काठमाडौं । साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्ध संग्रह ‘समयको नक्साबाहिर’को विमोचन हालै सम्पन्न भएको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृतिको लोकार्पण गरियो ।
लेखक ढुङ्गेलसँगै मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी तथा लेखक गणेश कार्की, कथाकार अनिता पन्थी, र प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गरे ।
कार्यक्रमको सञ्चालन राजु झल्लु प्रसादले गरेका थिए, जसले कृतिलाई केन्द्रमा राखेर सिर्जनात्मक प्रश्नहरू वक्ताहरूलाई सोधेका थिए । उनले पुस्तकलाई २५-३० वर्षअघि नेपाली समाजको सामाजिक, आर्थिक, राजनैतिक र मनोवैज्ञानिक अवस्थाको चित्रांकनको रूपमा व्याख्या गर्दै आफ्ना प्रश्नहरू राखेका थिए ।


झल्लुका प्रश्नहरूको उत्तर दिने क्रममा प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए । उनले भने, “ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।”
उनले अगाडि थपे, ‘‘समयको नक्साबाहिर’ले युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ । भाइरल भए होस्, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’पछिको संस्मरणात्म कृति ढुङ्गेलको ‘समयको नक्साबाहिर’ हो । आफ्ना कुराहरू कसरी लेख्ने भनी कसैले सोधे म यो पुस्तककाे नाम लिन्छु ।’’
त्यस्तै, पछिल्लो पुस्ताका सशक्त लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन् । उनले भनिन्, ‘‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।”
युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीको धारणा भने अलिकति फरक थियो । उनले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रशङ्ग कोट्याए । भने, “लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिंडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ ।”
लेखक कृष्ण ढुङ्गेलले झल्लु प्रसादको ‘आफ्नो भएजति बाल्यपन वालछयाल पार्नका लागि तपाइँ किन उत्ताउलिनुभएको?’ भन्ने प्रश्नको उत्तर दिंदै आफ्नो अनुभवलाई सत्यतामा आधारित भएर लेख्ने प्रयास गरेकाले यो पुस्तक आएको बताए। उनले भने, “मसँग अर्को लेख्ने विषय थिएन, त्यसैले आफैंलाई लेखें। बाल्यकाल र सम्बन्धहरूलाई उजागर गर्दै जे सत्य थियो, त्यही लेखेँ ।”
कार्यक्रमको सभापतित्व गर्दै भुवनहरि सिग्देलले सबैलाई धन्यवाद ज्ञापन गरे र भने, “कृष्णजीको पुस्तक फरक भएकाले पेजटर्नरले प्रकाशन गरेको हो।”



























































Discussion about this post