नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुभाषचन्द्र बरालले २०७२ को विनाशकारी भूकम्पले इन्जिनियरहरू मात्र होइन, आम जनसमुदायलाई पनि गम्भीर पाठ सिकाएको बताएका छन्। गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘भूकम्प नबिर्सौं र्याली’मा बोल्दै उनले प्रभातफेरी कार्यक्रमको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि गर्नु र इन्जिनियर समुदायलाई थप सजग बनाउनु रहेको बताए।
“२०७२ सालको भूकम्पले ठूलो जनधनको क्षति गर्यो तर त्यसले हामी इन्जिनियरहरूलाई गहिरो पाठ पनि सिकायो,” बरालले भने, “२०७२ अघि हामीसँग पर्याप्त ज्ञान थिएन, क्षतिको आँकलन गर्न सक्ने क्षमता पनि थिएन। हामीले भूकम्पबारे केवल सुनेका थियौँ। तर त्यो भूकम्पले हामीलाई यथार्थमा ल्यायो र ठूलो ज्ञानको ढोका खोलिदियो।”


उनले पछिल्ला १० वर्षलाई नेपाली इन्जिनियरिङ क्षेत्रका लागि अत्यन्तै शिक्षाप्रद समयको रूपमा स्मरण गरे। “त्यसबेलाका बढी प्रभावित ३१ जिल्लामध्ये १४ मा गम्भीर क्षति पुगेको थियो। ती जिल्लामा अहिले भूकम्प प्रतिरोधी घर र संरचनाहरू निर्माण भइरहेका छन्, जुन सुखद परिवर्तन हो,” उनले भने।
बरालले ‘भूकम्प प्रतिरोधी मापदण्ड’ तयार भइसकेको उल्लेख गर्दै अब ती मापदण्डको प्रभावकारी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए। “सम्पूर्ण इन्जिनियर, आर्किटेक्ट, र सरोकारवाला संस्थाहरूलाई एकै ठाउँमा ल्याएर भूकम्पीय जोखिमबारे चेतना फैलाउनु आजको कार्यक्रमको उद्देश्य हो,” उनले स्पष्ट पारे।


उनले अझै पनि नेपाल भूकम्पीय जोखिममा रहेको र चेतनामूलक कार्यक्रम बाँकी जिल्लामा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए। “केही जिल्ला मात्रै सचेत भएर पुग्दैन। मुलुकका अन्य जिल्लाहरूमा पनि व्यापक जनचेतना र नीतिगत सहकार्य आवश्यक छ,” उनले बताए।
भविष्यका सम्भावित प्राकृतिक विपद्बाट जोगिनका लागि दीर्घकालीन सोचसहितको संरचना निर्माणको आवश्यकता औँल्याउँदै बरालले भने, “यसमा नीति निर्माण तहबाटै पहल हुन आवश्यक छ, र नेपाल इन्जिनियर्स एसोसिएसन यसमा सक्रिय छ।”


नेपाल इन्जिनियर्स एसोसिएसनको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम एसोसिएसनको कार्यालयबाट सुरु भई पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान हुँदै पाटनढोका परिक्रमा गरी सम्पन्न भएको हो। कार्यक्रममा नेपालिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep), नेपाल जियोटेक्निकल सोसाइटी (NGS), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), इन्जिनियरिङ कलेजहरूको संघ (AECON), र इन्जिनियरिङ अध्ययन संस्थान (IOE) लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

































































Discussion about this post