पर्यटकीय हिसाबले पनि धेरै नै सम्भावना रहेको हुँदा यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा प्रदेश तथा सङ्घीय सरकारले पनि सघाउनु पर्छ । यसका साथै, मिडियाहरूको माध्यमबाट पनि यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको लागि बाटो खुल्ने थियो ।






























































Discussion about this post