- सुजन खनाल
म वनविज्ञानको विद्यार्थी थिइनँ, तर कालान्तरमा मैले यहीँ विषय पढेर मास्टर सिद्ध्याएँ । प्लस टू साइन्स क्यारेबियन कलेज (काठमाडौं) बाट गरेको थिएँ । यसपछि म नाम निस्किएकाले २ महिनाका लागि इन्जिनियरिङ (इलेक्ट्रिक इन्जिनियरिङ) पढ्न पोखरा गएँ । हेटौँडाको मान्छे, घर छाडेर त्यति टाढा कहिल्यै गएको थिइनँ । मलाई ‘होम सिक्नेस’ भयो । मामाले पनि ‘डीएफओ कोर्स (DFO Course)’ पढ्नु भन्नुभयो । त्यसपछि हेटौँडा आएर हेटौँडा क्याम्पसबाट मैले आफ्नो ब्याचलर सकाएँ । त्यतिबेला भूउपयोगिताको परिवर्तनमा थेसिस गरेको थिएँ । यसपछि, वन विज्ञान संस्थान (आईओएफ), पोखराबाट स्नातकोत्तर पढ्न गएँ । यी सब गरिरहँदा म वातावरण तथा जैविक विविधता संरक्षणका विभिन्न आयामहरूलाई नजिकबाट हेर्ने भइसकेको थिएँ । यसै सम्बन्धमा आफ्ना अग्रजका थेसिसहरूमा सघाउने एवम् यसै क्षेत्रमा स्वतन्त्र अनुसन्धानको कार्य थालिसकेको थिएँ । यसप्रकार म वनविज्ञानको विद्यार्थी हुन् आइपुगेँ । हाल म सामुदायिक वन उपभोक्ता महांसघसँग आबद्ध छु भने ढोल वर्किङ ग्रुपको नेपाल प्रतिनिधि समेत हुँ ।


वन कुकुरप्रति मेरो आकर्षण किन बढ्यो ?
वन कुकुर (ढोँल, Dholey) प्रति मेरो आकर्षण बढ्नुमा एक दुई कारणहरू छन् । पहिलो, ब्याचलर अध्ययनकै क्रममा नेपालमा पाइने क्यानिड्स परिवार प्रजातिहरू जस्तै: स्याल, ब्वाँसो, फुस्रे फ्याउरो, भोटे फ्याउरो, रातो फ्याउरोमध्ये वन कुकुरको संख्या अत्यन्त न्यून छ भन्ने मलाई थाहा भयो र यस सम्बन्धमा अध्ययन गरिरहनुभएकी स्मृति लामा दिदीसँग अप्रत्याशित रूपमा जोडिन आइपुगेँ । सन् २०१५ मा दिदी हात्तीको वासस्थान एवम् मानव-वन्यजीव द्वन्द्वबारे अध्ययन गर्दै हुनुहुँदो रहेछ ।


हेटौडा क्याम्पसमै थिएँ, मेरो ब्याचलरको थेसिस पनि बाँकी नै थियो । एकाएक अप्रत्याशित रूपमा स्मृति दिदीको फोन आयो । म अचम्ममा परेँ । अचम्म यसकारण लाग्यो कि उहाँसँग त्यसअघि मेरो व्यक्तिगत वा बाह्य रूपमा कुनै चिनाजानी थिएन । फोनमा उहाँले मलाई ‘पर्सा निकुञ्जदेखि रौतहटको खोलासम्म जानुपर्छ’ भन्नु भएको थियो । र, चिन्दै नचिनेको मान्छेलाई सहयोग गर्न म झोला बोकेर निस्किएँ । मलाई अझै पनि याद छ, उहाँको र मेरो भेट भएको पर्सा नेशनल पार्क (त्यतिबेला रिजर्भ) नजिकै भएको थियो । स्मृति दिदीसँग चुम्ला दिदी पनि हुनुहुन्थ्यो ।
हामी प्रथमतः हात्तीको खोजीमा निस्कियौँ । म सहयोगी बनेर उहाँहरूको पाइला पछ्याउँदै पर्सा निकुञ्ज हुँदै रौतहटसम्म पुगेँ । यस यात्राको दौरान मैले जंगलको विराटतालाई नजिकबाट जान्ने-बुझ्ने मौका पाएँ । जैविक तथा भौगोलिक विविधता अनेकन् गुप्त रहस्यहरूलाई देखेर म दंग थिएँ । यसरी दंग परिरहेकै क्षण जिन्दगीमा प्रथमपटक मैले वन कुकुरलाई देख्ने दुर्लभ अवसर पाएँ । रातमाटे सामुदायिक वन क्षेत्रमा थियौँ, दुई वटा वन कुकुरहरू बागमती नदी किनारमा हिँडिरहेका थिए । उनीहरूको हिँडाई एकदमै सफ्ट हुन्छ, भुवा जस्तो । मैले त्यतिबेला उनीहरूको पाइलाको फोटो समेत खिचेँ तर उनीहरूको भने फोटो खिच्न पाइनँ ।
क्रमशः यस विषयमा रुचि बढ्दै गएपछि निकुञ्ज क्षेत्रभित्र वन कुकुरको अवस्था के छ बुझ्न मन लाग्यो, र, म यतातर्फ आकर्षित भएँ । स्वतःस्फूर्तमा रूपमा व्यक्तिगत रूपमा अध्ययन, अनुसन्धान गरिरहेको थिएँ । यसैकारण भन्न सकिन्छ कि, सन् २०१५ देखि मैले ढोँलसँग सम्बन्धित खोजमूलक कार्यक्रम सुरु गरेको हुँ । त्यतिबेला नेपालमा करिब सयको संख्यामा वन कुकुर रहेको थियो, जो अहिले अझै घट्दै गएको हुनुपर्छ भन्ने मेरो अनुमान छ ।


दोस्रो घटना पनि यसै ब्यहोराको छ, सन् २०१६ मा सन्त बहादुर थिङ दाइले वन कुकुरको वासस्थान सम्बन्धमा ब्याचलरको थेसिस गर्दै हुनुहुन्थ्यो । त्यतिबेला पनि उहाँको थेसिस बनाउनेदेखि लिएर, फिल्ड भिजिट लगायत सम्पूर्ण काममा मैले दाइलाई सघाउँदै ७२ दिन पर्सा निकुञ्जमा बसेँ । त्यसक्रममा वन कुकुरलाई अझ नजिकबाट स्क्यान गर्न पाएँ । त्यो समयका केही फोटोहरू अहिलेसम्म मसँग सुरक्षित नै छन् । राम्रो क्यामेरा नभएका कारण यो ढोँल हो भन्ने चाहिँ थाहा हुन्छ ।
पछि उहाँले सन् २०१८ मा वन कुकुरमै मास्टरको थेसिस गर्नुभयो, जसका लागि सोही भूगोल छनौट गर्नुभयो । म फेरी वहाँसँग जोडिएर पर्सामा लगभग २ महिना जति बसेँ हुँला । मलाई याद छ, हामी चुरियामाई (मकवानपुर) वन क्षेत्रमा थियौँ । त्यहाँ मैले ३/४ वटा वन कुकुरले साम्भारलाई शिकार गरिरहेको अभूतपूर्व दृश्य देखेँ । यो मेरो जिन्दगीकै सुन्दरतम क्षणमध्ये एक हो ।
यसरी एकपछि अर्को रूपमा वन कुकुर विशेषज्ञहरूसँग संगत बढ्दै जाँदा र आफूलाई वन कुकुरबारे चासो दिनप्रतिदिन बढ्दै गएकाले वन कुकुरको स्थिति कस्तो छ भनेर सन् २०२१ मा रिसर्च पेपर तयार पार्ने निधो गरेँ, जसका लागि मैले रुफोर्डमा प्रपोजल पनि हालेँ । तर, पहिलोपटक फ्यालिएँ । सोही फ्यालिएको प्रपोजल दोस्रोपटक पुनः पठाएँ । अचम्म, म सेलेक्ट भएँ । फूल स्क्लोरसिपमा मैले वन कुकुरको सम्बन्धमा आफ्नो रिसर्च सुरु गर्न पाएँ, जुन यद्यपि चलिरहेकै छ, जो चाँडै सार्वजनिक हुनेछ ।


अध्ययनका क्रममा मैले वन कुकुरबारे जेजे थाहा पाएँ:
वन कुकुर पेलिस्टोसिन पिरियडमा एशिया, युरोप र उत्तरी अमेरिका पाइन्थ्यो तर, १२-१८ हजार वर्षअघि नै यसको दायरा एशियाका सीमित देशहरू (जस्तै: नेपाल, भारत, चीन, बाङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देश) देखिएका छन्।समुद्री सतहदेखि ५३०० मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबहार, उष्ण वर्षा वन, खुला मैदान आदि वन कुकुरका लागि उपयुक्त वासस्थान मानिन्छ । नेपालमा भने समुद्र सतहदेखि ४३५० मिटरसम्म वन कुकुर देखिएका छन् । यस उचाइमा नेपालका तराई एवम् लेकाली भेगका प्रायशः निकुञ्ज एवम् संरक्षित क्षेत्र पर्ने हुँदा वन कुकुरहरू नेपालका विभिन्न भागमा छरिएर रहेको अनुमान गर्न सकिन्छ ।
वन कुकुरले मान्छेले झैँ ‘सिसि..’ को आवाज निकाल्ने गर्दछन् । सिट्ठी हालेर (ह्विसलर) एकअर्कासँग कुराकानी गर्ने गर्दछन् । चिच्याउने, म्याउँ गर्ने तथा कुखुरा जस्ता कराउने यी जीवहरू रोचक आवाज निकाल्न माहिर हुन्छन् । यो आवाज कसरी उत्पादन हुन्छ, खोजीकै विषय रहेको छ । शिकारलाई आक्रमण गर्दा, यिनीहरू ‘काका..काका’ आवाजहरू चिच्याउँछन् भने खाना माग्न बच्चाहरूले फरक आवाज निकाल्छन् । यसैगरि, यिनीहरू कुशल शिकारीका समेत हुन् । यिनीहरूले आफ्नो शिकारलाई दौडाएर, थकाएर मात्रै आक्रमण गर्ने गर्दछन् । वन कुकुरहरू आफूभन्दा ४-१० गुणा ठूलो जनावर (गौरी गाई, चौँरी, बँदेल)लाई पनि आफ्नो शिकार बनाउँछन् । यिनीहरू ३० माइल प्रति घण्टाको गतिमा शिकारको पछाडि दौडिने सामर्थ्य राख्दछन् ।
सामूहिक रूपमा शिकार गर्ने यिनीहरू चारैतिरबाट घेरा हाली शिकार जीवित रहँदै पुच्छरपट्टिको भागबाट खान शुरू गर्छन् । पछाडिबाट उफ्रिएर आफ्नो शिकारलाई घाइते बनाउनु यिनीहरूको शिकारजन्य प्रवृत्ति हो । कहिलेकाहीँ आँखामा आक्रमण गरेर आफ्नो शिकारलाई अन्धो समेत बनाउँछन् । साथै, हरेक वर्ष सेप्टेम्बरमा यिनीहरूको ब्रिडिङ सुरु हुने गर्दछ । स्वस्थ अल्फा फिमेलले बढीमा १२ वटासम्म बच्चाहरू जन्माएको पाइएको छ । गर्भावस्थाको अवधि ६०–६३ दिनसम्मको रहन्छ । यस समयमा, समूहले ओडारमा बसेकी आमालाई खाना पुर्याउने गर्दछन् । यसरी जन्मिएका बच्चाहरू ६ महिनाको उमेर भएपश्चात् वयस्कहरूसँग शिकारमा जान्छन्, र आठ महिनाको उमेरमा साम्बर जस्ता ठूला शिकारहरूलाई मार्न मद्दत गर्छन् ।


वन कुकुर संरक्षणका चुनौतीहरू:
२०१५ देखि हालसम्मको अध्ययनको क्रममा मैले थाहा पाए कि, आफ्नो भू-भागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको नेपालले वन कुकुर संरक्षणमा चासो दिएको देख्न र भेट्न मुस्किल छ । वन कुकुरको यकिन संख्या निर्धारण, वितरण प्रणाली, वासस्थानको अवस्था, आहारा प्रजातिको उपस्थिति लगायतका विषयहरूबारे कसैले पनि स्पष्ट रूपमा यहीँ हो भनेर भन्न सक्ने स्थिति छैन । यो समस्या नेपालमा मात्रै नभई वन कुकुर पाइने विश्वका विभिन्न देशहरूमा रहेको छ । व्यक्तिगत रूपमा सीमित व्यक्तिहरूले वन कुकुर संरक्षणमा चासो दिएको पाइन्छ । पछिल्लो समय क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी) विश्वव्यापी रूपमा वन कुकुर संरक्षणमा लागेको छु, जसको नेपाल प्रतिनिधिहरू एक म हुँ भने अर्को अम्बिका दाइ (खतिवडा) हुनुहुन्छ । वन कुकुरको संख्या एवम् गणना निर्धारण, आवश्यक पारिस्थितिक प्रणाली निर्माण एवम् संरक्षण कार्ययोजना तयार पार्नतर्फ हामीहरू क्रियाशील छौँ, जसअन्तर्गत नै सौराहामा दोस्रो वन कुकुर सम्मेलन गत जेठमा चितवनमा सम्पन्न भयो, पहिलो थाइल्याण्डमा भएको थियो ।
यसैगरी, ठूलालाई मात्र संरक्षण गर्ने सरकारी व्यवहारका कारण आकारमा साना तर जोखिममा रहेका वन कुकुर जस्ता थुप्रै वन्यजन्तुको अवस्था यस्तै हुन् गइरहेको छ, यो ज्यादै ठुलो दुर्घटना हो । वन नीति २०७१ को कार्यनीतिमा पनि वन, वन्यजन्तु तथा पारिस्थितिक प्रणालीको संरक्षण, विकास र व्यवस्थापनका लागि आवश्यक अध्ययन अनुसन्धान गर्नुका साथै संकटापन्न, दुर्लभ, लोपोन्मुख वनस्पति तथा वन्यजन्तुको स्व र पर–स्थानीय संरक्षण गर्ने उल्लेख गरेको छ, तर व्यवहारमा त्यसो देख्न पाइँदैन । उच्च सरकारी अधिकारीहरूमा ठूला वन्यजन्तुप्रति अचम्मलाग्दो मोहले पनि हाम्रो संरक्षण नीतिहरूमा विभेद रहेको प्रष्ट देखिन्छ ।


अर्कोतर्फ, वन्यजन्तु संरक्षण मूलतः आर्थिक लाभका लागि गरिनुपर्छ भन्ने गलत भाष्य निर्माण हुन् पुग्दा पनि पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान दिने वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत हुन् पुगेको हो । वन कुकुरको अभिलेखीकरण राख्ने र अन्यत्र देखिएका छन् भने तिनको पुनर्स्थापनाका लागि सचेत बन्नुपर्ने समयमा संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण (गाउँबस्ती) बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु, घरपालुवा कुकुरबाट रोगहरू सर्नु जस्ता थप चुनौतीहरू खडा भएका छन् ।
यसैगरी, पानीका स्रोतहरू सुक्दै गएका छन् जसले गर्दा यिनीहरूको वासस्थान असुरक्षित देखिन थालेको छ । चुरेको अत्यधिक अवैध दोहनले गर्दा निकुञ्जहरूमा पानीको समस्या देखिन थालेको छ । सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा यो समस्या देखिएको छ ।
घरपालुवा वस्तुलाई आक्रमण गरेको प्रतिशोधमा मान्छे-वन कुकुर द्वन्द्व पनि चर्किएको छ । यस क्रममा विषादी हाल्ने, जालमा पार्ने एवं गोली हानेर मार्ने लगायतका विधि ज्यादा प्रचलित छन् । मूलतः भारतीय मानिसहरूले आफ्ना पशुधनलाई सुरक्षित गर्ने सवालमा वन कुकुरहरूलाई ठूलो संख्यामा मार्ने गरिरहेका छन् ।
पानीको स्रोतमा दक्खल पुगेसँगै क्रमिक रूपमा वन कुकुरको संख्या पनि ओरालो लागेको अनुमान गर्न सकिन्छ । वन कुकुरको रौँ (भुत्ला)को व्यापार पनि पछिल्लो समय मौलाइरहेको छ, यो वन कुकुरको सुरक्षा चुनौतीमा थपिएको अर्को जटिलता हो । ब्रिटिश राजको समयमा ब्रिटिश स्पोर्टस् हन्टर्सहरूले आफ्ना विभिन्न खेलहरूका लागि वन क्षेत्रको प्रयोग गर्ने हुँदा त्यस क्रममा वन कुकुरको संख्या ओरालो लागेको हो ।
नेपाल सहित विश्वभर नै जैविक विविधताको विनाशको गति तीव्रतर रूपमा बढ्दै छ। जलवायु परिवर्तनसँगै जैविक विविधताको विनाश सबैभन्दा महत्त्वपूर्ण वैश्विक वातावरणीय खतरा हो । यी दुवैले हामीले हाम्रै लागि निर्धारण गरेका दिगो विकासका लक्ष्यहरूको उपलब्धिलाई कमजोर तुल्याउन सक्छन् । विशेषगरी खस्किँदो सिमसार, वनविनाश, वन विखण्डन, पहिरो, क्षयीकरण र प्राकृतिक संसाधनहरूको अत्यधिक दोहन वन कुकुर संरक्षणतर्फ देखिएका मुख्य चुनौतीहरू हुन् ।


वन कुकुर किन जोगाउने ?
वन कुकुर संरक्षण किन गर्ने रु त्यसबाट के फाइदा हुन्छ रु संरक्षण नगर्दा के हुन्छ रु यी प्रश्नहरू उठाउनु नै संरक्षणको पहिलो कदम हो । र, उत्तर सपाट छ- वन कुकुर संरक्षण गर्नु भनेको हाम्रो परिवेशको संरक्षण हो । वन कुकुर मानव जातिले सृष्टि गर्न नसक्ने प्रकृतिको वरदान हुन् । यस नैतिक सिद्धान्तकै आधारमा कुनै पनि जीवजन्तुको लोपोन्मुख हुनु मनासिब कुरा होइन । वन कुकुर लोप हुँदा त्यसका वंशाणु सधैँको लागि लोप हुन्छन् । यसकारण संरक्षणको लक्ष्य वंश र वंशाणुको संरक्षण हो । कुनै पनि जीवको भविष्यको मृत्युलाई रोक्नु नै मानव धर्म हो, चिकित्सा क्षेत्रले पनि यसलाई स्वीकारेको छ ।
पारिस्थितिक प्रणाली एवम् जैविक विविधतामा मानव मात्रै होइन हरेक जीवजन्तु, पशुपक्षीको बरोबर योगदान रहन्छ । मान्छे मात्रै एकछत्र भन्ने होइन । यस धरतीमा रहेका विभिन्न तत्त्वहरूमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । प्रत्येक वन्यजन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ । यी सबैको संरक्षण हामी मानवकै अस्तित्व बचाउनका लागि पनि अत्यावश्यक छ । प्रकृतिसँग अन्तर्क्रिया विना मानव विकासको सम्भावना रहन्न ।


अन्त्यमा:
वन कुकुर जस्ता वैश्विक चासो एवम् अति संकटापन्न जीवको संरक्षणका सरकारले चासो लिनुपर्नेमा सीमित व्यक्तिले काम गरिरहनु परिरहेको छ, यो दुखदायी कुरा हो । सरकारले वन कुकुर संरक्षण कार्ययोजना (वन कुकुर कन्जरभेसन एक्सन प्लान) अघि बढ्नुपर्नेमा यसको जिम्मेवारी हामीजस्ता सीमित व्यक्तिले लिनु परिरहेको छ, दुःख लाग्छ । सरकारले वन कुकुर संरक्षणलाई प्राथमिकता राखेर हामीलाई सघाओस् वा हामीसँग सहयोग मागोस् ।
जैविक विविधताको संरक्षण, जैविक विविधताका अवयवहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूको निष्पक्ष र न्यायोचित वितरणबाट मार्फत जैविक विविधता संरक्षण हुन् सक्दछ । विश्वको जैविक विविधता संरक्षण, पुनर्जागृति र दिगो व्यवस्थापनको रणनीतिक दृष्टिकोण र खाका तयार परिरहँदा अति संकटापन्न वन कुकुर जस्ता साना स्तनधारी जीवहरूको न्यायोचित सम्बोधन हुनुपर्दछ ।
- वन्यजन्तुको क्षेत्रमा निरन्तर काम गरिरहेका खनाल पर्सा र ढोरपाटन निकुञ्जमा विगत ७ वर्षदेखि सक्रिय छन्। वन कुकुरको सम्बन्धमा विशेष चासो राख्दै आइरहेका खनाल समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना सुरु गर्ने योजनामा छन्।
(टुर न्यूजको वन कुकुर अंक, अर्काइभ)




























































Discussion about this post