नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सवमा गोरखा र जाजरकोट भूकम्पको चर्चा


काठमाडौं, वैशाख ५ – नेपाल भू-प्रविधि समाज (NGS) ले आफ्नो ३१औं वार्षिकोत्सव “भू-जोखिम र भू-प्रविधि : २०१५ को गोरखा भूकम्पबाट १० वर्षको सिकाइ र पुनर्निर्माण” भन्ने मूल विषयमा आयोजित संगोष्ठीसहित मनाएको छ। पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा इन्जिनियर, भूविज्ञानी, शहरी योजनाकार, अनुसन्धानकर्ता, नीति-निर्माता तथा पेशागत संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष डा. मन्दिप सुवेदीले उद्घाटन मन्तव्यमा २०७२ सालको गोरखा भूकम्पले दिएको कठोर शिक्षालाई बिर्सन नहुने बताए। उनले भू-प्रविधिको दृष्टिकोणबाट लिइएका तस्बिरहरू देखाउँदै, सो भूकम्पबाट उत्पन्न क्षतिको विश्लेषण गरे। विशेषगरी भूगर्भीय कमजोरी, माटोको द्रविकरण (liquefaction), कमजोर संरचना डिजाइन तथा इन्जिनियरिङ र गैर-इन्जिनियरिङ संरचनाबीचको भिन्नताको चर्चा गरे।
“हाम्रा पुराना मौलिक घरहरू र कुशल इन्द्वाजिनियरिङ सहित बनाइएका संरचना प्राय: सुरक्षित भए, तर योजनाबिना बनेका गैर-इन्जिनियरिङ घरहरू धेरै क्षतिग्रस्त भए,” उनले भने। उनले ‘Build Back Better’ अवधारणाअनुसार पुनर्निर्माणले अब सुरक्षित र मजबुत पूर्वाधार निर्माणतर्फ अगाडि बढेको पनि स्मरण गराए।
गोरखा भूकम्पबाट पाठ त सिक्यौं, तर लागू गर्न सकेनौं
तर उनले जाजरकोटको हालैको ५.७ म्याग्निच्युडको भूकम्पलाई एउटा कटु स्मरणका रूपमा उल्लेख गर्दै भने, “त्यही अवस्था फेरि दोहोरियो – पहिरो तथा भवन र पुलहरूको ढलान खस्कियो। हामीले गोरखा भूकम्पबाट पाठ त सिक्यौं, तर लागू गर्न सकेनौं।”
डा. सुवेदीका अनुसार जाजरकोट भूकम्पमा नीति र कार्यान्वयनबीचको गहिरो अन्तर देखिएको छ। “हामी योजना बनाउँछौं तर कार्यान्वयन हुँदैन। जोखिमयुक्त क्षेत्रमा अव्यवस्थित बस्तीहरू यथावत् छन्,” उनले भने। उनले नेपाल भू-प्रविधि समाज स्वयं पनि यसमा जिम्मेवार रहेको स्वीकार गर्दै भने, “हामीले गोष्ठी, तालिम, अन्तर्राष्ट्रिय विज्ञसँग सहकार्य गर्दै आएका छौं, तर केवल छलफलले मात्रै पुग्दैन। काम नगरेसम्म परिवर्तन सम्भव छैन।”


‘जिओमाण्डु २०२६’ को घोषणा
उनले गोरखा भूकम्प गएको पाँच वर्षपछि नै NGS ले जिओमाण्डु कार्यक्रम सुरु गरेको उदाहरण दिँदै निरन्तर प्रयास र व्यवहारमा आधारित परिवर्तनको आवश्यकता औंल्याए। “हामी कुरा गरिरहन्छौं, तर काम बिर्सन्छौं। त्यसैले जाजरकोट फेरि भयो,” उनले दु:ख व्यक्त गरे।
डा. सुवेदीले जोड दिए, “नेपाल हाम्रा विपद्हरूलाई छुट्टाछुट्टै घटनाका रूपमा हेर्ने हैसियतमा छैन। पृथ्वी फेरि काँप्न सक्छ, तर हाम्रो प्रतिक्रिया तयार हुनुपर्छ।”
कार्यक्रममा सन् २०२६ मा आयोजना हुने ‘जिओमाण्डु २०२६’ नामक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पनि गरियो। सन् २०२४ मा सम्पन्न दोस्रो जिओमाण्डु सम्मेलनमा करिब ५०० सहभागीमध्ये २०० जना अन्तर्राष्ट्रिय प्रतिनिधि थिए। सो सम्मेलनका १२० भन्दा बढी प्रविधिक कार्यपत्रहरू संकलित चारवटा खण्डहरू Springer द्वारा प्रकाशन हुने भएका छन्।
कार्यक्रममा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इन्जिनियर केशवकुमार शर्मा प्रमुख अतिथिको रूपमा सहभागी थिए भने इन्जिनियरिङ संस्थानका डीन प्रा. सुशील वज्राचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
NGS का महासचिव इन्जिनियर उदयराज न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै परामर्शदातृ इन्जिनियर तथा वास्तुकार संस्था (SCAEF) सँगको नयाँ समझदारीपत्र (MoU) को घोषणा गरे, जसले प्राविधिक सहकार्यलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।


कार्यक्रमको अर्को विशेष आकर्षणको रूपमा “भू-विपद् प्रतिवेदन पुस्तक” को विमोचन गरियो, जसलाई प्रा. भण्डारी, अध्यक्ष सुवेदी र इन्जिनियर राजन केसीले सम्पादन गरेका छन्।


संस्थाले पुरस्कार वितरण, पुस्तक विमोचन, फोटो र पोस्टर प्रदर्शनी, समूह फोटो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो। सहभागीहरूले जस्तोसुकै विपद्का सामनाका लागि विज्ञान, प्रविधि र कार्यान्वयनको तालमेलमा जोड दिनुपर्नेमा जोड दिए।





























































Discussion about this post