काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को ४५ औँ साधारण सभा आज सम्पन्न गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल एवं प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी, एशोसियशनका अध्यक्ष निलहरि बास्तोला, टानको संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठ, टानका पूर्वअध्यक्ष रमेश धमला, खुमबहादुर सुवेदी लगायत एवं टान मातहातका विभिन्न क्षेत्रीय संस्थाका प्रतिनिधि एवं व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
टान ४५ औँ वर्षमा प्रवेश गरेकोमा सुभकामना व्यक्त गर्दै मन्त्री किरातीले नेपालको पर्यटन ‘संस्कृति र प्रकृति’ केन्द्रित रहेको बताउँदै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताए । “नेपालको पर्यटन क्षेत्रलाई बाह्रै महिना चलायमान बनाउन सकिन्छ । हामीले बर्खायामलाई अफसिजन भन्ने गरेका छौँ, तर कति यस्ता पर्यटकहरू होलान् जसलाई हाम्रा पहाडमा उक्लिएर बादल हेर्ने मन होला, हुस्सु/कुहिरोको लुकामारी देख्ने मन होला, बर्खायाममा बढेका झरनासँग सेल्फी खिच्ने मन होला”, उनले भने, “यसकारण बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिन सक्छ ।”
मन्त्री किराँतीले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा समेत राखे । ‘नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ’, उनले भने । पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।


यसैगरि, राज्यमन्त्री ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानप्रति सरकार प्रतिबद्ध रहेको बताइन् । ‘सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ’, उनले भनिन् । उनले पर्यटन क्षेत्रसम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरिन् ।
यसैगरि, बोर्डका उपाध्यक्ष रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकार र निजी क्षेत्रकाबीच सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कानुनको समस्या र महालेखा परीक्षक कार्यालयको अवरोधका कारण पर्यटन क्षेत्रको विकासमा काम गर्न बोर्डलाई समस्या परेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि निर्णय र काम गर्ने निकाय एउटै भए काम गर्न सहज हुने उल्लेख गरे । उनले मलेपले देखाएको बेरुजुप्रति टान यथासीघ्र सचेत भई आवश्यक कार्य तर्जुमा गर्नुपर्ने समेत उल्लेख गरे ।


एशोसियशनका अध्यक्ष निलहरि बाँस्तोलाले पर्वतीय पर्यटनको विकासमा ४५ वर्षको इतिास बोकेको टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गरे । उनले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै यसलाई जोगाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । उनले तत्काल गर्नुपर्ने विभिन्न मागहरू समेत सभाहलमा प्रस्तुत गरेका थिए ।
टानका पूर्वअध्यक्षद्वय रमेश धमला, खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको मुद्दालाई समाधान गर्न सबै ठाउँमा सबै एकजुट हुनुपर्ने र सरकारलाई घच्घच्याउने काम निरन्तर गर्नुपर्ने बताए ।
टानका महासचिव विनोद सापकोटाले संचालन गरेका कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल होटेल संघ (हान), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन, नेपाल च्याप्टर (पाटा), टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), नेपाल वायुसेवा सञ्चालक संघ (एओन), सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेसन (सोत्तो), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतका पर्यटन क्षेत्रमा प्रतिनिधित्व गर्ने निजी संघ–संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पत्रकारहरू सम्मानित
नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारमा सञ्चारमाध्याममार्फत महत्वपूर्ण भूमिका खेलेको भन्दै टेलिभिजन, अनलाइन मिडिया र राससका ३ जना पत्रकारहरू सम्मानित भएका छन् । साधारणसभाका अवसरमा एपी वान टेलिभिजनका पत्रकार सुवास थापा,सेतोपाटी अनलाइनकी पत्रकार सविना कार्की र राष्ट्रिय समाचार समिति (रासस) का समचारदाता अच्युत रेग्मी सम्मानित भएका हुन् । यस अवसरमा टानले गत वर्ष सबैभन्दा बढी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरण गर्ने उत्कृष्ट पाँच कम्पनीलाई समेत सम्मान गरेको थियो ।





























































Discussion about this post