काठमाडौँ । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी हुन् ।
दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने लक्ष्य लिएकी पेपरले अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै तीन वटा आठ हजार मिटर अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् ।
उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको बताइन । एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरू आरोहण गर्दै जाने र आफूले तोकेको समय भित्र नै १४ वटै हिमालहरूको चुचुरो सम्म पाइला टेक्ने पेपरको अठोट छ ।
पेपरले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत अन्नपूर्ण १ को सफल आरोहण गरेकी हुन् । कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाले यति उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये तीन वटा हिमालको आरोहण गर्नु नै एकदम ठूलो कुरा रहेको बताए । बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौँ आइपुगेकी थिइन् ।


उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।
यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ मा विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ मा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।
सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन ।
उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छिन् । उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आफूलाई तालिम दिइरहेकी छन् ।
हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरूको मुख्य चुचुरोमा पुग्ने दुई जना मात्र हुन्, उनीहरूलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वमा ६ जनाले सफलतापूर्वक १४ वटा हिमालहरू आरोहण गरिसकेकोले पनि उनमा आफूले चालेको कदमले आफ्नो लक्ष्यमा सम्ममा पुग्ने विश्वास रहेको बताउँछिन् ।



























































Discussion about this post