काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई वर्तमान समयको सबैभन्दा ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका असरहरू तीव्र गतिमा बढिरहेका भए पनि यस संकट निम्त्याउन नेपालको योगदान नगण्य रहेको स्पष्ट पारे । तरपनि, नेपाल जस्तो मुलुकले सबैभन्दा बढी असर भोगिरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे ।
उनले भने, “जलवायु परिवर्तन अब कुनै टाढाको खतरा होइन, यो हाम्रो समयको सबैभन्दा गम्भीर चुनौती हो ।” प्रधानमन्त्री ओलीका अनुसार, जलवायु परिवर्तनले पृथ्वी, मानव समुदाय र समग्र समृद्धिमा गहिरो प्रभाव पारेको छ ।
“हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, वर्षाको ढाँचा अनिश्चित भइरहेको छ, पहिरोले बस्तीहरू उजाड बनाइरहेका छन्, बाढी र खडेरीजस्ता विपद् अचानक आउने गरेका छन्,” उनले भने, “तर पनि हामी अझै डटेर टिकिरहेका छौं ।”
पर्यावरण संरक्षणमा नेपालको योगदान उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले जिकिर गरे । उनले हिमालहरूलाई सुरक्षित राख्नु पृथ्वी, महासागर र मानव जातिको अस्तित्वका लागि अनिवार्य रहेको धारणा राखे ।



























































Discussion about this post