इलामः नेपालमा चिया सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ । इलामको साखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यहीँ वर्षदेखि चिया प्रविधि सम्बन्धी अध्ययन, अध्यापन सुरु गर्ने तयारी गरेको हो ।
शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधि सम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तहमा रहेर चिया प्रविधि सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए।
चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।
प्रमुख खनालका अनुसार कक्षा सञ्चालनको पत्र आउनसाथ कक्षा सुरु गर्ने तयारी छ । यस अन्तर्गत विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास गर्नुपर्नेछ । यसवर्ष एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको शिक्षालयले जनाएको छ । पहिलोपल्ट २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधि सम्बन्धी पढाइमा समावेश गराउने तयारी छ ।
यस अघि नेपाल सरकारले २०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु गरेको थियो । मुलुकमै पहिलोपल्ट चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन सुरु भएको चौथो शैक्षिक सत्रदेखि क्याम्पसले विद्यार्थी भर्ना नै नलिएका कारण त्यो असफल भएको थियो ।
गुणस्तरीय तयारी चिया तयार गर्न अझै पनि भारतबाटै प्राविधिकहरू ल्याउनुपर्ने बाध्यता छ । त्यसैले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न चिया प्रविधि सम्बन्धी अध्ययन, अध्यापनको तयारी गरिएको शिक्षालयका प्रमुख खनालले बताए।
चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गरेको छ । मन्त्रालयको सहयोग प्राप्त भएसम्म विद्यार्थीले निशूल्क अध्ययन गर्न पाउनेछन् । नेपालमा १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास भए पनि हालसम्म देशभर कतै पनि चिया सम्बन्धी पढाइ भएको छैन ।
नेपालमा इलामबाट चिया खेती सुरु भएको करिब १६० वर्षपछि जिल्लामा चिया सम्बन्धी अध्ययन, अध्यापन हुन लागेको हो ।



























































Discussion about this post