काठमाडौं: नेपालले दिगो पूर्वाधार निर्माणमा नयाँ इतिहास रच्दै ‘जियोमाण्डु २०२४: दिगो पूर्वाधारका लागि भू-प्राविधिक इन्जिनियरिङ’ सम्मेलनको सफल आयोजना गरेको छ।
नेपाल जिओटेक्निकल सोसायटीद्वारा मङ्सिर १३ र १४ गते काठमाडौंको र्याडिसन होटेलमा सम्पन्न कार्यक्रममा २२ देशका १५० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ५०० भन्दा बढी सहभागी उपस्थित थिए।


उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन समारोहमा नेपालका युवा इन्जिनियर र भूवैज्ञानिकलाई विश्वका विज्ञहरूसँग सिक्ने अवसर प्रदान गरेको बताउँदै यो सम्मेलनलाई ‘नेपालको दिगो विकासतर्फको ऐतिहासिक पाइला’ रहेको बताए।
सम्मेलन अघि, मङ्सिर ३ मा पुल्चोक क्याम्पसमा आयोजित भू-प्राविधिक मोडेल प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका टोलीहरू सहभागी भए।


१० इन्जिनियरिङ कलेजका १२ टोलीहरूले नेपालको पूर्वाधार क्षेत्रका समस्याहरूलाई नवीन र प्राविधिकरूपमा सशक्त समाधान सहित प्रस्तुत गरे, जसले विद्यार्थीहरूको सृजनशीलता र प्राविधिक क्षमतालाई उजागर गर्न मद्दत पुगेको आयोजकको दाबी छ। यस कार्यक्रममा ६ सय भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, मङ्सिर १० देखि १२ सम्म ललितपुरमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन कार्यशाला’ नेपाल जिओटेक्निकल सोसायटी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, र बीजीसी इन्जिनियरिङ, क्यानडाको संयुक्त आयोजनामा सम्पन्न भयो।
यस कार्यशालामा नेपाल, क्यानडा, अमेरिका र भारतका विपद् तथा पूर्वाधार विज्ञहरूले ७० भन्दा बढी सहभागीहरूलाई विपद् प्रतिरोधात्मक पूर्वाधार निर्माणका विषयमा कार्यशाला प्रस्तुति दिएका थिए।
भूप्रविधी सम्बन्धि इन्जिनियर तथा भूवैज्ञानिकको अन्तर्राष्ट्रिय संस्था आईएसएसएमजीईका अध्यक्ष डा. मार्क बलूजले नेपालको यो पहललाई प्रशंसा गर्दै भने, “यो सम्मेलनले भू-प्राविधिक इन्जिनियरिङमा नेपालको नेतृत्वलाई प्रमाणित गरेको छ।”
सम्मेलनमा १६ प्रमुख वक्तव्य, १७ विशिष्ट प्रस्तुति, ९१ मौखिक प्रस्तुति, र ३६ पोस्टर प्रस्तुतिहरू समावेश गरिएका थिए, जसले भू प्राविधिक इन्जिनियरिङका नवीनतम अभ्यास र नेपालका भूवैज्ञानिक चुनौतीहरूको समाधानलाई केन्द्रमा राखेको थियो।


सम्मेलनको एउटा अर्को उपलब्धि भनेको नेपाल, भारत, र पाकिस्तानका भू-प्राविधिक संस्थाहरूबिच भएको सम्झौतासँगै दक्षिण एशियाली भू-प्राविधिक समाजको गठन हो। यस सम्झौताले दक्षिण एशियामा साझा प्राविधिक-इन्जिनियरिङ समस्यालाई बुझ्दै अनुसन्धान र ज्ञानको आदानप्रदान सँगै साझा समाधानको नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सम्झौता हस्ताक्षर समारोहमा तीनै देशका नेतृत्वकर्ताको उपस्थिति रहेको थियो।


सम्मेलनका सबै अनुसन्धान पत्रहरू स्कोपस इन्डेक्स्ड अन्तर्राष्ट्रिय जर्नल- स्प्रिङ्गरमा प्रकाशित गरिनेछन्, जसले नेपालको प्राविधिक र शैक्षिक योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्याउनेछ।
सम्मेलनका प्राविधिक समन्वयकर्ता डा. ढुन्डिराज पाठकले भने, “यस विस्तृत अनुसन्धानको प्रकाशनले नेपालको शैक्षिक र प्राविधिक क्षमतालाई प्रदर्शन गर्नेछ।” साथै, सम्मेलनबाट संकलित मुख्य निष्कर्षहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, र अन्य सम्बन्धित सरकारी निकायहरूमा प्रतिवेदन मार्फत प्रस्तुत गरिने उनले बताए।
सम्मेलनका अध्यक्ष प्रा. डा. नेत्र प्रकाश भण्डारीले भने, “जियोमाण्डु २०२४ ले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइमा पुर्याउँदै, हाम्रा युवा इन्जिनियर र वैज्ञानिकहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गरेको छ।”
सम्मेलनको सचिवालय हेरिरहेका संस्थाका कोषाध्यक्ष इ. राजन केसीले भने, “यो सम्मेलन वरिष्ठ-विज्ञ इन्जिनियर तथा वैज्ञानिक र युवा इन्जिनियरहरूको उत्कृष्ट सम्मिश्रण हो। विज्ञहरूले अमूल्य अनुभव प्रदान गर्दा, युवाहरूले कार्यक्रमको सफलतामा सक्रिय रूपमा संलग्नता देखाएका छन्।”
सम्मेलन पछिको प्राविधिक भ्रमणमा सहभागीहरूले रोशी बाढी प्रभावित क्षेत्र, ऐतिहासिक पनौती, र भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए। यसले प्राविधिक ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएको थियो।
सम्मेलनका संयोजक डा. मन्दिप सुवेदीले भने, “जियोमाण्डु २०२४ ले नेपाललाई भू-प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय नेतृत्व दिन प्रेरित गर्दै, दिगो विकासका लागि नवीन समाधान पहिचानका लागि बाटो तय गरेको छ।”
यो सम्मेलनले नेपालको दिगो विकासको यात्रालाई थप सबल बनाउँदै, नीति निर्माण र परियोजनामा प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ।


सम्मेलनको समापन समारोहका प्रमुख अतिथि गृहमन्त्री माननीय रमेश लेखकले नेपालको भौगोलिक जटिलता र बारम्बार आउने प्राकृतिक विपद्हरूलाई सम्बोधन गर्न दिगो पूर्वाधारको निर्माण आवश्यक रहेको बताए। उनले भने, “जियोमाण्डु २०२४ जस्ता सम्मेलनहरूले नेपालका भू-प्राविधिक चुनौतीहरूको समाधानमा ठोस नीति निर्माण र क्रियान्वयनमा सहयोग पुर्याउनेछन्। सरकार दिगो र सुरक्षित पूर्वाधार निर्माणका लागि प्रतिबद्ध छ।”
समापन समारोहमा मन्त्री लेखकले सम्मेलनका महत्त्वपूर्ण निष्कर्षहरूलाई नीतिगत रूपान्तरणमा समाहित गरिने प्रतिबद्धता व्यक्त गरे।



























































Discussion about this post