लेखिका चित्रा बनर्जीको पुस्तक ‘द लास्ट क्वीनमा’मा समाविष्ट यो उद्गारलाई महारानी जिन्द कौरले जेलका वार्डनलाई लेखिएको व्यङ्ग्यात्मक पत्रको अंशका रुपमा प्रस्तुत गरिएको छ ।
महारानी जिन्द कौरले मिर्जापुरस्थित चुनार किल्लाको जेलबाट भाग्ने क्रममा एउटा पत्र लेखेको मानिन्छ । जिन्द कौरलाई सुरुमा लाहोर जेलमा राखिएको थियो । त्यसपछि शेखुपुरा जेलमा कैदी बनाएर पन्जाबबाट उत्तर प्रदेश पठाइएको थियो ।
जिन्द कौर महाराज रणजीत सिंहकी कान्छी रानी थिइन् । रणजीत सिंहका धेरै रानी थिए । तर, जिन्दले महारानीको उपाधि पाएकी थिइन् । रणजीत सिंहको मृत्युपछि सिख राज्य कब्जा गर्ने र पन्जाबलाई अधीनमा राख्ने ब्रिटिश शासकहरूको प्रयासको कडा प्रतिरोध गरिन् ।
रानी जिन्द कौरको जीवनमा आधारित रहेर निर्माण गरिएको ‘बागी रानी’ वृत्तचित्र निर्माण गरेका प्रख्यात निर्माता माइकल सिंहले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्: “महारानी जिन्दले आफ्ना छोरा दलीप सिंहलाई मात्र जोगाइनन्, पन्जाबको सिंहासन प्राप्त गर्न सिंहिनीले जस्तै लडेकी थिइन् ।”
अङ्ग्रेजसँग लड्ने सङ्कल्प


चित्रा बनर्जीले आफ्नो पुस्तकमा लेखेअनुसार प्रथम अङ्ग्रेज-सिख युद्धमा पराजय भोगेपछि लाहोरमा खालसा दरबारको काम रोकिएको थियो । त्यसैले युद्धबाट निराश र दुःखी सेनापतिहरूको प्रतिनिधिमण्डल दीवान-ए-आम (दरबारमा राजाले सर्वसाधारण र भारदारहरूसँग राजकाजका विषयमा बैठक गर्नका लागि निर्धारित विशेष कक्ष) पुग्यो ।
उनीहरूले भने, “हामीले तपाईंको लागि ज्यान जोखिममा राखेका छौँ । हामी तपाईंलाई भेट्न चाहन्छौँ ।” त्यस बेला रणजीत सिंहका कान्छा छोरा दलीप सिंह राजगद्दीमा बसेका थिए । तर, उनको उमेर पाँच वर्ष मात्र थियो । त्यहाँको अवस्था देखेर उनी निकै डराएका थिए । तर, महारानी जिन्द कौरले उनलाई सम्हालिन् ।
उनले पर्दा पछाडिबाट ती मानिसहरूलाई भनिन्, “तपाईंहरू मेरो लुगा लगाउनुहोस् र मलाई आफ्नो लुगा दिनुहोस् । तपाईं दरबारमा बस्नुहोस् र म तपाईंहरूको ठाउँमा युद्धमा जान्छु र एक सच्चा खालसा सिपाहीले जस्तै प्राण अर्पण गर्छु ।”
महारानीको यो चुनौतीले युद्धमा पराजित मानिसहरूमा फेरि आत्मबल भरियो । विद्रोहको मनस्थितिमा रहेकाहरूले आफ्नो धारणा फेरे । त्यतिखेर एक जनाले भनेका थिए, “हामी लड्छौँ । मर्न को डराउँछ र ? बलिदानको समय आउँदा ज्यान दिन्छौँ । महाराजका लागि, हाम्रो पन्जाबका लागि र हाम्री आमाका लागि ।”
भारत सरकारको ‘स्वतन्त्रताको अमृत महोत्सव’ वेबसाइटमा जिन्दलाई “गुमनाम नायक”मध्ये एक भनेर उल्लेख गरिएको छ । उक्त वेबसाइटमा राखिएको विवरणअनुसार “महारानी जिन्द कौर सन् १८४३ देखि सन् १८४६ सम्म सिख साम्राज्यकी अन्तिम रानी थिइन् । उनी सिख साम्राज्यका प्रथम महाराजा रणजीत सिंहकी कान्छी पत्नी र अन्तिम महाराजा दलीप सिंहकी आमा थिइन् । अन्य सिखहरूजस्तै उनले दुईवटा कुरा मात्र सिकिन् – शासन गर्ने वा विद्रोह गर्ने ।”
रानी जिन्दां समेत भनेर चिनिने महारानी जिन्द कौर सुरुमा रणजीत सिंहकी पत्नीको रूपमा चिनिन्छिन् । तर, अन्ततः उनी रानी र सिख राज्यको सार्वभौमिकताका लागि लड्ने ‘आमा’ बनिन् । कैयौँ इतिहासकारहरूले समेत उनलाई आफ्ना लेखमा ‘रानी माई’ वा ‘रानी आमा’ भनेर लेखेका छन् । तर, भारतमा रहेको ब्रिटिश शासनले उनलाई ‘पन्जाबकी मेसालिना’ भनेर प्रचार गर्यो ।
यद्यपि, भारत सरकारको वेबसाइटको आधिकारिक जानकारीले जिन्द कौर र रोमन सम्राज्ञी भालेरिया मेसालिनाबीच धेरै समानता नभएको दाबी गरेको छ । चित्रा बनर्जीले आफ्नो पुस्तक ‘द लास्ट क्वीन’ मा जिन्दांले भनेको एक कथनलाई समेत उद्धृत गरेकी छन्: “अङ्ग्रेजहरूले मलाई ‘पन्जाब दी मेसालिना’ भन्नुपछाडि गुलाब सिंहको षड्यन्त्र छ ।”
रोमकी रानी मेसालिना आफ्नो साम्राज्य पुनः स्थापित गर्ने योजना बनाउन र आफ्नो उदारताका लागि प्रसिद्ध थिइन् । अमृत महोत्सव वेबसाइटमा लेखिएको छ, “अङ्ग्रेजहरूले जिन्द कौरलाई उनको छविलाई कलङ्कित गर्न र पन्जाबमा शासन गर्नेलाई बदनाम गर्न मेसालिनासँग तुलना गरे ।”
जिन्दले जब पन्जाबको नेतृत्व गरिन्


पृथ्वीपाल सिंह कपूरले ‘द मेजर करेन्ट्स अफ द फ्रीडम स्ट्रगल इन पन्जाब’ नामक पुस्तकमा लेखेअनुसार रणजीत सिंहले जिन्द कौरको अद्वितीय सौन्दर्य र धार्मिक स्वभावका कारण उनीसँग विवाह गरेका थिए । कान्छा छोरा दलीप सिंह जन्मिएको १० महिनापछि महाराज दलीप सिंहको मृत्यु भयो ।
रणजीत सिंहका जेठा छोरा खडक सिंह, नाति नौनिहाल सिंह, महाराजा शेर सिंह, कम्बरप्रताप सिंह र राजा ध्यान सिंहको हत्यापछि रानी जिन्द कौरका पाँचवर्षे छोरा दलीप सिंहलाई महाराजा बनाइएको थियो र जिन्द कौर उनकी संरक्षक बनिन् । कपूर लेख्छन्, “जिन्द कौर संरक्षक बनेपछि राज्यभित्र र बाहिरबाट कडा विरोधको सामना गर्नुपरेको थियो ।”
त्यसरी विरोध गर्नेमध्ये ब्रिटिश सरकार पनि थियो । अर्को चाहिँ रानीविरुद्ध षड्यन्त्र गर्ने दरबारियाहरू थिए । तर, रानीले न दलीप सिंहको शासनकालमा लाहोरमा ब्रिटिश सेना तैनाथ गर्न स्वीकृति दिइन् न त वैरोवालको सन्धिको मस्यौदालाई स्वीकृत गरिन् ।
शिरोमणि समितिद्वारा प्रकाशित पुस्तक “प्रख्यात सिख व्यक्तित्वहरू” मा जिन्द कौरका बारेमा सिमरन कौर लेख्छिन्, “पहिलो अङ्ग्रेज-सिख युद्धपछि सन् १८४९ को १५ डिसेम्बरमा लाहोरमा सर्तहरू निर्धारण गर्नका लागि वार्ता हुँदा दिवान दीनानाथको विचार सन्धि गर्नुअघि रानीसँग पनि परामर्श लिनुपर्छ भन्ने थियो । अनि फ्रेडरिक क्युरीले भनेका थिए – गभर्नर जेनरलले रानीको होइन, सरदार र सिख राज्यका स्तम्भहरूको राय खोज्छन् ।”


खोप लगाउन नमानेपछि जेल
रानी जिन्द कौर राज्यभित्र र बाहिर भइरहेका षड्यन्त्रको कडा प्रतिवाद गर्दै थिइन्। उनलाई सर्वसाधारण जनताको पूर्ण समर्थन थियो । अङ्ग्रेजहरूले तेज सिंहलाई मन्त्रीको पद दिए र उनलाई बालक महाराज दलीप सिंहलाई खोप लगाइदिन अह्राए । तर, महाराजले आमाको आज्ञाअनुसार खोप लगाउन अस्वीकार गरे । त्यसपछि रानी र दलीप सिंहलाई शाही किल्लामा कैद गरियो ।
“पन्जाबका गभर्नर हेनरी लरेन्स र उनका भारदारहरूले नयाँ प्रशासनबाट रानीलाई हटाउने योजना बनाए,” पृथ्वीपाल सिंह कपूर लेख्छन् । “त्यस बेला रानीलाई शाही किल्लाको एउटा टावरमा कैदीको रूपमा राखिएको थियो ।”
लामो समयदेखि खालसा दरबारको विपक्षी रहेका अफगान शासक दोस्त मुहम्मदलाई पठाइएको एउटा पत्रलाई उद्धृत गर्दै सिमरन कौर लेख्छिन्: “रानीलाई यति धेरै उत्पीडन गरियो कि उनलाई पानी समेत दिइएन, उनको खानतलासी गरियो । अङ्ग्रेज सरकारले उनलाई नदिएको कुनै यातना छैन ।”


विद्रोहका लागि प्रेरणा
महारानी जिन्दले खालसा दरबारका समर्थक र सहानुभूति राख्नेहरूलाई आफूले बेहोरेको सकसबारे जानकारी गराउन पत्र लेखिरहेकी थिइन् । यसले जनतामा गहिरो प्रभाव पारेको थियो र त्यसै कारण अङ्ग्रेजहरूले रानीलाई लाहोरबाट बाहिर पठाए ।
उनलाई दलीप सिंहबाट छुट्ट्याउन शेखुपुरा जेलमा राखिएको थियो। त्यहाँ उनीसँग सामान्य कैदीलाई जस्तै व्यवहार गरियो । तर, त्यहाँ उनका एक सहायक थिए । उनको नाम माही थियो । उनलाई खालसा दरबारप्रति निष्ठावान् गुप्तचर अवतारले जागिर दिएर पठाएका थिए ।
जिन्दले आफूसँग भएको ज्यादतीबारे चिठी लेखेर सार्वजनिक गरेकी थिइन् । त्यसपछि पन्जाबमा अङ्ग्रेजविरुद्ध विद्रोह भयो । राजमातालाई अपमानित गरिएको देखेर खालसा दरबार क्रोधित थियो ।
चित्रा बनर्जी लेख्छिन्, “मुल्तानमा विद्रोह गर्न अरू राज्यलाई उक्साउँदै शेर सिंह अटारीवाला र उनका बुबा चतर सिंहले सेना बनाए अनि रामनगरमा अङ्ग्रेजहरूमाथि आक्रमण गरे। दोस्त मुहम्मदले आफ्ना छोराको नेतृत्वमा अफगान घोडचढीको एउटा फौज सहयोगका लागि पठाए ।”
पन्जाबले आफ्नो स्वतन्त्रता फिर्ता पाउने देखियो । तर, अङ्ग्रेजहरूले भारतभरिबाट सैनिक परिचालन गरेकाले र जम्मुका राजा गुलाब सिंहले फेरि विश्वासघात गरेकाले त्यो विजय सम्भव भएन ।
सिख सेनाले वीरतापूर्वक लड्यो । शेर सिंहका तीन घोडा लडाइँमा मारिए, सेनाको हतियार सकियो र अन्ततः अटारीवालाले आत्मसमर्पण गर्नुपर्यो । भाइ महाराज सिंहजस्ता धार्मिक नेताहरू पनि विद्रोहमा सहभागी भएको मानिसहरू ठान्छन् ।
यसमा हेनरी लरेन्स र तेज सिंहको हत्या गर्ने षड्यन्त्र पनि समावेश थियो । तर, गोप्य सूचना चुहिएका कारण त्यो योजना पूरा हुन सकेन । कपूरले लेखेका छन्, “पन्जाबमा अङ्ग्रेजहरूविरुद्धको प्रारम्भिक विद्रोहमा महारानी जिन्दको मस्तिष्क थियो योजना थियो भने भाइ महाराज सिंह त्यो लडाइँका आत्मा थिए । त्यस बेला ब्रिटिश सरकारले भाइ महाराज सिंहलाई गिरफ्तार गर्नको लागि उनको टाउकोको मूल्य एक लाख रुपैयाँ तोकेको थियो ।”


स्वतन्त्रताको पहिलो लडाइँ?
वरिष्ठ पत्रकार जगतार सिंह र गुरदर्शन सिंह बहियाले आफ्नो पुस्तक “कालापानी” मा पन्जाब वा पन्जाबसँग सम्बन्धित स्वतन्त्रता आन्दोलनको उल्लेख गरेका छन् । लेखकहरूले भाइ महाराज सिंहको नेतृत्वमा ब्रिटिश शासनविरुद्धको विद्रोहलाई जिन्द कौरको प्रयासमा भारतको स्वतन्त्रताको पहिलो सङ्घर्ष मान्छन् ।
उनीहरूले धेरै इतिहासकारहरूलाई उद्धृत गर्दै सन् १८४९ मा ब्रिटिश शासनविरुद्ध लडिएको युद्धलाई वर्तमान भारत, पाकिस्तान र बाङ्ग्लादेशको स्वतन्त्रताको पहिलो युद्ध भनेका छन् ।
“सन् १८५७ को विद्रोहलाई पहिलो स्वतन्त्रता सङ्ग्राम मान्नु बहसको विषय हो । पन्जाबसँग सम्बन्धित इतिहासकारहरूले सन्तोषजनक रूपमा दोस्रो अङ्ग्रेज-सिख युद्ध (सन् १८४९) लाई पहिलो स्वतन्त्रता सङ्ग्राम मानेका छन्।”
तर पन्जाबी र सिख इतिहासकारहरूको यो विचारलाई भारतमा राष्ट्रिय स्तरमा मान्यता दिइएको छैन् । भारतमा सन् १८५७ को विद्रोहलाई भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम भनिन्छ ।
भागेर नेपाल गइन्


जिन्द कौर साधवीको भेषमा चुनार जेलबाट भागेर शरण लिन नेपाल पुगिन् । नेपाल कहिल्यै ब्रिटिश साम्राज्यको उपनिवेश भएन । नेपालका तात्कालिक प्रधानमन्त्री जङ्गबहादुरले उनलाई आश्रय दिए । त्यसले भारत सरकारका लागि अप्ठ्यारो अवस्था उत्पन्न भयो ।
पृथ्वीपाल सिंह कपूरले लेखेका छन्: “नेपालमा बस्दा महारानी जिन्द कौरले पन्जाबका विद्रोही र इलाहाबादमा रहेका राजनीतिक बन्दीहरूसँग सम्पर्क गरिन् । उनी पन्जाबमा ब्रिटिश शक्तिलाई ध्वस्त पार्न चाहन्थिन् । उनले सबै सम्भावनाको फाइदा उठाउने प्रयास गरिन्, तर भाग्यले उनलाई साथ दिएन ।”
उनले नेपालबाट दलीप सिंहलाई पनि सम्पर्क गर्ने प्रयास गरिन् । त्यतिन्जेलसम्म रानीको जङ्गबहादुरसँगको सम्बन्ध बिग्रिएको थियो । उनको आँखाको ज्योति पनि कम हुँदै गएको थियो । अमृतसर र पटनामा रहेका आफ्ना चरहरूमार्फत् उनी दलीप सिंहसँग सम्पर्क स्थापित गर्न सफल भइन् ।
कपूरकाअनुसार, “सन् १८५७ को विद्रोह हुँदा जिन्द कौरले पन्जाबमा ब्रिटिश विद्रोहीहरूलाई पत्र लेखिन् अनि बनारस र इलाहाबादमा भारतीय रेजिमेन्टका कमान्डरहरूलाई सम्पर्क गर्दै ब्रिटिशहरूसँग भारतमा लड्न पर्याप्त सैनिकहरू नरहेको बताइन् । “
जिन्द कौरको ब्रिटिशविरोधी गतिविधिहरूबाट दिक्क ब्रिटिश शासकहरूले दलीप सिंहलाई अन्ततः सन् १८६० मा आफ्नी आमालाई इङ्ग्ल्यान्ड लैजाने अनुमति दिए । त्यस बेलासम्म दलीप सिंह पूर्णतः ब्रिटिश शैलीमा घुलमिल भइसकेका थिए ।
दलीप सिंहमा आएको परिवर्तन


ऐतिहासिक स्रोतहरूकाअनुसार आमा र छोरा (जिन्द र दलीप सिंह) को भेट सन् १८६१ को एप्रिलमा भयो । तर, दलीप सिंहले कपाल काटेको देखेपछि रानी निराश भइन् । सिमरन कौरले लेखेअनुसार आमा जिन्दले छोरालाई भेट्दा उनीहरूबीच तीन कुरा भए ।
सिमरन कौरले आफ्नो लेखमा जिन्दको प्रेरणामा दलीप सिंह फेरि सिख बने र अमृतपान गरे भन्ने दाबी गरेकी छिन् । इङ्ग्ल्यान्ड आए पनि दलीप सिंहलाई आमासँग भेट्न दिइँदैन थियो । यसैबीच जिन्द कौरको स्वास्थ्य बिग्रिँदै गयो ।
त्यसैले, दलीप सिंहले रानीलाई योर्कशरस्थित मल्ग्रेभ काशलमा ल्याउन प्रशासनसँग अनुमति मागे । उनले यो महल लर्ड नर्मन्डीसँग भाडामा लिएका थिए र उनले आफ्नी आमालाई त्यहाँ ल्याउने अनुमति पाए । त्यहाँ जिन्द कौरले सिख राज्यसँग भएका विश्वासघातका कथाहरू छोरालाई सुनाउने अवसर पाइन् ।
उनले आफ्ना छोरालाई ब्रिटिश भूमिमा आफ्नो अन्तिम संस्कार नगरियोस् भनेर निर्देशन दिइन् । सन् १८६३ मा इङ्ग्ल्यान्डमा उनको मृत्यु भयो । आमाको इच्छानुसार दलीप सिंह उनको शव लिएर भारत फर्किए । तर, सरकारले उनलाई पन्जाब जाने अनुमति दिएन ।
त्यसैले उनको अन्तिम संस्कार नासिकको गोदावरी नदीको किनारमा गरियो । त्यहाँ एउटा सानो समाधिस्थल पनि निर्माण गरियो । पछि दलीप सिंहकी छोरी राजकुमारी बम्बाले त्यहाँबाट आफ्नी हजुरआमाको अस्थि निकालेर उनका पति रणजीत सिंहको समाधिमा राख्न लगिन् । जिन्द कौरको समाधि पहिले मुम्बई र पछि लाहोरमा बनाइएको भए पनि पन्जाबको इतिहासमा उनी एक महत्त्वपूर्ण पात्र हुन् । उनलाई सधैँ एक नायिकाका रुपमा स्मरण गरिन्छ । बीबीसीबाट




























































Discussion about this post