- राजु झल्लु प्रसाद/ प्रेम बास्तोला
बोजेबेसी । सिद्धलेक गाउँपालिका वडा-७ (साबिक कुम्पुर गाविस) स्थित बोजेबेसीमा रहेको बुढो सिमल नाग पोखरी पछिल्लो दिनमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको जन्मघर समेत रहेको यस स्थान आन्तरिक पर्यटकमाझ विस्तारै चिरपरिचित बन्दै गएको हो ।
यस क्षेत्र नजिकै गुफा पर्यटनको अग्रणी स्थान साततले चमेरो गुफा पनि रहेको छ । आन्तरिक पर्यटकमाझ सो गुफा परिचित हुँदै जाँदा ‘बुढो सिमल नाग पोखरी’ ले पनि परिचय पाउँदै गएको हो । नवनिर्मित पोखरी क्षेत्रमा शिव मन्दिर, गणेश मन्दिर, नागथान आदि निर्माण गरिएको छ ।


मूलभूत रूपमा सिचाईका लागि निर्माण गरिएको यस पोखरीमा त्यस आसपासका मान्छेहरू घुम्नका लागि पनि आउने गरेका छन् । यस बोजेफाँटमा ढाँपको रूपमा खुला रहेको सिम क्षेत्रलाई छेकबार गरेर नाग पोखरीको रूप दिइएको हो ।
सिमसार विशेषत: माछा, चरा, उभयचर, कीटपतङ र विरुवाका लागि मात्रै नभएर यसले धेरै कार्बन सञ्चित गरेर राखेको हुन्छ । वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग मात्र नभएर सिमसार जलवायुसँग पनि सम्बन्धित छ । सिमसारले पानीको शुद्धिकरण,प्रकृतिमा हुने खाद्य चक्रको सन्तुलन गर्ने भएकाले यसलाई यो रुप दिइएको पालिका अध्यक्ष खतिवडाले बताए ।
बुढो सिमल, जहाँ दुर्लभ कर्याङकुरुङको बथान गुड लगाउन आउँछन्
यहाँ दुई देखि तीन सय वर्षभन्दा पुरानो विशाल सिमलको रुख रहेको छ, जसलाई ‘बुढो सिमल’ भन्ने गरिन्छ । सोही बुढो सिमलको फेदमा रहेको सिम क्षेत्रलाई नागपोखरीको रूपमा रूपान्तरण गरिएको हो । यस रुखलाई घाँसपात वा अन्य कुनै पनि आवश्यकताले कहिल्यै पनि काटिएको छैन ।
वसन्त ऋतुको आगमनसँगइ अग्ला रुखमा फुलेको सिमलका फूलले बोजेबेँसीलाई रङ्गिन र मनमोहक त बनाउँछ नै, यसले दुर्लभ कर्याङकुरुङ चरालाई गुड लगाउने र बच्चा हुर्काउन पनि सहयोग गर्दछ । यस रुखमा सिजनमा कर्याङकुरुङ चरा आउने, गुड ल्याउने र बच्चामा उडाएर लैजाने गर्दछन् । एकप्रकारले यो विशाल रुख अनौठो त छँदै छ, यसले चरा पर्यटनतर्फ पनि दक्खल राख्दछ किनभने नेपाल आउने आठ प्रतिशत पर्यटक मात्रै चरा हेर्न आउँछन् । कतिपय ठाउँमा ताल, खोलाले चर्चेको जग्गामा मानवीय गतिविधि बढिरहँदा यहाँ भने एक उदाहरणीय काम भएको छ, जसबाट सिमसार त जोगिएको छ नै अति दुर्लभ कर्याङकुरुङलाई गुड ल्याउन पनि सहज भएको छ ।


के हो कर्याङकुरुङ?
पुराना मान्छेहरू कर्याङकुरुङको बथान आयपछि फर्सी, काँक्रा रोप्नुपर्छ भन्ने विश्वास गर्दछन् । ‘ल है हिमालबाट कर्याङकुरुङ आए फर्सी, काँक्रा रोप’ भन्ने कथन रहेको थियो । यसप्रकार क्यालेन्डरको प्रयोग नहुने समयमा कर्याङकुरूङले समयको सूचना दिने गर्दथे । कर्याङकुरुङ भनेर चिनिने चराको लक्ष्मण सारस (कमन क्रेन) हो । कर्याङकुरुङ युरोपका विभिन्न देश, मङ्गोलिया, अफ्रिका, इरान लगायतका स्थानमा मुख्य वासस्थान रहेको लोपोन्मुख चरा हो। गर्मीयाममा आफ्नै ठाउँमा बसेर अण्डा पार्ने, बच्चा कोरल्ने यी चरा जाडो लागेपछि नेपाल, भारत लगायतका दक्षिण एसियन देशहरूमा पुग्ने गर्छन् ।


बोजेबेसीका खेतीयोग्य फाँट सिचाई गर्ने नागपोखरी:
वि.सं. २०८१ वैशाख १ गते उद्घाटन भएको यस बुढो सिमल नाग पोखरी समितिको अध्यक्ष राजाराम खतिवडा रहेका छन् सचिव सुरेन्द्र खतिवडा, कोषाध्यक्ष सृजना खतिवडा (भण्डारी) र सदस्यमा रमेश कुमार खतिवडा र सम्झना खतिवडा (अधिकारी) रहेका छन् । पोखरी निर्माणमा राजाराम खतिवडाबाट करिब १० लाख र सिद्धलेक गाउँपालिकाबाट ५ लाख सहयोग रहेको छ भने अन्य व्यक्तिहरूले संस्थागत तथा व्यक्तिगत सहयोग गरेका छन् ।


पोखरी नजिकै गाउँपालिका अध्यक्ष खतिवडाको स्व. बुबा विष्णु प्रसाद खतिवडाको स्मृतिमा अर्ध कदको प्रतिमा समेत स्थापना गरिएको छ । स्व. विष्णु प्रसादको स्मृतिमा वि.सं. २०७१ वैशाख २१ गते बुढो सिमल नाग पोखरीको समेत उद्घाटन गरिएको हो ।


यहाँ रहेको पानीको मूलबाट नै बोजेबेसीका खेतीयोग्य फाँटहरू सिचाई हुने गर्दछ । भूकम्पपश्चात् यहाँको पानीको सतह घटेको छ । पहिले यहाँ एक/दुई खोला पानी बग्ने गर्दथ्यो । हाल पोखरी निर्माण भएसँगै केही हदसम्म पानीको स्रोतको संरक्षण हुन् सकेको स्थानीयवासी बताउँछन् ।

































































Discussion about this post