चितवनमा मंगलवार बिहान मृत भेटिएको एक सिंगे गैंडालाई करेन्ट लागेको आशंका गरिएको छ ।
पोस्टमर्टमका क्रममा गैंडाको शरीर र वरपरको वस्तुस्थिति हेर्दा विद्युतको झट्का लागेको आशंका गरिएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘प्रमाणित नै भइसकेको त छैन तर गैंडाको शरीर र वरपरको वस्तुस्थिति हेर्दा करेन्ट लागेर मरेको हो कि भन्ने देखिन्छ,’ उनले भने, ‘वास्तविक कुरा विस्तृत अनुसन्धानपछि आउँछ।’
नजिकैको घरमा तारमा छोएर गैंडालाई करेन्ट लागेको हुनसक्ने आशंका छ ।
निकुञ्जको टोलीले घटनास्थलमा जिआई तार बाँधिएको किल्ला, घन र नजिकै रहेको घरमा विद्युत तारको पोको बरामद गरेको थियो । आशंकाको आधारमा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको तिवारीले बताए ।
मृत गैंडालाई मंगलबार पोस्टमार्टमपछि खाल्डो खनेर गाडिएको थियो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २६ भगडीस्थित मकैबारीमा मंगलवार बिहान एक सिंगे गैंडा मृत भेटिएको थियो । निकुञ्जले सुरूमा उक्त पोथी गैंडा बुढो भएर मरेको अनुमान गरेको थियो ।
गैंडा मृत भेटिएको ठाउँ निकुञ्जको कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिक पर्छ ।
यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो । गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए । तीमध्ये २ वटा सिकारीले मारेका थिए ।



























































Discussion about this post