- नारायण लाल श्रेष्ठ
माथिल्लो हटिया ज्वालामूखी गाउँपालिका वडा नं. ३ मैधीमा पर्दछ । ऐतिहासिक र धार्मिक स्थल मैधीकोटको फेदीमा अवस्थित यो गाउँलाई मैदान भनेर पनि चिनिन्छ । यसको एक कदम मुन्तिर ‘इजारा’ भनिने सार्की गाउँ (केही घर नेवारको पनि) र एकदम माथितिर कोटथोके रहेको छ । उत्तरतिर झर्दा जोगिवन र दक्षिण झर्दा धारापानी, वराम गाउँ पुगिने यो गाउँमा नेवारहरूको बस्ती रहेको छ । जीवनस्तर, आर्थिक क्रियाकलाप, सामाजिक मान्यता, भौगोलिक बनोट, रहनसहन आदिका दृष्टिले माथिल्लो हटिया अन्य सबै गाउँ भन्दा फरक नभएपनि सांस्कृतिक र ऐतिहासिक रूपमा यो गाउँ अति महत्त्वपूर्ण रहेको छ ।


ऐतिहासिक महत्व:
अहिले नेवारहरूको बस्ति रहेको यो थलोको पहिलो बासिन्दा मगरहरू हुन् । हाल ग्याल्मामा बसोबास गर्ने मगरहरू यसै स्थानबाट प्रतिस्थापन भएको देखिन्छ । वि.सं. १९०३ को कोतपर्वपछि काठमाडौंबाट भागेर मैधी पुगेका चौतरिया जबरजङ्ग शाहले यो स्थलबाट मगरहरूलाई ग्याल्मा पठाई आफूहरू त्यहाँ बसेको इतिहास छ । बुढापाकाहरूको सम्झना अनुसार अहिलेका ज्वालामूखी गाउँपालिका ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको घर नजिकै निजको बुबा ‘गैँडा रामजी’ भनिने रामजी श्रेष्ठको स्वामित्वमा रहेको चनौटेपाटामा जबरजङ्ग शाहको विशाल घर थियो । तत्कालीन गोरखा राज्यका राजा पृथ्विपति शाहका कान्छा छोरा चन्द्ररुप शाह (नरभूपाल शाहका भाइ र पृथ्वीनारायण शाहका काका) का सन्तति तथा नेपालको मुख्तियारी (प्रधानमन्त्री) को पद सम्हालेका पुष्कर शाहका नाति चौतरिया जबरजङ्ग शाह मैधी पुगेपछि उनको खाने बस्ने बन्दोबस्ती राज्यको तर्फबाट भएको थियो र उनले स्थानीय प्रशासन चलाउने जिम्मेवारी पाएका थिए । उनी माथिल्लो हटियाको उक्त चनौटेपाटोमा घर बनाई बसे । त्यहाँ बसोबास गर्ने मगरहरूलाई ग्याल्मामा सारियो भने उनीसँग गएका केही नेवार परिवारलाई माथिल्लो हटियामा बसाले । जबरजङ्ग शाहसँग मैधी गई उक्त स्थानमा बसोबास गर्ने नेवारहरूमा गोपाल श्रेष्ठ (खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठका बाजे) का पुर्खाहरू र हाल पोखरीथोकमा विवाह गरि जानुभएकी लक्ष्मी श्रेष्ठका माइतीतर्फका पुर्खाहरू थिए । लक्ष्मी श्रेष्ठका माइतीलाई अहिले पनि ‘जमदार खलक’ भनिने गरेकोले उनीहरू जबरजङ्ग शाहसँगै मैधी गएको र स्थानीय प्रशासन चलाउने सहयोगीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।
यसैगरी वडा अध्यक्ष उमेश श्रेष्ठका बुबा र बाजेले चौतरिया खलकको जमिनहरू भोगचलन गरिरहेको देखिएकोले उहाँको पुर्खा पनि त्यही समयमा काठमाडौंबाट माथिल्लो हटिया गएको अनुमान गर्न सकिन्छ ।


चौतरिया जबरजङ्ग शाहले यो ठाउँलाई बसोबासको रूपमा रोज्नुको कारण आफ्नो पुर्खा चन्द्ररुप शाहका दाजु दलु शाह अहिले खड्गदेवीथान रहेको मैधीकोटमा विशाल दरबार बनाई बसेको आधारमा पुर्खाको वासस्थानलाई पछ्याएकोले हुन सक्दछ । त्यसबाहेक मगरहरूको यो बस्ती मैधीको आदिभूमि त छँदै थियो । उनी त्यहाँ बसोबास गरेपछि वि.सं. २०१३ मा सरकारबाट मैधीभरीको ७ सय रुपैयाँ मालपोत उठाइ खान पाउने अधिकार सहित थुप्रै जमिन बिर्ताको रूपमा प्राप्त गरे । त्यही बेलादेखि मैधीलाई ‘७ सय मैधी’ भन्न थालिएको हो । उनले सरकारबाट खान्किको रूपमा प्राप्त जमिनमध्ये हाल सार्की गाउँ रहेको पारिलो जमिनलाई ठेक्कामा कमाउन दिएका थिए । तत्कालीन समयमा ठेक्कामा कमाउन दिएको जमिनलाई ‘इजहारा’ भन्ने चल्न थियो । त्यसैले अहिले पनि त्यो ठाउँलाई ‘इजहारा’ भन्ने गरिन्छ । त्यसको अलि मुन्तिर तल्लो हटियासँग जोडिएको भिरालो र तुलनात्मक रूपमा खेतीपाती कम हुने जमिन जबरजङ्ग शाहको फूलबारी थियो । जुन ठाउँमा अहिले तल्लो हटियाली नेवारहरूको बस्ती भएपनि यसलाई अहिले पनि बगैँचा भन्ने गरिन्छ । यसैगरी निजले बिर्ताको रूपमा प्राप्त गरेको अहिले गोपाल श्रेष्ठको नयाँ घर भएको क्षेत्रलाई ‘बिर्ताको डाँडा’ भनिन्छ । यी सबुतहरूले माथिल्लो हटिया तत्कालीन समयको मैधीभरिको महत्त्वपूर्ण स्थल भएको प्रमाणित हुन्छ ।
माथिल्लो हटियाबाट चौतरिया शाहहरू उखुबारी र गैरीगाउँमा बसाई सरेपछि यहाँ नेवारको मात्र बसोबास भयो । जबरजङ्ग शाहका ७ भाइ छोराहरूलाई यो ठाउँ साँघुरो भएकोले होला ७ भाइ मध्ये जेठा अमरजङ्ग शाह (पूर्वप्रमुख निर्वाचन आयुक्त स्व. विष्णुप्रताप शाह, स्व. सुरेन्द्रप्रताप शाह, कृषि बैंक र नेपाल बैङ्कका पुर्वसिइओ देवेन्द्रप्रताप शाह, पुर्वआइजिपि तथा संविधानसभा सदस्य रविन्द्रप्रताप शाह, स्व. राजेन्द्रप्रताप शाह लगायतका बाजे) उखुबारीमा बसाई गए भने अन्य ६ भाइ (डोरजङ्ग शाहका पिता, खेमजंग शाहका पिता आदि) सातदोबाटो नजिकको गैरीगाउँमा गए ।


यसरी मगर जातिको पुर्खौली थलोमा चौतरिया शाहसँग मैधी पुगेका नेवारहरूको बस्ती बस्यो । मगरहरू मैधी गाविसकै आदिवासी भएको कारण मैध्याली (मैदेली) सभ्यताको विकास माथिल्लो हटिया (मैदान) बाटै शुरु भएको अनुमान गर्न सकिन्छ । ऐतिहासिक वृत्तान्त अनुसार गोर्खाका तत्कालीन राजा पूर्ण शाहले मैधीमा आक्रमण गर्दा गोर्खाली फौजसँग मैध्याली (मैदेली) फौजले वीरतापूर्वक लडेका थिए । उक्त लडाइँमा मैधीका मगरहरूले अगुवाइ गरेका र त्यसमा माथिल्लो हटियाकै मगरहरूको संलग्नता रहेको हुनु पर्दछ । महाभारतको विशाल युद्धमा नेपालका किराँतवंशी राजाले पाण्डवको पक्षमा लड्न ठूलो फौज पठाएको हुँदा त्यो फौजमा मैधीका मगरहरूको पनि संलग्नता रहेको कुरा स्व. विष्णुप्रताप शाहले आफ्नो माटोको अङ्क १, २०६० मा प्रकाशित ‘हाम्रो मैधी (मैदी)’ शीर्षकको लेख मार्फत अनुमान गर्नुभएको छ । यो ऐतिहासिक तथ्यलाई आधार मानेर हेर्दा त्यस फौजमा सरिक हुने मैध्याली मगरहरू पनि माथिल्लो हटियाकै हुनुपर्दछ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको व्रतबन्ध मैधीकोटमा हुँदा उनको आतिथ्यको जिम्मेवारी यसै गाउँले पायो होला । मैधीकोटको वरिपरि दमाई गाउँ भएको र सो स्थानबाट माथिल्लो हटिया धेरै निकट भएको कारण बडामाहाराजधिराजको खानपान, सुरक्षा आदिको व्यवस्था यसै गाउँले गरेको अनुमान गर्न सकिन्छ । त्यस्तै गोर्खाका राजा पृथ्विपति शाहको पालामा राजकाज सम्बन्धि खटपट भएकोले उनका साइँला छोरा दलु शाह मैधी निर्वासित भई वर्तमान मैधीकोटमा ठूलो दरबार बनाई बसेका थिए । माथिल्लो हटियाबाट त्यति निकट स्थान भएकोले दलु शाहले माथिल्लो हटियाकै जनतासँग सरसंगत र व्यवहार गरेको प्रष्ट हुन्छ । यहाँ स्थित भीमसेनथानको मन्दिर नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेका हुन् भनिन्छ ।


गोर्खाबाट काठमाडौं जाने मूलबाटो मैधीको विभिन्न भाग हुँदै माथिल्लो हटिया भएर जाने र पृथ्वीनारायण शाहको व्रतबन्ध भएको ऐतिहासिक स्थल भएको कारण भीमसेन थापा जस्ता भारदारहरू यो गाउँमा केही समय अडिने कारण उनले उक्त भीमसेनथान निर्माण गराएका हुन् भन्न सकिन्छ । यसैगरी नेपालको राजकाजमा विभिन्न उतारचढाव खपेकी राजमाता राजेन्द्र लक्ष्मी शाहले जीवनको उत्तरार्धमा (वि.सं. १८४२ ताका) श्री ५ महाराजधिराज रणबहादुर शाहको व्रतबन्ध गराउन रणबहादुर शाहलाई लिई गोर्खा जानेक्रममा ज्वरो र खोकीले ग्रस्त भई धादिङमा मुकाम गरी बस्दा नानी महाराजधिराज रणबहादुर शाहलाई पृथ्वी नारायण शाहको व्रतबन्ध स्थल मैधी घुम्न पठाइएको ऐतिहासिक तथ्य सुन्दरप्रसाद शाहको ‘बहादुर शाह’ नामक ऐतिहासिक उपन्यासमा उल्लेख छ । उक्त अवसरमा नानी महाराजधिराज रणबहादुर शाह माथिल्लो हटियामै बसी केही दिन मैधीमा खेलेका हुनुपर्दछ । राजमाता राजेन्द्र लक्ष्मी शाह पनि यसै स्थान भएर गोर्खा गइन होला । सके यहाँ केही समय बसिन् पनि कि !
सांस्कृतिक महत्व:
मैधीको सांस्कृतिक परम्परालाई आजको अवस्थासम्म निरन्तरता दिन माथिल्लो हटियाको भूमिका महत्त्वपूर्ण रहेको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म यो गाउँमा धुमधामले लाखे नाच लगाइन्छ । लाखे भई नाच्नेहरूमा प्राय: यसै गाउँको बासिन्दा हुने गर्दछन् । गाईजात्रामा गाई निकाल्ने कार्य यसै गाउँमा हुन्छ । सो दिन विभिन्न जनावरको मुकुण्डो लगाई नाच्ने, लौरो जुधाएर टाकटुके नाच र लाखे नाच्ने तथा गाई (परिवारको सदस्य मरेका नेवारको घरबाट निकालिने गाई) को गोठालेको भेषमा गाइसँगै खड्गदेवी माईको मन्दिरदेखि देविथानसम्म थोत्रो डोको बोकेर परम्परा अनुसार बाटामा भेटिएका फलफूल चोर्ने प्रयास गर्दै यहाँको बासिन्दाले रमाइलो गर्दछन् ।


गाईजात्राको भोलिपल्ट हिले जात्रा पनि यसै स्थानमा धुमधामले मनाइन्छ । गाउँको माथिल्लो भागमा पर्ने एउटा सानो चौरमा घरघरबाट पानी ल्याई हिलो बनाएर केराको थामबाट कोदालो, कोदाली बनाई नाच्दै खनेको अभिनय गरिन्छ । पुरुषहरू महिलाको भेषमा घैया धानको पातलाई रोपोको रूपमा दमाई बाजाको तालमा नाच्दै रोपेको जस्तो गर्दछन् । यो कार्य पनि रोचक ढङ्गले गरिन्छ । यो पङ्क्तिकारले पनि सो जात्रामा रोपाहारको भूमिका निर्वाह गरेको बाल सम्झना सँगालेको छ । यसरी यहाँ लगाइने जात्रा हेर्न मैधीका उखुबारी, अमराईदेखि रातमाटा, पिपलटारसम्मको मान्छे ओइरिने गर्दथे । हिलेजात्रा पछि कृष्णाष्टमीसम्म रातिको समयमा सातदोबाटे लगायत विभिन्न स्थानमा लाखे नाच नचाउने परम्परामा अहिले केही कमी आएको भएपनि यो पङ्क्तिकार विद्यालय पढुन्जेलसम्म यस्तो चलन व्यापक थियो । कृष्णाष्टमीको दिन फेरी धुमधामले लाखे नाचेर माथिल्लो हटियामाबाटै वर्षभरिको लागि लाखे नाचको अन्त्य गर्ने चलन रहेको थियो । केही वर्ष पहिलेसम्म माथिल्लो हटियाका बासिन्दाले मकैको ढोंडबाट रथ बनाई त्यसमा श्री कृष्णजीको मूर्ति राखी शोभा यात्रा गर्ने प्रचलन थियो भनिन्छ ।


यहाँका युवाहरू जोशिला र बलिया भएका कारण उनीहरू जात्रामात्रामा हुने झैँ–झगडामा पनि अग्रस्थानमा रहने गर्दथे । मैधीमा विभिन्न चाडपर्वमा लाग्ने जात्रामा परम्परा जस्तै एक समूह र अर्को समूहको बिच घमासान झगडा हुने गर्दथ्यो । झगडामा कसैलाई गम्भीर चोट लागेको वा झगडालु समूहभन्दा बाहिरका व्यक्ति कुटिएको थाहा छैन । एउटा जात्राको झगडाको हिसाबकिताप अर्को जात्रामा मात्र गरिन्थ्यो । रिसराग पालेर जहाँ भेटियो त्यहीँ झगडा गरिँदैनथ्यो । यसरी झगडा गर्ने समूहमा माथिल्लो हटियाको सशक्त समूह लगायत ग्याल्माली, काफलपाने, छापथोके, काफलश्वारे आदि प्रमुख थिए । झैझगडाहरू आफैमा खराब कुरा भएपनि यहाँका झगडाहरू सांस्कृतिक महत्वका थिए । जात्रामा अलिअलि भएपनि घाच्चघुच्च नभए रमाइलो मानिँदैन थियो । अहिले पनि यहाँका युवाहरू जोशिला छन् । कोहीलाई केही समस्या परेमा सबै गाउँले एकजुट भएर सामना गर्ने चलन यहाँ अहिले पनि विद्यमान छ ।


तर ऐतिहासिक र सांस्कृतिक महत्वले यति महत्त्वपूर्ण माथिल्लो हटिया अहिले मैधीका अन्य गाउँभन्दा पिछडिँदै जान थालेको छ । यहाँको शैक्षिक विकासको लागि पासाङल्हामु प्रा.वि. स्थापना भएपनि प्रारम्भिक शिक्षा मात्र लिएर पढाई छाड्ने प्रवृत्ति बढिरहेको छ । विकासको दृष्टिले पनि यो गाउँ ओझेल पर्दैछ । परम्परादेखिको प्रख्यात मूलबाटो यसै गाउँबाट जाने भएपनि तल्लो हटियाको भीमसेनथानबाट वरामगाउँ हुँदै धारापानी निस्कने बाटो खुलेर अहिले मोटर गुड्न थालेपछि यो गाउँ केही कोल्टो परेको छ । मैध्याली (मैदेली) संस्कृतिलाई धानिरहेको एउटा गाउँको यो अवस्था निश्चय पनि चिन्ताको विषय हो । कुनैपनि मान्छेले आफूप्रति गर्व गर्नको लागि आफ्नो संस्कृति र इतिहासलाई बचाइराख्नु पर्दछ । हामीले आफूलाई मैध्याली (मैदेली) हुँ भनेर चिनाउँदा त्यहाँको इतिहास र संस्कृतिबाटै चिनाउने हो । त्यसैले मैध्याली (मैदेली) संस्कृतिको संगमस्थल माथिल्लो हटियाको विकासमा आजको पुस्ताले सोच्नु पर्ला की !


(आफ्नो माटो, स्मारिका–३, २०६२ आश्विनबाट साभार)
































































Discussion about this post