काठमाडौं, साउन १९ — भारतको अग्रणी थिंक ट्याङ्क Observer Research Foundation (ORF) को आयोजनामा सुरु भएको ‘नेपाल यंग लिडर्स डेलिगेशन – तेस्रो समूह’ कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दलका युवा नेताहरूको सहभागिता रहेको छ। साउन १९ गतेदेखि सुरु भएको यो कार्यक्रम साउन २८ गतेसम्म (अगस्ट ४–१२, २०२५) सञ्चालन हुनेछ।


कार्यक्रममा सहभागी नेकपा एमालेका वन तथा वातावरण विभाग प्रमुख भारती पाठकका अनुसार, परराष्ट्र नीति, भारतको नीति निर्माण प्रक्रिया, जनसरोकारका कानूनी अभ्यासहरू, सञ्चार नीतिमा प्रविधिको उपयोग, र डिजिटल सुरक्षाजस्ता समसामयिक विषयमा गहिरो छलफल भएको छ। उनले भनिन्, “भारतले ल्यापटप, ड्रोन जस्ता प्रविधिमा गरेको प्रगति र त्यसबाट नेपालले सिक्न सक्ने पक्षबारे पनि विस्तृत सम्वाद भयो।”
छलफलमा साइबर अपराध, डिजिटल संप्रभुता, र कृत्रिम बौद्धिकता (AI) लगायतका विषयमा पनि प्रतिनिधिहरूबीच गम्भीर विमर्श भएको थियो। नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूमाथि समेत छलफल गरिएको पाठकले जानकारी दिइन्।


ORF का अनुसार, नेपाल–भारत सम्बन्ध पछिल्ला दुई दशकमा स्थिर रूपमा गहिरिँदै गएको छ। दुवै देश अहिले व्यापार, लगानी, ऊर्जा सहकार्य, र जनस्तरको सम्वादमा थप ध्यान केन्द्रित गरिरहेका छन्। यही दृष्टिकोणअनुसार आयोजना गरिएको यो कार्यक्रमले नेपाली युवा नेताहरूलाई भारतको नीतिगत रूपान्तरण, सामाजिक विकास र कूटनीतिक अभ्यासबारे प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर दिएको हो।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, रास्वपा लगायत दलका युवा प्रतिनिधिहरू सहभागी छन्। अध्ययन भ्रमण र सम्वादमार्फत उनीहरूले भारतीय नीति, समाज र नेतृत्व प्रणालीलाई बुझ्ने प्रयास गरिरहेका छन्।
यसैबीच, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि चाँडै भारत भ्रमणमा जाने तयारीमा छन्। यस भ्रमणले दुई देशबीचको उच्चस्तरीय राजनीतिक सम्वादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





























































Discussion about this post