यो एक संघर्षशिल पैतालाको कथा हो ।
एक व्यापक, मूर्त- अमूर्त र सामाजिक अपरिमिततालाई प्रत्यक्ष अनुभूत गर्ने पैतालाको जीवनगाथा ।
एक यस्तो पैताला, जसले असिमित बाटो हिड्यो । अगणित सामाजिक अवयवहरू देख्यो, महसुस गर्यो, चिमोटीयो र, पटक पटक दुख्यो पनि ।
दु:ख स्वयं गाह्रो । दुख्नु अझ गाह्रो । त्यसभन्दा बढ्ता अरुलाई नदुखाउनु गाह्रो । भुइँ मान्छेका दु:खलाई सम्बोधन गर्न कटिबद्ध हुनु त झन् एक मर्मान्त पीडा ! तर, जुट्नभन्दा फुट्न मन पराउने नेपाली समाजको प्रवृत्तिलाई चिर्नु थियो । यसले अँगालेको स्थानभेद, रंगभेद, जातिभेद, विश्वासभेद, धर्मभेद, मतभेद र अछुत प्रथा एवं अन्धविश्वासहरू र त्यसक्रममा खल्बलिन पुगेको प्रकृति र सो प्रकृतिको असंख्य दु:खहरूलाई सम्बोधन गर्नु थियो । अन्तत: प्रकृति-मानव सहअस्तित्व कायम गराई यथासम्भव सुख अनुभूति गर्नु/गराउनु थियो । यसका लागि एक दृढ विश्वास अत्यावश्यक थियो । विचारसहितको दृढता । आँटसहितको दृढता ।


र, भयो पनि त्यहिँ । यी पैतालाहरूमा कहिल्यै पनि आत्मबोधको क्षयग्रस्तता देखिएन । देशको स्वतत्व र स्वाभिमानप्रति यी पैताला सदैव अडिग रहे, रही नै रहे । आज बागमती प्रदेशकी सांसद तथा नेकपा एमालेको वन तथा वातावरण विभागको प्रमुख रहँदा पनि यी पैतालाहरू उसैगरी अडिग छन् ।
यो कथा सोही पैतालाको यात्रा वृतान्त ।
चेलीबेटी बचाउन दौडिरहेका पैताला ।
पर्यावरणका लागि लम्किरहेका पैताला ।
खिचातानीमा परेर पनि नथाकेका पैताला ।
धम्कीले नकापेका पैताला ।
एक जोडी स्वतन्त्र पैतालाहरूको यात्रा कथा- A Journey of Independent Feet.


***
भनिहालौँ, उनको जीवनगाथामा एक असिमित भीषणता छ तर वेगमय छ । विकरालताहरू छन्, र भेलहरू पनि छन् । यी सब बाबजुद पनि यस यात्रामा एक मिजासिलोपन छ, शीतमय बिहानहरू छन् । रंगहरूको स्पर्शता छ । सजीवताको स्पन्दन छ ।
हुन् त् हरेक यात्रीले यात्रामा एक न एक किसिमको शैली अँगाल्छ । आफ्नो शैली र क्षमताबमोजिम यात्रा तय गर्दछ । यात्राको प्रारम्भमा सानोतिनो योजनाहरू पनि तर्जुमा गर्दछ, जस्तै: कहाँ बस्ने, कतिदिन बस्ने ? कहाँ खाने ? कहाँ सुत्ने ? ओढ्ने-ओछ्याउने छ कि छैन ? बीचबाटोमै अलपत्र परियो भने के गर्ने ? सहयात्रीहरूले छाडे भने के गर्ने ? र मुख्य कुरा- गन्तव्यसम्म पुग्नका लागि केकस्ता जोखिमहरू आउँन सक्दछन् ? तीसँग जुध्न म सामार्थ्यवान छु ? ..आदित्यादी ।
र, यस पैतालाको यात्राकथा अझ र रोचक र साहसिक छ ।
किन ?
किनभने यहाँ यात्राका योजनाहरू त छन् नै, त्यसभन्दा ठुलो कुरा यात्राको निरन्तरता छ । यी पैतालाहरूको यात्रा सर्वजन हितकारी क्रियाशीलतालाई क्षतिग्रस्त तुल्याइरहेको बुद्धिजीवी भनाउँदाहरूको द्वन्द्वपूर्ण निष्क्रियता जस्तो ओथारो बसिरहेको छैन ।
किन ?
किनभने गुरुत्वाकर्षको सिद्धान्तले पनि भुइँमै रहेर रमाउन सिकाउँछ । र, उनको पैतालाले पनि भुई छोड्न मान्दैन, भुईमै रमाउँछ ।
किन ?
किनभने यी पैतालाहरू सर्वाङ्गीण अविकसित स्थितिको विद्यमानताबाट निस्सासिएको छ । यी पैतालाहरूसँग समाज जागरुक बनाउने दायित्वको अनिवार्यताबोध छ ।
किन ?
किनभने यी पैतलाहरूसँग व्यक्तिगत स्वार्थको कुण्ठाग्रस्त ऐठनबाट उठी समाजको सन्तोष र स्वास्थ्यलाभको लागि क्रियाशील रहने हुटहटी छ । र, मुख्य कुरा यी पैतालाहरूलाई आफ्नो यात्राप्रति आंशिक वितृष्णाभाव समेत छैन । बदलामा अझ साहस र केहि गरि छाड्ने जुनुन छ ।
यो यात्रा आत्मसंघर्षको कथा पनि हो । सँगै, सामुदायीक वन एवं महिला सशक्तिकरणलाई आधुनिकीकरण एवं व्यवस्थित बनाउनका खातिर गरिएको संघर्षको कथा पनि हो ।
लैंगिक तथा सामाजिक रुपान्तरणलाई पुनः परिभाषित गर्नका लागि गरिएका संघर्षका कथाहरू ।
प्राकृति श्रोत र वन संरक्षण विश्वकै लागि उदाहरणीय र नमुना बनाउनका खातिर गरिएका संघर्षका कथाहरू ।
सामुदायिक वनमा महिला र पुरुषको समान सहभागिताको वृद्धि र विकासका लागि गरिएका संघर्षका कथाहरू ।
र, यस कथाको शीर्षक हो- भारती पाठक !


***
भारतीका पैताला धर्तीमा २०३५ साल असार ५ गते टेकेका हुन् । बुवा बाबुलाल पाठक र आमा जानुका पाठकको दोस्रो सन्तानको रूपमा जन्मिएकी भारतीभन्दा अघि एकजना दाजु छन् ।
जनजाति समुदायको विशेष बसोबास रहेको मकवानपुरको गाउँमा हुर्किएकी भारती अहिले पनि सम्झनाका कोलाजमा फर्किंदा तरंगित हुन्छिन् । चेपाङ बस्तिको मायाको न्यानोपन अहिले पनि उनलाई महसुस हुन्छ । उनीहरूसँगको घुलमिल याद गर्दै उनी भन्छिन्, ‘मलाई यो ठाउँ छोडेर म बस्न सक्दिनँ कि जस्तो लाग्थ्यो ।’
भारतीको बुवा अमर प्रा.वि.का हेडमास्टर थिए । सोही अमर प्रा.वि.बाट विद्यालयमा परेका भारतीका पैतालाले समयक्रममा निकै फराकिलो यात्रा गर्यो ।


***
भारतीको घर र अमर प्रा.वि खोला वारिपारी थियो । बर्खाको समयमा उनी बुवाको सहयोग लिएर विद्यालय पुग्ने गर्थिन् ।
कक्षा ५ सम्म सोहि विद्यालयमा अध्ययन गरेकी भारतीका पैताल कक्षा ६ बाट श्री कालिका मा.वि.मा टेकिन थाले । चार घण्टाको लामो यात्रा गरेर उनी शिक्षाको लागि विद्यालय पुग्ने गर्थिन् । विद्यालय पुग्नका लागि ७ बजे घरबाट हिडीसक्नुपर्थ्यो । यसमा उनकी आमाले पनि त्यती नै मिहिनेत गर्थिन् । बिहान ६ बजे विद्यालय जाने सन्तानका लागि खाना तयार गरिदिन्थिन् ।
बिहान ६ बजे पाकेको खाना खाएर हिड्दा उनी साँढे १० बजे विद्यालय पुग्थिन् । आफू बिस्तारै हिड्ने भएकाले पनि समय लाग्ने गरेको बताउँदै भारती भन्छिन्, ‘दाईहरूलाई २ घण्टा मात्र लाग्ने बाटो मलाई ४ घण्टा लाग्थ्यो ।‘ एक्लै हिड्ने स्वभावकी भारतीलाई पुस्तक बोकेर हिड्न पाउँदा आनन्द लाग्थ्यो । उनी आज पनि उत्तिकै पुस्तकलाई प्रेम गर्छिन् । यसप्रकार, घामसँगै उठ्ने बानी भएकी उनी सुर्यास्त भएपछि घर पुग्थिइन् । र, पुन: पठनपाठनमै केन्द्रित हुन्थिन् ।
आफ्नो भागको घरायसी काम पनि गर्न र ती कामका लागि समय निकाल्न गाह्रो भयो । तत्कालिन सामाजिक एवं लैंगिक परिवेशले उनी घरकी छोरी भएकाले पनि अतिरिक्त जिम्मेवारीको भारी बोकाएको थियो, र उनले त्यसलाई सहर्ष बोकिन् पनि ।
तीन वर्ष लगातार हिँडेपछि उनलाई एउटा थकाई महसुस हुन थाल्यो । माथिल्लो कक्षामा पुगेकाले पढाईको लागि समय निकाल्न समस्या समेत हुन थाल्यो ।
उपाय स्वरूप उनी विद्यालय नजिकै रहेको आफ्नो मामाघरमा बस्न थालिन् । एक वर्ष मामाघरको बसाईंपछि उनलाई छुट्टै बसेर पढ्नुपर्छ कि भन्ने सल्लाह घरबाट दिइयो । सल्लाह अनुसार दाई बस्ने होस्टल नजिकै कोठा लिएर उनी बस्न गइन् । निमावि तहसम्म आफ्नो पढाई ठिकठिकै रहेको बताउने भारतीको गणित विषयमा समस्या थियो भने अंग्रेजी पनि काम चलाउ मात्र थियो । घरबाट कोठासम्म पैतालाको यात्रा हुनुको कारण यो पनि एक थियो ।


गाउँमा लिएको कोठा निकै आनन्ददायी थियो । दाउरा खोज्ने-ल्याउने-पकाउने-खाने उनको स्वादिलो दिनचर्या बनिरहेकै थियो । बुवा हेडमास्टर भएकाले पैसाको धेरै अभाव नभए तापनि गाउँको संस्कृति अनुरुप उनी दाउराकै चुल्होमा पकाएर खान जाँगर चलाउथिइन् । टुकीकै उज्यालोमा पढ्ने लेख्ने गर्थिन् ।
५३/५४ सालमा फलामे ढोका अर्थात एसएलसीको द्वार खोल्न उनलाई निकै सकस महसुस भयो । एकपटक त नपढ्ने निर्णय लिएर ६ महिनासम्म बरालिइन् । वर्षको मध्यमा लिइने परिक्षामा उनको गणित विषय बिग्रिनु यसको जड थियो ।
गाउँ गएर करिब एक हप्ता बाख्रा चराउने गरेपछि उनको बुवालाई चिन्ता लाग्यो । बुवाको चिन्ताले घरबाट पुन: मामाघर पठायो । कडा स्वभावका मामाघरका हजुरबुवाले पनि उनलाई पढ्न जान जोड दिए । घर र मामाघरको जोडले ‘जोडघटाउ’ जान्नै पर्ने बाध्यता आइपर्यो । र उनले गणित सिकिन् ।
आफ्ना समस्याका खाका बोकेर उनी शिक्षक अनन्त नारायणकहाँ रुँदै पुगिन् । र, हेटौडाका ती शिक्षकलाई उनले ट्युसन पढाइदिन आग्रह गरिन् ।


शिक्षक अनन्त नारायणसँगको पहिलो भेट उनलाई यद्यपि याद छ ।
शिक्षक दोस्रो तलामा रहेको ट्युसन पढाउने कोठातर्फ भर्याङबाट उक्लिँदै गर्ने क्रममा उनले शिक्षकलाई बोलाइन् । आफू गणितमा कमजोर रहेकाले उनले पढाइदिन अनुनय गरिन् । भारतीको बुवालाई राम्ररी चिनेका शिक्षकले पहिला उनको प्रस्ताव अस्विकार गरे । उनले भने ‘मैले तिम्रो बुवाको इज्जत फाल्नु छ र तिमीलाई यसरि पढाएर ? तिमीले मसँग पढ्न सक्दैनौं ।‘
दोस्रो पटक पनि उनले आग्रह गरेपछि शिक्षकले आफ्नो धर्म निभाउने निधो गरे । बुबा भवानीलाई चिनेका कारण पनि शिक्षक अनन्त नारायणले उनलाई पढाउने भए र भोलिबाट आउन भने ।
शिक्षक अनन्त नारायणले तीन जनालाई ट्युसन पढाउने गर्थे । पढ्न जाने क्रममा आफूलाई गणितका सामान्य शुत्रहरू समेत नआउने हुनाले उनलाई भित्रभित्र नमजा लागिरहेको थियो । तर समय जादुगर हो भन्छन् नि, समयले एउटा अनौठो जादु देखायो । आज,भोली.. गर्दागर्दै उनले गणित जानिन् । बिस्तारै गणितले उनलाई जान्यो । उनीहरूको राम्रो गठबन्धन भयो । एकहप्ताको अन्तरालमा पढेका हरेक कुरा सम्झिन थालिन् । ३ महिनापछि आफूमा आत्मबल आएको उनी सुनाउँछिन् ।
पहिला गणित भन्ने बित्तिकै लुक्ने भारतीलाई अब त पाठ्यक्रम कहिले अगाडी बढ्छ र अगाडीका कुराहरू सिक्न पाइन्छ भन्ने हूटहूटी हुन थाल्यो ।
उनीसँगै पढ्ने तारा कार्की नाम गरेकी साथी जान्ने थिइन् र पहिलो बेन्चमा बस्ने गर्थिन् । यो तीन महिनाको मिहिनेतले उनी तारालाई समेत पछि पार्नसक्ने भइन् । पढाइको यो क्रममा उनले अत्यधिक ‘जिस्ता कपि’ खपत गरिन् । कति खपत गरिन् भन्ने प्रश्न छ भने परिवारलाई अचम्म लाग्ने गरि गरिन् ।
यसबिच रातभरी पढ्ने विकास गरेकी भारतीलाई अब धेर नपढ्न सल्लाह आउन थालेको थियो । उनका दाई १० बजे सुत्थे भने पढाइको प्यासले उनी १ बजे राती बल्ल निदाउँथिन् । जति गणित भेटियो त्यती नै हल गर्न मनलाग्ने स्थितीसम्म उनी पुगिन् । उनी भन्छिन्, ‘मलाई जति गणितको हल गर्यो, उति रमाइलो र रोमाञ्चक लाग्दै गयो ।‘ केहि समयमै उनी दाईलाई समेत हल गर्न सिकाउने भइन् ।
‘प्रतिष्पर्धी भई’ भनेर साथीहरूले उनको रिस गर्न थाले । शिक्षकले पनि कसले हल गर्न सक्छ भन्दा उनको अनुहारमा हेर्न थाले । शिक्षक अनन्तनारायणसँग ट्युसन पढ्ने हुनाले दिइएको प्रश्न हल गर्दा उनको फुर्ति नै बेग्लै हुन्थ्यो ।
शिक्षक नजिकै बस्ने हुनाले वार्षिक परिक्षापछि उनी शिक्षकलाई कपि जाँच्न समेत मद्दत गर्न थालिन् । आज आएर ती दिनहरू सम्झिँदा उनलाई ठुलो उपलब्धी हासिल गरे जस्तो लाग्छ । त्यसपछिको परिक्षामा उनलाई ८५/९० अंक ल्याउन खासै गाह्रो भएन ।


श्री कालिका माविमा रहँदै भारतीले वक्तृत्वकला लगायतका अतिरिक्त क्रियाकलापमा भाग लिने गरेकी सम्झिन्छन् । उनी भन्छिन्, “मेरो विचारलाई हौसला प्रदान गरेर अघि बढ्न मेरो कान्छो मामा जनक गर्तौलाले प्रेरित गर्नुभएको हो । सरस्वती पुजा आयोजन, वक्तृत्वकला, कविता आदि कुरामा मामाले धेरै सहयोग गर्नुभयो ।” उनी आज पनि मामाप्रति अनुग्रहित छिन् । आफ्नो विगतदेखि यहाँसम्म हिडेर आएको बाटो याद गर्दै उनी भन्छिन्, “म कक्षा ६ मा पढ्दा मामा कक्षा ९ मा पढ्नुहुन्थ्यो । मामा र शिक्षकले डोजर नचलाईदिएको भए सायद मलाई बाटो खन्न समय लाग्थ्यो कि ? किनभने म सधैं पछाडी बस्ने, अगाडि देखिन नखोज्ने किसिमको थिएँ । नेतृत्व गर्ने चाहना त थियो तर पछाडी बसेर नेतृत्व पनि नहोला । उहाँहरूले नै मलाई बाटो देखाउनुभयो ।”
भारतीले कक्षा ७ बाटै आफ्नो दाईसँग राजनैतिक कार्यक्रममा सहभागी हुने या भनौँ सक्रिय हुने गरेकी हुन् । श्री कालिका माध्यमिक विद्यालयमै हुँदा उनी अखिलमा जोडिएकी थिइन् । “शालिग्राम पुडासैनी र मालती उप्रेती दुई जनाले अखिललाई विद्यालयसम्म लिएर जानुभएको थियो । उनीहरू त्यहाँ जाँदा बजारका मान्छे आए भनेर हामी भाग्थ्यौं । सात कक्षामा दाईले अनेरास्ववियुको सदस्यता लिनुपर्छ भनेपछि लिएकी हुँ । विद्यालय कालमै मैले आफ्नो क्षमता विकास गरेको थिएँ”, उनले भनिन् ।
५० सालको बाढीले विस्थापित:
५० सालमा आएको बाढीबाट बिस्थापित भएर हेटौडा पसेकी भारतीसँग त्यतीबेलाको मार्कसिट भने छैन । बाढीका कारण थोरै मात्र जायजेथा बाँकी भएको हुनाले ०५३ सालमा एसएलसी दिएपछि उनी परिवारसहित हेटौडा झरेकी हुन् । बुवाको पेसा भने त्यहि गाउँमा निरन्तर रह्यो ।
हेटौडा आएपछिको यात्रा भने फरक छ । पैतालाका दौडाइ बेग्लै छन् ।..
(क्रमश…)




























































Discussion about this post