ससाह । मुक्तिनाथ अधिकारीको पहिलो स्मृति दिवस उनको निवासमा जीवनीमा आधारित वृत्तचित्र र स्मृति ग्रन्थ सार्वजनिक गरेर मनाइएको छ । आफू नपढेर पनि मैधीबासीका लागि विश्वविद्यालय जस्तो उँचो नाम बनाउन सफल अधिकारीको पहिलो स्मृति दिवसमा मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ८५ विषयहरू समावेश गरिएको पुस्तक तथा ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको हो ।
तत्कालीन मैधी गाउँ पञ्चायतमा वि.सं. १९८७ साल असोज १५ गते जन्मिएका अधिकारीको ७ वर्षको उमेरमा व्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्द कुमारीसँग विवाह भएको थियो । आफू २७ वर्षको हुँदा पत्नी नन्द कुमारीको निधन भएपछि एक कुमारीसँग दोस्रो विवाह गर्न बाध्य भए । उनको ५ छोरा ५ छोरी छन् ।
अधिकारीको थातथलो सिरुवानीबाट मैधी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अहिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रको उच्च ओहदामा समेत पुगेका छन् । बाँचुन्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गरेका अधिकारी वि.सं. २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।
आफूले औपचारिक शिक्षा नपाए पनि गाउँमा विद्यालय नभएकोले वि.सं. २०२१ सालमा शमीभञ्ज्याङमा प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथि पढ्नका लागि छोराछोरीले गाउँ नै छोड्नुपर्ने अवस्था रहेकाले माथिल्लो तहको विद्यालय खोल्ने उनको चाहना बमोजिम शमीभज्याङ निमावि, माध्यमिक, उच्च माविसम्म स्थापना गरेकोले पनि जिल्लामा शिक्षासेवी भनेर अधिकारीलाई चिनिन्छ ।
अधिकारीको पहलमा ठुलोचौर प्रावि मैधी अमरावती प्रावि मैधी र देउराली प्रावि ससाह लगायतको विद्यालय स्थापना भएको पाइन्छ ।
गुठी बिर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ अधिकारीको जीवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ । मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गरेका थिए । सीताराम अधिकारीले लेखन, निर्देशन गरेको वृत्तचित्रकोमा सामाजिक अगुवाहरूको भनाइहरू समेत समावेश छ ।
सोही अवसरमा मुक्तिनाथ स्मृतिग्रन्थको विमोचन समेत गरिएको छ । प्राज्ञ नरनाथ लुइँटेल, डा. रामहरि शर्मा लम्साल, लेखनाथ अर्यालको अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुङ्गाना, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै लगायतले मुक्तिनाथ अधिकारीको विविध आयाम र योगदानमाथि चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताए ।



























































Discussion about this post