काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताएका छन् । सामुदायीक वन दिवस- २०८०को सन्दर्भमा नेकपा एमालेको केन्द्रीय वन तथा वातावरण विभागले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ स्थित अल्छेचौर सामुदायिक वनमा गरेको वृहत वृक्षारोपण कार्यक्रम ओलीले सो कुरा बताएका हुन् ।
नेपालमा वन क्षेत्र जोगाउने काममा सामुदायिक वनका सदस्यको ठूलो भूमिका रहेको उनले बताए । “देशमा रहेको वन क्षेत्रमध्ये समुदायिक वन सबैभन्दा बढी सुरक्षित र संरक्षित छ, त्यसैले अब सामुदायिक वनमा हावापानी सुहाउँदा फलफूलका बिरुवा लगाएर रोजगारी सिर्जना गर्न र नागरिकको आम्दानी वृद्धि गर्नेतर्फ अघि बढ्नुपर्छ” अध्यक्ष ओलीले भने ।


यो पढ्नुहोस्: वृहत वृक्षारोपण कार्यक्रममा धुलिखेल आउँदै ओली
‘सामुदायिक वनको संरक्षण सँगै त्यसबाट उत्पादन र आयआर्जन गरिनु पर्छ’–अध्यक्ष ओलीले भने–‘वैज्ञानिक वन व्यवस्थापनका नाममा सालको घारी फडानी कार्य गलत छ ।’ नेपाल अन्य देशको तुलनामा वन र वातावरणको क्षेत्रबाट अघि बढिरहेको बताउँदै अध्यक्ष ओलीले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको बताए । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नि राधिका शाक्यले वर र पिपलको बिरुवा रोपण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
वनलाई वनकै रुपमा विकास गर्न सामुदायिक वनको भूमिका महत्त्वपूर्ण भएको बताउँदै अध्यक्ष ओलीले वनको संरक्षणसँगै सही रुपमा उपभोग गर्न अनुराधे गरे । “नेपालमा वन विनाश भएर ठूला वनको रुपमा चिनिएका तराईका वनहरु सकिन लागेको र वातावरण बिग्रन लागेको समयमा देशमा सामुदायिक वनको अवधारणा अघि बढेको हो । यस्तो मुदायिक वनभित्र मरिच, पान, ल्वाङ, काजु, आँप, कटहर, लिची, अम्बाजस्ता हावापानी सुहाउँदा फलफूल तथा जडीबुटीका बिरुवा रोप्नुपर्छ”, उनले भने । सामुदायिक वनभित्र खाली रहेका र प्रयोगमा आउन नसकेको क्षेत्रलाई बहुआयामिक, बहुउद्देश्यीय उपयोग गरेर सुन्दर र आकर्षक बनाउन सकेमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने समेत उनले बताए ।
“कृषि वनको रूपमा वन क्षेत्रलाई प्रयोग गर्न सके एक हेक्टरमा थुप्रै जनालाई रोजगारीका अवसर पनि दिन सकिन्छ”, उनले अगाडि भने, “पचासौ हेक्टर जमिन बीसवटा बाख्रा, दश पन्ध्रवटा गाइ चराएर त्यसै खेर गइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिन्छ । प्रयोग र परीक्षण गरेर मात्र आयात गरिएका विरूवाहरू लगाएर कृषि वनलाई प्रभावकारी बनाउन सकिन्छ”, उनले भने ।


यो पढ्नुहोस्: प्रत्यक्ष लाभ लिन नसकिएका वन क्षेत्रलाई कृषि वनको रूपमा रुपान्तरण गर्न सकिन्छः केपी शर्मा ओली
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेकपा एमालेले देशभर नै सामुदायिक तथा निजी वन र सरकारी वनलाई समेत आय आर्जनका रुपमा विकास गरी उत्पादनमा जोड्न अभियान सुरु गरिएको बताए । पार्टीको वन तथा वातावरण विभागले देशभर यो अभियान सुरु गर्ने गरी पहिलो पटक काभ्रेको धुलिखेलबाट कार्यक्रम प्रारम्भ गरिएको स्थायी कमिटी सदस्य बरालले बताए ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रकृतिको रक्षा र वातावरणको रक्षाविना मानिस र चराचर सृष्टि जगतको अन्त्य हुने भएकाले प्रकृति र मानव जातिलाई जोगाउनका लागि सबै लाग्नुपर्ने बताए । व्यक्तिको जीवनसँग वनको प्रत्यक्ष सम्बन्ध रहेकाले वनको संरक्षण तथा सम्र्वद्धनसँगै आयआर्जनसँग जोड्ने अभियान एमालेले सुरु गरेको बास्कोटाले बताए ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा मात्रै पाँच वर्षमा ५ लाख बिरुवा रोपण गर्ने कार्य अन्र्तगत यो वर्ष ५० हजार बिरुवा विभिन्न संस्थासँगको समन्वयमा रोपण गरिसकिएको बताए । धुलिखेल ग्रिन, क्लिन, हेल्थि सिटीको अवधारणा अनुरूप कार्य गरिरहेको नगर प्रमुख एवं पार्टी अध्यक्ष अशोक ब्याञ्जुले बताए ।
स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय, एमाले वडा तथा नगर र जिल्ला कमिटी, डिभिजन वन कार्यालय काभ्रे तथा विभिन्न निकायको समन्वयमा वातावरण अनुकुलन फलफूलका प्रजातिहरु लगाइएको वडा अध्यक्ष अर्जुन न्यौपानेले बताए ।
कार्यक्रममा नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठकले सहस्राब्दी लक्ष्य पूरा गर्न १५ वटा सूचकहरु वनसँग सम्बन्धित रहेको बताइन् । सरकारको गलत नीतिका कारण सामुदायिक वन समस्याग्रस्त अवस्थामा रहेको उनको भनाई थियो । उनले सरकारले नीति नबनाउँदा अर्को तर्फ किसानहरु जंगली जनवारबाट आक्रान्त बनेको बताइन् ।
उनले भनिन्, “नेपालको हकमा ‘नेपाली वन सुनको थाली हो’, तर युवाले त्यो देख्न सकेको छैन । यसर्थ, हाम्रा पाठ्यक्रमहरूले वन क्षेत्रमा सम्भावनाहरू प्रस्ट पार्ने बेला भएको छ । युवाले जङ्गलमा पैसा देखोस्, कृषिमा पैसा देखोस् । त्यो हामीले बनाउनुपर्छ ।” कोठाभित्र बसेर सालका रुखहरु ध्वस्त बनाउने र जैविक विविधता मास्ने नीति नै बनाएर गतिविधि बढ्दा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नीति खारेज गरि सामुदायिक वन जोगाउने कार्य भएको पाठकले स्मरण समेत गराइन् ।
पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ रवि अल्छेचौर सामुदायिक वनमा विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिएको छ ।
यो पढ्नुहोस्- दिगो विकास लक्ष्य पुरा गर्न सामुदायिक वनको योगदान महत्वपूर्ण
कार्यक्रममा एमाले अध्यक्ष ओलीले २०७४ सालमा निर्वाचित वडा अध्यक्ष राजन कोइरालाको स्मृतिमा तयार गरिएको शालिक अनावरण गरेका थिए । कोइरालाको हत्या भएको लामो समयसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।



























































Discussion about this post