– तृष्णा रायमाझी (वन कुकुर, अध्ययनकर्ता)
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सहकार्यमा तृष्णा रायमाझी मास्टर्सको थेसिसका लागि यतिबेला चितवनमा छिन् । उनी वन कुकुरमा स्नातकोत्तरको शोधपत्र तयार गर्दैछिन् । त्यसको अलावा कर्नेल विश्वविद्यालयसँग मिलेर पर्सा राष्ट्रिय निकुञ्जमा पनि वन कुकुरकै बारेमा रिसर्च गर्दैछिन् । उनको वन कुकुरमाथिको थेसिस असारसम्म सकिनेछ भने अर्को प्रोजेक्टलाई केही समय लाग्ने उनी बताउँछिन् ।
प्रस्तुत छ, उनै रायमाझीसँग वन कुकुरका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी:
वन कुकुरमै थेसिस किन गर्न खोज्नुको कारण ?
म वन तथा वातावरणको विद्यार्थी । वन तथा वातावरण पढ्दै जाँदा वन्यजन्तु पनि पाठ्यक्रमको एक महत्त्वपूर्ण भाग हुन आउँछ । यद्यपि मलाई वन कुकुरको बारेमा थाहा भने थिएन । जब राष्ट्रिय प्रकृति संरक्षण कोषमा २०१६ बाट काम गर्न थालेँ, मैले क्यामेरा ट्र्यापको फोटो हेर्ने क्रममा वरण्डाभार क्षेत्र चाहिँ वन कुकुर परेको थियो । र, यो नै चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रबाहिर वन कुकुर देखा परेको पहिलो घटना थियो ।
मैले क्यामरा ट्र्यापको त्यो फोटो देखेपछि अरूसँग पनि वन कुकुरबारे सोधपुछ थालेँ । वहाँहरूले वन कुकुर हो भन्नुभयो तर, वन कुकुरका बारेमा धेरै कुरा भन्न सक्नुभएन । यसपश्चात्, मान्छेहरूले यस विषयमा किन अध्ययन नगरेको होला भन्ने कौतुहलता बढ्यो । कौतुहलता निवारणका लागि वन कुकुरबारे खोजीकार्य अघि बढाए । अन्य वन्यजन्तुको बारेमा जानकारी पाउन कठिन हुँदैन थियो भने वन कुकुरको बारेमा निकै न्यून भेटियो ।
मलाई वन तथा वातावरण सम्बन्धी अध्ययन गर्छु भन्ने थाहा थिएन, झन् वन कुकुरमै शोधपत्र तयार पार्छु भनेर त सोचेको पनि थिइनँ । २०१९मा मैले फूल ब्राइट स्कोलरशीप पाएपछि मास्टर्सको थेसिस कुनै विषयमा गर्नु नै पर्ने भयो । थेसिस गर्नु नै छ भने, अरूले कम अध्ययन गरेको वन कुकुरमै किन गर्ने पनि वन कुकुरको अध्ययन थालेकी हुँ ।
तपाईँले अध्ययन थालेपछि केके पाउनुभयो, कुन–कुन क्षेत्र जानुभयो ?
मेरो पहिलाको कार्यक्षेत्र पनि चितवन र पर्सा थियो, अहिले पनि म यहीँ सीमित छु । काम गर्ने क्रममै चितवन र पर्सामा छ वन कुकुरको संख्या अत्यधिक छ भन्ने थाहा पाएँ तर, केकति कारण यहाँ वन कुकुर धेरै देखिएका हुन् भन्ने चाहिँ मेरो अध्ययनको विषय हो । त्यसको सम्पूर्ण रिजल्ट चाहिँ मेरो थेसिस आएपछि नै खुलस्त पार्छु ।
अध्ययनकै क्रममा थाहा पाएँ, निकै चाखलाग्दो विषय भनेको यो झुन्डमा बस्ने रहेछ । थोरै रहेछ । लजालु प्रकृतिको रहेछ । हामीले धेरै मिहिनेत गर्दा पनि झट्टै देख्न नपाइने । बाघभन्दा पनि दुर्लभ र सङ्कटापन्न प्रजाति अरू पनि रहेछन् भन्ने पनि थाहा भयो । हामीले त्यस्ता सङ्कटापन्न प्रजातिको संरक्षण तथा अध्ययन गर्दै जानुपर्छ ।
तपाईँको अध्ययन अनुसार निकुञ्जबाहिर अर्थात् सामुदायिक वनहरूमा वन कुकुर देखिएका छन् ?
मैले देखेको भनेको वरण्डाभार कोरिडोरमा हो । वरण्डाभार कोरिडोर कोर एरियाभन्दा बाहिर तर राष्ट्रिय निकुञ्जकै भागमा हो । मेरो अध्ययन अनुसार अहिलेसम्म सामुदायिक वनमा वन कुकुर देखिएको छैन । मध्यवर्ती क्षेत्रहरूमा चाहिँ निस्किएको छ । सामुदायिक वनमा चाहिँ मेरो अध्ययन भएको छैन ।


सौराहामा हुने अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनप्रति तपाई कत्तिको उत्साहित हुनुहुन्छ ?
म धेरै उत्साहित छु किनभने यस्तो किसिमको कार्यक्रम विश्वमै पहिलो पटक हुन गइरहेको छ । वन कुकुर जस्तो छायाँमा परेको प्रजातिबारे धेरै रिसर्चर र संरक्षणमै लागेका व्यक्तिहरूलाई पनि थाह छैन । यो सम्मेलनबाट ढोँलेले हाइलाइट हुने मौका पाउने छ । सम्मेलनमार्फत ढोँले भन्ने जीव पनि रहेछ, काम गर्ने मान्छेहरू पनि रहेछन् भन्ने उजागर हुने भयो । ढोँलेको रिसर्चमा लागेका विश्वभरका व्यक्तिहरू नै सम्मेलनमा आउनुहुन्छ, ती देशहरूमा यसको अवस्था केकस्तो रहेछ भनेर हामीले नेपालसँग दाँजेर बुझ्न पाउने भयौँ ।
यस अलावा, ढोँले संरक्षणका लागि केके गर्नुपर्छ भन्ने कुरालाई हामीले प्राथमिकतामा राख्न सक्ने भयौँ । नेपाल र विश्वमा जहाँ ढोँले पाइन्छ कसरी अघि जान सकिन्छ भनेर एकापसमा छलफल हुने भयो, यो धेरै ठुलो कुरा हो । ढोँले संरक्षणको लागि ग्लोबल सोलुसन निकाल्न सकिनेछ । उहाँहरू र हाम्रो फरक अध्ययन विधिले गर्दा प्रतिफल दाँज्न सकिरहेका थिएनौँ, सम्मेलनले त्यो अवसर पनि जुटाइदिएको छ ।
सम्मेलनमा तपाईँको पनि प्रस्तुति रहेनछ ?
रहेनछ, मसहित ढोँलेको विषयमा नेपालबाट अध्ययन गरिरहेका साथीभाइहरूले प्रिजेन्टसन दिनेछौँ, जसले आउने भाईबहिनी र अन्य अनुसन्धानकर्ताहरूलाई प्रेरणा त दिनेछ नै, वन कुकुरबारे यो-यो अध्ययन भइसकेछ, यो गर्न बाँकी रहेछ है भन्ने उहाँहरूलाई जानकारी हुनेछ ।
तपाईँ वन कुकुरमै अध्ययन गर्दै हुनुहुन्छ, वन कुकुरको अध्ययन कसरी अगाडि बढाउन सकिन्छ ? यसलाई टुरिजमसँग जोडेर विश्वव्यापी बनाउन सकिन्छ ?
प्रथमतः वन कुकुरबारे वृहत् अध्ययन नै जरुरी छ किनकि हामी अनुसन्धानकर्ताहरूदेखि डिसिजन मेकर्सहरू छौँ, संरक्षणकर्तालाई वन कुकुरबारे सामान्य परिचय समेत छैन । वन कुकुर के हो, यसले केकस्ता हाउभाउ देखाउँछ, यसको संरक्षण किन जरुरी छ भन्ने कुरा सतहमा आएकै छैन । साथै, भएका अध्ययनहरूले वन कुकुरको यकिन संख्या निर्धारण एवम् वासस्थान क्षयीकरणको बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको छैन । वन कुकुरबारे भएका अध्ययनहरूमा विविधता समेत देखिएको छैन । अध्ययनकर्तालाई आर्थिक रूपमा सजिलो वातावरण सिर्जना पनि हुन् सकिरहेको छैन । अध्ययनपश्चात् उनीहरूको संख्या र वासस्थान सुरक्षाका उपायहरू अवलम्बन गर्ने हो भने वन कुकुरलाई पर्यटनसँग पनि जोड्न सकिएला !


वन कुकुरप्रति विश्वव्यापी चासो कत्तिको बढेको पाउनु भएको छ ?
इन्डाईरेक्ट अब्जरभेसनबाट चाहिँ यस विषयमा धेरै मान्छेलाई थाह छैन जस्तो लाग्छ । केही क्षेत्रमा मात्र पाइने हुनाले पनि त्यसो भएको हुँदो हो । तर, यस सम्मेलनले विश्वव्यापी चासो वृद्धि एवम् वन कुकुरबारे छलफल बढाउने छ ।
वन कुकुर अध्ययनको क्रमका रोचक किस्साहरू सुनाउनुहोस् न !
सुरुमा मेरो फिल्डवर्कहरू केही पनि नभएको बेला ‘म ढोलमा थेसिस गर्छु होला’ भन्दा संरक्षणकर्ताहरूले ‘यसमा आर्थिक फाइदा छैन, बरु बाघ, गैँडामा गर’ भन्ने खालका प्रतिक्रिया दिने गर्दथे । अहिले अध्ययन अघि बढाएसँगै सकारात्मक प्रतिक्रिया भने पाउन थालेको छु । खुसी लाग्छ । वन कुकुरको बारे प्रष्टसाथ् बुझाउन सक्यौँ भने यसमा स्थानीय चासो पनि वृद्धि हुन्छ भन्ने लाग्छ ।
वन कुकुर अति संकट पर्नुको ठोस कारण के होला / संरक्षण नभएर हो वा प्राकृतिक कारणले लुप्तप्राय हुन् पुगेको हो ? तपाईँको विशेष टिप्पणी ?
अध्ययन र संरक्षण नहुनु भन्दा पनि पहिलो कुरा यिनीहरू निकै लजालु प्रकृतिका हुन्छन् । मान्छेको सुइँको पाउने बित्तिकै भागिहाल्ने, फेरी त्यो ठाउँमा फर्किएर नआउने बानी हुन्छ । कुनै कुनै जनावर जस्तै स्याल, उनीहरू मानिससँग नजिकिएर पनि बस्न सक्छन्, तर यिनीहरू मानिसको नजिक पर्न रुचाउँदैनन् ।
वन कुकुर अति संकटापन्न हुनुमा वासस्थान विनाश, क्षयीकरण लगायत विभिन्न कारण हुनसक्छन् । रोगहरूका कारण हुनसक्छ । ठ्याक्कै यी-यी कारणहरू भनेर भन्न सक्दिनँ किनभने यसबारेमा अध्ययन भएको छैन । स्वभाव, संरक्षणको अभाव, वनजङ्गल अतिक्रमण र मानवसँगको द्वन्द्वका कारण पनि उनीहरू संकटापन्न अवस्थामा पुगेको हुनसक्छ भनेर अनुमान भने गर्न सक्छौँ ।
नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !






























































Discussion about this post