बाजुरा: समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडिमालिका धार्मिक रोपमा महत्त्वपूर्ण त छँदै छ त्यस्तै प्राकृतिक सुन्दरताको हिसाबले पनि अनुपम मानिन्छ । अपि र साइपाललगायतका हिमश्रृंखला नियाल्न सकिने उचाइमा रहेको बडिमालिका सुदूरपश्चिममा रहेका सात बहिनी देवी भनेर चिनिने शक्तिपीठ मध्ये जेठी शक्तिपीठको रूपमा रहेको छ । सुदूरपश्चिमका सात बहिनी देवीको रूपमा डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बाजुराको बडिमालिका, बैतडीका निंगलाशैनी, त्रिपुरा सुन्दरी, डिलाशैनी र मेलौली भगवती पुजिन्छन् ।
बडिमालिका बाजुराको जिल्लाको त्रिवेणी नगरपालिकामा अवस्थित छ । त्रिवेणीपाटन वरपरका थुम्काहरूमध्ये सबैभन्दा पश्चिमपट्टिकाे थुम्कामा बडीमालिका मन्दिर रहेको छ। जहाँ जनैपूर्णिमामा धुमधामसँग मेला लाग्ने गर्छ । जनै पूर्णिमाकै बेला त्यहाँ पुग्न सके कर्णाली र सुदूरपश्चिमका फरक लाग्ने बाेली र संस्कृतिसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न पाइन्छ । मालिकाभन्दा मुन्तिर नाट्यश्वरीमा भने सयौंको बलि चढ्छ ।
जनैपूर्णिमामा विभिन्न जिल्लाका आन्तरिक पर्यटन लगायत भारतको कुमाउ गढवालदेखि समेत तीर्थालु आउने गर्छन् । बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ । रोगव्याध नाश हुन्छ र पदोन्नति हुने विश्वास छ । शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै पूजा गरिन्छ । मालिकाको पूर्वमा अवस्थित त्रिवेणीमा दुइटा खोला छन्, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ । अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास छ ।
हेरौं किंवदन्ती
जब महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान विष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी पर्वतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ, यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।
कहिले घुम्ने ?
बडिमालिका असोजदेखि मंसिर र चैतदेखि भदौसम्म घुम्न सकिन्छ ।
कसरी पुग्न सकिन्छ ?
राजधानी काठमाडौं वा जुनसूकै ठाउँबाट पनि बडिमालिका पुग्न सुरुमा धनगढी पुग्नुपर्छ । कैलालीको धनगढी पुग्न काठमाडौंदेखि बस वा विमानबाट सोझै पुगिन्छ । धनगढीबाट बस, माइक्रो वा आफ्नो रिजर्ब गाडी गरेर बाजुराको राजधानी मार्तडी पुग्नुपर्छ । यो करिब एक दिनको यात्रा हो ।
पहिलो रात मार्तडी अथवा बाम्का बजारमा बास बस्न सकिन्छ । दोस्रो दिन शुरु हुन्छ, पैदल यात्रा । बाम्का बजार भएर गए विस्तारै हिँड्ने मान्छे दोस्रो रात लादे पाटन वा सोता पुग्छ । तेस्रो रात त्रिवेणी । चौथौ रात बडिमालिका । बडिमालिकाबाट विष्णु पानी, चनकेली, फिरफिरेको अग्लो डाँडा हुँदै, लिस्ने गौडी, बुढी माइको थान । त्यहाँबाट धर्म घर, बल्ले ढिक्कुरा, ठूला गडा, धौलपुरी दहबाट पाचौँ दिन नाट्येश्वरी । छैटौं दिन नाट्येश्वरी दर्शनपछि दीपायल । सातौँ दिन धनगढी ।
त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा भएका कारण कोर्ध भएर जान बेस हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि आउँछ, सोता । मेलाको समयमा सोतामा चिया खाजाको व्यवस्था हुन्छ । चिया खाएपछि शुरु हुन्छ, उकालो । झण्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन । आधा घण्टा लामो पाटन क्षेत्र पार गरेपछि झण्डै एक घण्टाको ओरालो । फेरि एक घण्टाको उकालो । त्यसपछि भितो चिर्ना । त्यहाँबाट झण्डै अढाई घण्टामा त्रिवेणी । त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिँड्ने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्छ । बडिमालिकामा त्रयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तिर्थालुहरू नाट्येश्वरीमा जनै पूर्णिमामा लाग्ने मेला भर्न हिँड्छन् ।
कति दिन र खर्च छुट्याउने ?
बडिमालिका पुग्न कम्तीमा एक हप्ताको समय र कम्तीमा बीस हजार पैसाको जोहो गर्नुपर्ने हुन्छ ।
के के लैजाने ?
होटल तथा आवास सुविधा नपुगेको स्थानमा कम्तीमा तीन दिन बास बस्नुपर्ने भएकाले न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, रेनकोर्ट, टर्च लाइट, तयारी खाना, औषधि आफैँले बोक्नुपर्छ । त्यसैगरी भरीया र पथप्रदर्शकको पनि आवश्यकता पर्दछ ।
दलितहरू जाँदैनन् बडिमालिका
परापूर्वकालमा भगवतीको र महिषासुर दैत्यबिच घमासान युद्ध भयो । अन्त्यमा महिषासुरको वध गरीसकेपछि कालिकोटको ‘द्वारेढुङ्गा’ भन्ने ठाउँमा भगवतीले विश्राम गरिरहेकी थिइन् । त्यही बेला द्वारेढुङ्गामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी मागेछन् ।
देवीले सो दलितको मनोरथ पुरा गरी दिइन् । दलितले पुरै बहरलाई एक्लै खान नसकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाउन थाल्यो । उसको घर टाढा भएका कारण कसैले उसले बोलाएको सुनेनछन् । त्यसपछि दलितलाई रिस उठ्यो, उसले भगवतीलाई भन्यो, ‘हे ! परमेश्वरी मेरा घरका सबै मान्छे मरुन् ।”
देवीले उनको त्यो इच्छा पनि पूरा गरिदिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरी दलित रिसाएर द्वारेढुङ्गा पुग्यो । देवी उसलाई त्यहाँ देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारेढुङ्गामा स्पष्ट रूपमा देखिन्छ ।
त्यस दिनपछि देवी सधैँको लागी त्यो ठाउँ छोडेर त्रिवेणि, पन्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडिमालिकामा गएर बसिन्। त्यसैले दलितहरू बडिमालिका आजसम्म पनि जाँदैनन् । कालिकोटबाट बडिमालिका जाने भक्तजनहरू जुन बाटो देवी गएकी हुन्, त्यही बाटो भएर जान्छन् ।




























































Discussion about this post