काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताएका छन् । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताए ।
किरातीहरूको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गरे । “किराँती मुन्दुम आफैँमा सङ्गीतबद्ध हुन्छ । खोटाङ किराँतीको उद्गम थलो भएकाले पनि गीतसङ्गीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो”, पुर्ख्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भने, “खोटाङे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरूलाई बाटो देखाउनु अग्रजहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”
खोटाङे अग्रज कलाकारले चुमेको शिखरलाई नव प्रतिभाहरूले धानेर राख्नुपर्ने पनि मन्त्री किराँतीले नवप्रतिभालाई आग्रह गरे । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उनले जानकारी दिए । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके) ले संयुक्त रुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिसन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु. दुई लाख दुई हजार, रु. एक लाख एक हजार र रु. ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रूपकुमार राईले जानकारी दिए । प्रतियोगितामा खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक/एक जना गरी २० प्रतिभाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
फाइनल अडिसनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दश वटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने काम समेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिए । रासस



























































Discussion about this post