पाँचथर: पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेल मैदान निर्माण कार्य अलपत्र भएको छ । खेल मैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् ।
फिदिम नगरपालिका-१ फिदिम बजारको मध्य भागमा अवस्थित खेलमैदानमा अहिले कतै झारपात उम्रिएको छ त कतै पानीको आहाल भएको छ । विगतमा नियमित खेलकुद प्रतियोगिता तथा अभ्यास सञ्चालन हुने खेल मैदान अहिले एक भागबाट अर्कोतर्फ पार गर्न समेत नसकिने भएको छ ।
फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा पुरानो खेल मैदानलाई ३० वटा सटर रहेको व्यापारिक स्थल, प्याराफिट, रिटेनिङ पर्खाल, कार्यालय भवन, चेञ्जिङ कोठा र प्रवेशद्वार निर्माण गरी स्तर वृद्धि गर्ने योजनासहित निर्माण थालनी भएको थियो । तर निर्माण कम्पनीले गत वर्षदेखि बिना कारण निर्माण कार्य रोकेपछि खेल मैदान अलपत्र भएको हो ।
यहाँ व्यापारिक स्थलका लागि सटर बनाउने काम आधा सम्पन्न गरेर छोडिएको छ भने कार्यालय भवन निर्माण सुरु नै भएको छैन । वि.सं.२०७७ माघ १२ गतेदेखि निर्माण थालिएको खेल मैदान पीएस/किराँतेश्वर/मैनाचुली जेभीले १० करोड ७९ लाख ८७ हजार सात सय ८१ रुपियाँमा ठेक्का लिएको थियो । सत्र महिनामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि कोभिड-१९ सङ्क्रमण महामारीलगायतका कारण देखाएर पटक–पटक गरी २०८० असार मसान्तसम्म म्याद थप गरिएको थियो ।
सुरुआतमा नियमित काम गरेको निर्माण कम्पनीले करिब ४० प्रतिशत कार्य सम्पन्न भएपछि अलपत्र छोडेको छ । खेल मैदान अलपत्र हुँदा खेलकुद प्रतियोगिता तथा नियमित अभ्यास, सांस्कृतिक कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । विगत एक वर्षदेखि निर्माण कम्पनीले यहाँ कुनै पनि काम गरेका छैनन् । योजनाको वित्तीय प्रगति करिब ३५ प्रतिशत रहेको पाँचथर जिल्ला खेलकुद विकास समितिको कार्यालयका कार्यालय सचिव दुष्यन्त बस्नेतले जानकारी दिए ।
एकातिर खेलकुदका गतिविधि ठप्प हुने र अर्कोतर्फ खेल मैदानको भविष्य अन्यौलता परेपछि फिदिम नगरपालिकाले निर्माण कार्य तत्कालै अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरेको थियो । खेलकुद कार्यक्रमका अतिरिक्त मेला महोत्सव, सांस्कृतिक कार्यक्रमलगायतबाट यहाँको अर्थतन्त्रमा सघाउने खेल मैदान निर्माण कार्य अघि नबढे नगरपालिकाले खेल मैदान अस्थायीरुपमा सम्म्याउने बताएको थियो ।
यसपछि निर्माण कम्पनीले नगरपालिकालाई पत्र लेख्दै निर्माण कार्य अघि बढाउने बताइएको छ । मेची राजमार्गसँग जोडिने खेल मैदान निर्माणका लागि पहिलेको भन्दा बढी क्षेत्र छोड्नुपर्ने भन्दै कम्पनीका प्रतिनिधि सुरेश काफ्लेले यही साउन १८ गते खेल मैदानको जग्गा प्रमाणित गरिदिन आग्रह गर्दै फिदिम नगरपालिकालाई पत्र लेखेका थिए ।
नगरपालिकाले सोही दिन राजमार्गको मापदण्डअनुसार जग्गा छोडेर निर्माण कार्यअघि बढाउन पत्र पठाएको थियो । साउन २१ गतेदेखि निर्माण कार्य अघि बढाउने समझदारी भएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । यद्यपि निर्माण कम्पनीले हालसम्म निर्माण कार्य अघि बढाएको छैन । यस खेल मैदानमै पूर्वको प्रतिष्ठित खेलकुद प्रतियोगिता फाल्गुननन्द गोल्डकप आयोजना हुने गरेको थियो ।
यस्तै पाँचथर कपलगायत अन्य खेलकुद प्रतियोगिता, खेलाडीको नियमित खेल अभ्यास पनि यहाँ हुने गरेको थियो । खेल मैदान नहुँदा खेलकुदका गतिविधि ठप्प प्राय भएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरको भनाइ छ । खेल मैदानको स्तरवृद्धि कार्य अघि बढाउनुअघि पनि कोशी प्रदेश सरकारले दुबो रोप्ने, पर्खाल लगाउनेजस्ता कार्यमा लगानी गर्दै आएको थियो । तर खेलमैदानको पर्खाल भत्किएर खेलकुद गतिविधि अघि बढ्न नसक्ने भएपछि खेलमैदानको स्तरवृद्धिसहित व्यवस्थित संरचना निर्माण थालिएको थियो ।
नयाँ खेल मैदान ‘नाइन साइज’ को हुनेछ । फिदिम माध्यमिक विद्यालयले निर्माण थालिएको ३० वर्षसम्म सञ्चालन गर्ने गरी जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गरेको प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिए । रासस



























































Discussion about this post