काठमाडौं । तामाङ पर्यटन व्यवसायीहरुको संस्था ‘तामाङ रिमठिम पर्यटन सञ्जाल’ले महाभारत पर्वतमा पर्यटन विकासका लागि पहल सुरु गरेको छ । यसै सिलसिलामा सञ्जालले नयाँ पदमार्ग पहिचान गरेको छ ।
बौद्ध गुरु रिम्पोचे अर्थात् पद्यसंभवले तपस्या गरेको काभ्रेको पावन भूमि ‘तेमाल डाँडा’लाई केन्द्रमा राखेर नयाँ पदमार्ग पहिचान गरिएको हो । यसलाई ‘महाभारत ग्रेट बुद्धिस्ट मास्टर्स कल्चरल ट्रेल’का रुपमा ब्रान्डिङ गरिएको छ ।
अहिलेका लागि यसमा दुई ओटा रुट तय गरिएको छ । पहिलो रुट–काभ्रेको पनौतीबाट सुरु भएर नमोः बुद्ध, भकुण्डेबेसी, तेमाल डाँडा, महाभारत हुँदै दाप्चासम्म जोडिन्छ । यसमा ५ दिन पदयात्रा गरिन्छ । यसैगरि अर्को रुट– काभ्रेकै दोलालघाटबाट सुरु हुन्छ । पहिलो दिन पर्यटकलाई राफ्टिङ गराएर जगरबेसी पुर्याइन्छ। त्यहाँबाट पदयात्रा सुरु गरेर कल्लेरी, तेमाल हुँदै नमोः बुद्धसम्म पुर्याइन्छ । यसरी पदयात्रा गर्न ४ दिन लाग्छ । पदमार्गका सबैतिर होमस्टे र केही ठाउँमा पर्यटकीय लज छन् ।


पर्यटनको अथाह सम्भावना बोकेको महाभारत पर्वतलाई प्रवद्र्धन गरि पर्यटनबाट स्थानीयले लाभ लिन सकुन भनेर प्रयास गरिएको सञ्जालकी अध्यक्ष सरिता लामा बताउँछिन् ।सञ्जालले काभ्रेपलाञ्चोक जिल्लाका तिमाल गाउँपालिका र रोशी गाउँपालिकाको सहयोगमा नयाँ पदमार्गको पर्यटकीय नक्सा समेत प्रकाशित गर्दैछ । महिना दिनभित्र नक्सा प्रकाशन भइसक्ने प्रकाशक म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले बताए ।
महाभारत क्षेत्रमा प्रकृति र संस्कृतिका अतुलनिय सम्पदा छन् । महाभारत पर्वत पौराणिक पाँच पाण्डवसँग जोडिएको ठाउँ हो । झाँक्री टुरका लागि समेत तेमाल क्षेत्र उपयुक्त छ । व्यवसायीले तेमालमा झाँक्री टुर पनि गराउँदै आएका छन् । ‘गाउँले जीवनशैली र संस्कृतिमा रमाउने पर्यटकका लागि यो पदमार्ग निकै राम्रो छ’, सञ्जालका सल्लाहकार तिलक लामा भन्छन्, ‘तेमाललाई केन्द्रमा राखेर धेरैतिर पदयात्रा गर्न सकिन्छ ।’


काठमाडौंबाट नजिक रहेको पदमार्ग लो अल्टिच्युडमा हिँड्न चाहनेका लागि उपयुक्त छ । ‘मध्यपहाडी क्षेत्रका होमस्टेमा तामाङ, क्षेत्रीबाहुन, माझी र मगर समुदायको संस्कृतिको अध्ययन गर्न पाइन्छ’, सञ्जालका पूर्व अध्यक्ष अम्बर तामाङ भन्छन्, ‘जडीबुटी, चरालगायत जैविक विविधता अध्ययन गर्न महाभारत क्षेत्र उपयुक्त छ ।’
बुद्ध धर्मका हिसाबले तेमाल पावन भूमि हो । यहाँ गुरु रिम्पोचेसँग सम्बन्धी धेरै कुरा छन् । उनले तपस्या गरेको गुफा ‘तोङ सुम कुण्डग् (गेलुङ ऊः)’ लगायतका सम्पदाहरू छ। तेमाल डाँडामा नारायणथान पनि छ । तेमाललाई केन्द्रमा राखेर सिन्धुलीसम्म पनि पदयात्रा गर्न सकिन्छ । सञ्जालले थप सम्भावनाको खोजी गर्ने जनाएको छ ।



























































Discussion about this post