- प्रेम पुलामी, राजु झल्लु प्रसाद
हामी मगरले वास्तविक इतिहास पाउन गाह्रो छ । इतिहास कालखण्डमा जहाँजहाँ राजा-रजौटा भएर बसेको भएपनि पछिल्लो समयमा त्यस्ता अस्तित्व सबै नष्ट भएको र स्वाभाविक रूपमा मगरहरू सोझा सिधा हुने हुनाले पछि परेको देखिन्छ । मगरहरू खरी, मैधीमा कुन समयदेखि बसोबास गर्दै आएको भन्ने कुनै ठोस प्रमाण छैन । मगर समुदायका बुढापाकाहरूको भनाइअनुसार, पुर्सुकको कालिकाथान माथि गढी रहेको र घले राजाहरूले राज्य गरेको बताउँछन्, आज पनि त्यस ठाउँमा सो गढीको अवशेष इट्टा ढुङ्गा पाइन्छ । त्यस ठाउँमा राना मगरहरू राजा भएको भन्ने भनाइ पाइन्छ । यसरी हेर्दा तत्कालीन समयमा मैधी राज्य अन्तर्गत नै साविकको ढोला गाविस पर्ने हुँदा साविकको मैधी र ढोला गाविसका मगरहरू नै यहाँको आदिवासी रहेको पुष्टि हुन्छ । यस्तै, खरीका मगरहरूका सम्बन्धमा यसै भन्न सकिँदैन, उनीहरू कति पुरानो हुन् भनि खोजीको विषय बनेको छ, तर खरी, मैधीको उल्लेख इतिहासमा हाराहारीमा भएको पाइएकाले खरीमा पनि मगरहरू नै आदिवासी हुन् कि भन्ने अनुमान मात्रै गर्न सकिन्छ । त्यहाँ गुरुङ पनि आदिवासी हुन् भने सक्दछन् ।


मैधी नामको न्वारनसम्बन्धि किम्वदन्ती:
मैधीको नाम कसरी रहन गयो भन्नेमा एउटा किंवदन्ती रहेको छ, जसको सम्बन्ध मगर समुदायसँग नै रहेको छ । इतिहासमा पूर्ण शाहले मैध्याली घले राज्य (मगर) लाई हराएपश्चात् गोरखा-काठमाडौं गर्ने मूलबाटो मैधी भएर नै जान्थ्यो । किंवदन्तीले एक बटुवाको प्रसङ्गलाई अघि सार्दै मैधीको नामाकरणलाई रोचक ढङ्गले प्रस्तुत गर्दछ । किंवदन्तीअनुसार, यस ठाउँमा बटुवा आउने जाने बाटो भएकोले एउटा बटुवा पानी खानको लागि एउटा घरमा पसे । आँगनमा कोही नदेखिएकाले सो बटुवाले घरभित्र पसी मानिसलाई बोलाएछ । घरभित्रको मानिस बिरामी रहेछन् । सो बिरामीले घरमा आमा आउनुभयो भन्ठानेर पानी माग्न आएको बटुवासँग उल्टै पानी मागेछ । उसले पानी माग्दा ‘मै डि मै डि’ भनेछ । बटुवाले चाहिँ यो ठाउँको नाम ‘मैडी’ रहेछ भन्ने बुझेछ । मगर भाषाबाट आमासँग पानी माग्दा ‘मै’ भनेको ‘आमा’ र ‘डि’ भनेको ‘पानी’ । समयक्रममा ‘मैडी’बाट अपभ्रंश हुँदै ‘मैधी’ र आजभोलि ‘मैदी’ भन्न थालिएको छ भने ‘मैधी’ नै भन्नुपर्छ भन्ने बहस पनि छेडिएको छ ।
यस किंवदन्तीले दुई\चार कुरा सङ्केत गर्दछ । पहिलो सो समयमा यस ठाउँका घरहरूमा मानिस बिरामी थिए । दोस्रो, उसले ‘मै डि’ भनेर पानी मागेको हुँदा यस ठाउँको नाम त्यसपूर्व अरू नै केही हुनसक्दछ । तेस्रो, त्यो बटुवा तत्कालीन समयको गन्यमान्ये वा तीर्थयात्री हुन् सक्दछ किनभने उसले एककान दुईकान गर्दै यस ठाउँको नाम ‘‘मैडी’ भनि प्रचार गर्न सक्यो । सामान्य बटुवाले कुनै ठाउँको पुरानो नाम नै यसप्रकार परिवर्तन गर्न सक्ने हैसियत राख्दैन । जे होस्, यस किंवदन्तीले यस ठाउँमा परापूर्व कालदेखि नै मगरहरूको बस्ती रहेको बताउँदछ किनभने हालसम्मको ऐतिहासिक स्रोतले इतिहासको पछिल्लो समयमा मात्रै महाकाली पूर्वमा कर्णाली प्रदेश, कुमाउँ र दक्षिणतिरबाट खसबाहुनहरू नेपाल प्रवेश गरेको उल्लेख गरेको छ । यस सम्बन्धमा विष्णुप्रताप शाहले लेखेका छन्, “प्युठान जिल्लादेखि पूर्व गुल्मी, पाल्पा, तन्हौ र गोर्खा तल्लो भेगमा मगरहरूको बस्ती र पर्वत, कास्की, लमजुङ र गोर्खाको माथिल्लो भेगमा (उत्तर)तिर गुरुङहरूको बाहुल्यता रहेको छ । मैधी पनि पाल्पा, तन्हौ र गोर्खाको मगर बस्तीहरूकै हाराहारीमा अवस्थित हुनाले पनि मैधीको आदिवासी मगरहरू नै हुन् भन्न सकिन्छ (शाह, हाम्रो मैदी, आफ्नो माटो, स्मारिका-१, २०६९ भाद्र) । शाहले सो लेखमा किराँती राजा महाभारतको लडाइँमा जाँदा लागेका सेनामा ‘मैध्याली मगर’हरू गएका हुन् सक्ने सङ्केत सम्म गरेको भेटिनुले मगरहरू यहाँको आदिवासी रहेकोमा कुनै शङ्कै रहेन ।
मगरहरूको बस्ती सम्बन्धमा रामप्रसाद अधिकारीले लेखेका यो अंश स्मरणयोग्य छ, “पश्चिमतिरबाट आएका मगर जाति नै यस ठाउँका आदिवासी हुन् । उखुबारी, छापथोक, पदेली, काफलपानी, देवीस्थान, द्वारथोक र गिरीगाउँ यिनीहरूको पहिलो बस्ती हो । यी जातिहरूले आफ्नो कूल देवताको पूजा गरि वायु बोलाउँदा ‘रुपाताल, बेगनासतालको कमलको फूलबाट उत्पत्ति भई बुङ्कोटघाट तरी यस मैधीमा आयां’ भन्ने परम्परा अझै कायम छ । यस भनाइबाट यो जाति पश्चिमबाटै आएको थप पुष्टि हुन्छ ।..माथिल्लो बस्तीहरूमा मगर जातिको बोलवाला रहेकोले गाउँको मूख्यौली (मुखियाको दर्जा) यिनीहरूमध्येबाटै मास्लियो (स्रोत: अधिकारी, मैदीको आत्म-कथा, आफ्नो आफ्नो माटो, स्मारिका-१, २०६९ भाद्र) ।”


थर:
खरीमैधीका मगरहरूमा खुलाल, तुम्सिङ, झ्यारी, आले, पुलामी, सिर्य्बम्सी राना, मुर्छान, गिंदेल, ढिगी थापा, यादी, गन्द्रमा, गरौजा, दर्लामी, लोप्पा, लायो, बराही आदि इत्यादि थरहरू भेटिन्छ ।
संस्कृति:
मगरको आफ्नै संस्कृति, परम्परा र भेषभूषा रहेको छ । मगरहरू देवीदेवता र भूतप्रेतप्रति विश्वास गर्छन् । यहाँका मगरहरूले हाल हिन्दु मतलाई अपनाएको पाइन्छ ।


पूजाआजा:
मगरहरु आफू मगर हुनुमा गर्व गर्दछन्, यी जाति सरल सहनशील र विभिन्न संस्कृतिमा रमाउने जाति हो । मगर जातिमा कुनै मौसमी र कुनै बाह्रमासे गीत संगीतहरु, नृत्य कला प्रस्तुत गर्दै दुःख वेदना भन्ने गर्दछन् । यी जातिमा लैंगिक समानता,आर्थिक समानता र सांस्कृतिक समानता स्पष्ट भेटिन्छन् । मगरहरु सृष्टीका पूजक हुन् भन्ने यिनका पूजाआजा हेर्दा प्रष्ट हुन्छ । यिनीहरू यद्यपि, हावा, पानी, जमिन, रुखको पूजा गर्ने गर्दछन् ।
कुलपूजा: मगरहरू कुल देवताको पूजा गर्छन् । आफ्नो थरमा कुलको डाङरे हन्छ डाङरेको ज्यानमा कुल बोलाइन्छ । मगरको मान्छे मरेर अगति पर्यो भने त्यसलाई वायु बोलाउने चलन हुन्छ । बायु बोलाएर भोग दिने र त्यसलाई वायुदेवता मानेर पूजा गर्ने चलन यहाँ पनि रहेको छ। कुल पूजा पनि आआफ्नै चलनअनुसार भइरहेको पाइन्छ । कुनैकुनै थरले १२ वर्ष मा कुलपुजा गर्छन् भने कोहीले प्रत्येक वर्ष कुलपुजा गर्छन् । यहाँ मठ मन्दिरमा पूजा गर्ने, भाकल पूजा गर्ने चलन पनि यद्यपि रहेकै छ ।
चण्डी पूजा: मगरहरूको चण्डी पूजा गर्दछन् । चण्डीपूर्णिमाको समयमा घरघरमा पातीको लिङ्गो स्थापना गरि आफ्नै विधिअनुसार कुखुराको बलि चढाइ चण्डी पूजा गर्दै आइरहेका छन् । सामूहिक रूपमा पनि चण्डीथानको स्थापना गरि पूजा गर्दछन् । चण्डीपूजाको समयमा घाटु नाच्ने चलन रहेको छ । मैधी र खरी दुवैतर्फ घाटु नचाउने चौतारोमा केही समय अगाडि घाटु नाच्ने चलन रहेको थियो, जसलाई पुन व्युताउन आवश्यक छ । अहिले घाटु गीत गाउने गुरु नभएर घाटु नाच्ने चलन हराएको अवस्था छ ।
सोरठी: मगरहरूमा सोरठी नाच नाच्ने परम्परा रहेको छ । सोरठी गीत को १६ हाँगा हुने र ती मध्ये एउटा हाँगा समाइ गीत गाउने र नाच्ने गरिन्छ ।
जन्म, मृत्यु सम्बन्धि संस्कार: यहाँका मगरहरूले जन्मँदा ९ दिनमा न्वारान गर्छन् । नौ दिनमा आफ्नै चेलीबेटी कुटुम्बबाट हुमहुमादी गरि पानी मन्तरेर चोख्याउने चलन हुन्छ । मान्छे मर्दा १३ दिन बार्ने चलन यस समुदायसँग छँदै छ ।
अब हामी खड्गदेवी भगवतीस्थान, राम शाहद्वारा मैधीकोट (कोतघर) को स्थापना, पूर्ण शाहको गोर्खाली फौज र मैधी राज्यको युद्ध, मैधीकोटको मगर पुजारी, दलु शाहको गोल दरबार र पृथ्वीनारायण शाहको व्रतबन्धबारे सरसर्ती चर्चा गर्नेछौं ।


खड्गदेवी भगवतीस्थान :
मैधीकोट भनिने उच्च स्थानमा अवस्थित भगवतीस्थानलाई हाल मैधीकोट खड्गदेवी भन्ने चलन रहेको छ । यस भगवतीको कहिले र कसले स्थापना गरेको हो भनेर यकिन भन्न सकिँदैन । देवीको पूजा मगरहरूबाट हुँदै आएकाले तत्कालीन मैधी राज्यलाई गोर्खा राज्यमा मिलाउनुपूर्वदेखि नै यो देवीस्थान स्थापित थियो होला भन्ने अड्कल काट्न भने सक्छौँ । तर, यसबारे कुनै लिखित, प्रमाणित अभिलेख भने हालसम्म पनि भेटिएको छैन । तर, लिखित स्रोतका आधारमा यस खड्गदेवी भगवतीस्थानमा मन्दिर बन्नुपूर्व यहाँ ७-८ कोठा भएको दलु शाहको बाटुलो दरबार नामक ‘गोल दरबार’ रहेको इतिहास भेटिन्छ । पुरानो समयमा घरको आकार यस्तै हुने गर्दथ्यो । आज पनि स्याङ्जा, कास्की, बागलुङ-पर्वततिर यद्यपि यस्ता बाटुले घरहरू देखिने गर्दछ । चारपाटे घरको चलन पछि मात्रै आएको हो ।
हामीले खड्गदेवी भगवतीका बारेमा अझ थोरै चर्चा गरौँ । दलु शाहले यहाँ आई दरबार बनाई बस्नुपूर्व खड्गदेवी यहीँ रहेकी वा उनले आफ्नो दरबारको एउटा कोठामा नित्य पूजा निमित्त स्थापना गरेको वा दरबार बन्नु अगाडिदेखि नै यहीँ रहेकीले उनले मगरहरूले परम्परादेखि पूजा गर्दै आएको भगवतीलाई ल्याई आफ्नो दरबारमा राखेको हुन् सक्दछ । खड्गदेवीलाई पूजा गर्दै आइरहेका मगरहरूको पुर्ख्यौली निकाल्ने काम पनि बाँकी छ ।


खड्गदेवीको पुजारी: खड्गदेवी मन्दिरको मूल पुजारी आलेहरू हुन् ।
- पहिलो पुस्ता: रेवन्त आले
- दोस्रो पुस्ता: भुजबल आले
- तेस्रो पुस्ता: तुल बहादुर आले
- चौथो पुस्ता: प्रेम आले
- पाचौँ पुस्ता :सुग्चन झ्यारी (हाल )
(स्रोत: पुजारी प्रेम आले)
पूर्ण शाहको गोर्खाली फौज र मैधी राज्यको युद्ध:
गोरखा राज्यका संस्थापक द्रव्य शाहको पालासम्म स्वतन्त्र राज्यको रूपमा रहेका खरी, मैधी, धादिङ, धुवाँकोट लगायतलाई सर्वप्रथम उनका छोरा पूर्ण (पुरन्दर) शाहले जितेर गोरखामा मिलाएको देखिन्छ । विं.सं. १६२७ मा राजा भएका पूर्ण शाहले पूर्वतर्फ हान्ने क्रममा बुढिगण्डकी तरि सर्वप्रथम सल्यानको घले राज्यमा हमला गरेको र तत्पश्चात् खरि, मैधी, धादिङ, चरङ्गे आदि थुमथुममा रहेका स्वतन्त्र घले राज्यहरुमाथि हमला गर्न गोरखाबाट फौज पठाएको गोरखा राजवंशावलीले बताउँछ । उनले पठाएको फौजले खरी हानिसकेपछि मैधीलाई हानि खरी, मैधीको अस्तित्व एकैसाथ् गोर्खा राज्यमा बिलन गराएको ऐतिहासिक स्रोत-सन्दर्भहरू भेटिन्छ ।
खरी (षरी) जितेपछि मैदी (मैधी) तर्फ आक्रमण गर्न जादाँ गोर्खाली र मैध्याली फौजबिच भएको भीषण लडाइँबारे यसो लेखिएको छ,
“…खर्यालहरुलाई कत्तल गरि… तहाको चिज वस्तु ली
सरासर मैधी तरफ गया । गोर्खाको लस्कर लडाइ गर्न आयाको देखि
मैधीका सर्दार सिपाहीहरू पनि हतियार धनुकाड लिई जाई
लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अंग-अंगमा
तीर लागि कोहि मर्या । कोहि घाइते भया । फेरि गोरखाको तरफबाट
र मैध्यालका तरफबाट दोहरै तरबार षुकुरी हानाहान हुदा
कसैको सिर कसैको गर्धन कसैका हात कसैका कम्बर कसैका गोडा काटिइ
मर्या । कोइ घाइते भया । फेरि गोर्खालीबाट तरबार षुडा षुकुरी
वाकला गर्दा मैध्यालहरू कत्तल भया । वाकि रहयाकालाई लषेट्दै मैधी
पुयाई तहा अम्बल गरि जो भयाको चिजवस्तुली श्री ५
पुरन्दर शाहका हजुरमा दाषिल भै षरी मैधीको चिजवस्तु नजराना (उपहार)
राषी दर्शन गर्दा श्री ५ महाराज प्रशन्न हुनु भै स्याावासि दिनु भयो ।
(साभार: हाम्रो मैदी (मूल शीर्षक: मैदी म्हात्म्ये), विष्णुप्रताप शाह , आफ्नो माटो, भाग-१, पृष्ठ ११)
यस ऐतिहासिक अंशमा दुई पटक ‘फेरी’ शब्दको प्रयोग हुनुले मैध्याली फौजलाई हराउन गोर्खालीले ‘पटकपटक’ आक्रमण गर्नुपरेको प्रष्ट हुन्छ, जसले सर्दार (सेनापति) सहितको मैधीको फौजले अत्यन्त बहादुरीपूर्वक लडाई लडेका कारण गोरखाली फौजलाई हम्मेहम्मे परेको बुझ्न सकिन्छ । अरू ठाउँहरूभन्दा मैधी जितेकोमा राजा विशेष खुसी हुनुले पनि मैध्याली मगरहरूको बहादुरी झल्कन्छ ।


राम शाहद्वारा स्थापित मैधीकोट (कोतघर):
धार्मिक ऐतिहासिक सामाजिक महत्त्व बोकेका कोटहरू नेपालमा बाइसे र चौबिसे राज्य स्थापना छुनुपूर्व वि.स.चौधौँ, पन्ध्रौँ शताब्दीतिर स्थापना भएको अनुमान गरिन्छ । मैधीकोट (कोतघर) राम शाहले स्थापना गरेको देखिन आउँछ । ‘पूर्ण शाहका जेठा छोरा छत्र शाह राजा भएको ७ महिनामै बितेको हुँदा उनको भाइ ‘राम शाह’ गोरखा राजा भएपश्चात् राम शाहले अरू कतिपय रजौटालाई लखेटी धादिङमा नौ वटा गढी निर्माण गरेको देखिन्छ । ती हुन्- सल्यानकोट, धादिङकोट, मैधीकोट, रामकोट, धुँवाकोट, भैरमकोट, फिर्केटकोट, मालकोट र धैबुङकोट । यसरी पृथ्वीनारायण शाहभन्दा पनि धेरै अघि पूर्ण शाहबाट नेपाल एकीकरणको अभियान सुरु भएको र त्यसलाई अघि बढाउन गोरखाली राजालाई धादिङवासीले सघाएका थिए’ भनि प्रा. रामहरि दाहालले लेखेका छन् (पर्यटकीय बिम्ब चित्रमा धादिङ, पृ. ३६) । यसप्रकार धादिङमा राम शाहद्वारा निर्मित नौ वटा कोट एवं गढीमध्ये एक मैधीकोट रहेको प्रष्ट हुन् आउँछ ।




खड्गदेवीको उत्पति सम्बन्धि चर्चा:
यस आधारमा, राम शाहले यहाँ कोत निर्माण गरेको समयमा खड्गदेवी पनि स्थापना गरेका हुन् कि त भनि अड्कल काट्न भने सकिन्छ किनभने उनले त्यतिबेला प्रयोग गरेका हातहतियार, ढाल, तरबार आदि मैधीकोट (मैधी कोतघर) सहित धादिङमा नौ वटा गढीमा राखी देवी स्थापना गरेका पनि हुन् सक्दछन् । किनभने देवी देवताले ग्रहण गरिने विभिन्न आयुधहरू मध्ये खड्ग पनि एक हो र हिन्दूशास्त्रको मान्यताअनुसार खड्गको उत्पत्ति अधर्म निवारण तथा शत्रुनाशको लागि भएको वर्णन भेटिन्छ । समाजमा खड्गलाई केवल एउटा अस्त्रको रूपमा मात्र नभई यो शब्दलाई स्थान, वस्तु तथा तत्त्वसित जोडेर हेर्ने गरेको पाइन्छ । त्यसबाहेक खड्गलाई देवदेवीको प्रतीक, विजयको प्रतीक र राजाको प्रतिनिधिको रूपमा पनि लिइन्छ । खड्गसिद्धिबाट शक्तिप्राप्त भई शत्रुमाथि विजय प्राप्त गर्नुका साथै आफ्नो मनोकाङ्क्षासमेत पूरा हुने शास्त्रीय कथन रहेको हुनाले प्राचीनकालदेखि खड्गको विशेष पूजा र उपयोग हुँदै आएको छ । यसप्रकार धार्मिक, राजनैतिक दार्शनिक तथा सांस्कृतिक दृष्टिकोणबाट खड्गको उच्च महत्त्व भएको हुँदा उनले नै ‘खड्गदेवी’को स्थापना गरेको हुन् सक्दछ तर यसबारे यसै किटान गर्न सकिँदैन ।


दलु शाह र उनको बाटुले दरबार:
दलु शाह गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा हुन् । उनको बाटुलो दरबार यहाँ रहेको चर्चा माथि गरियो । गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछि राज्यको उत्तराधिकारीमा खिचोला मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योत शाह गोरखाको राजा हुने प्रयत्न हुने गर्दथे तर युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछि दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैधीमा आएर (बस्न थाले) । यिनै दलु शाहको दरबार हाल मैधी कोटमा थियो भनिन्छ । अहिले कायम रहेको भैरवीको मन्दिर दलु शाहको दरबारभित्र पर्ने चर्चा माथि नै गरियो । उनले विक्रम संवत् १७३० तिर दरबार स्थापना गरेका डिल्लीरमण शर्मा अर्ज्यालले उल्लेख गरेका छन् (स्रोत: ढोलामण्डली माईको ख्याति, डिल्ली रमण शर्मा अर्ज्याल, साहित्यसंसार, २०६८, वैशाख ५) ।
पृथ्वीनारायण शाहको व्रतबन्ध:
जब हामी पृथ्वीनारायण शाहको व्रतबन्ध मैधीकोटमा भएको प्रसङ्ग निकाल्छौँ, यसबारेमा ऐतिहासिक स्रोतहरूले बोलेको पाउँछौँ । जेठा सन्तानका रूपमा पृथ्वीनारायण शाह वि.सं. १७७९ पुस २७ गते जन्मँदाखेरि नरभूपालको उमेर २६ वर्षको थियो । माहिली रानी कौशल्यावतिबाट एकातिर पृथ्वीनारायण जन्मे भने उनीभन्दा थोरै अन्तरमा साइँली रानी बुद्धिमतिकातर्फबाट वृन्दकेशर जन्मे । यी दुईमध्ये गोरखा राज्यको राजा कसलाई बनाउने भन्नेमा समेत गोरखा दरबारमा केही समय विवाद भयो । खासगरी पृथ्वीनारायण गर्भमा रहेको सातै महिनामा जन्मेका थिए । उनीभन्दा थोरै अन्तरले पछि जन्मेका वृन्दकेशर पुरा महिना गर्भमा रहेका र पृथ्वीनारायणभन्दा पहिले नै ज्येष्ठ सन्तानका रूपमा गर्भमा बस्न आएका भन्दै वृन्दकेशरलाई गोरखाका युवराज घोषित गर्नुपर्ने पक्षमा लाग्ने कतिपय भारदारहरू पनि गोरखा दरबारमा थिए । तर, वृन्दकेशरको अल्पायुमै निधन भएपछि त्यो विवाद पनि त्यतिकै हराएर गयो । अर्कोतर्फ, रानी चन्द्रप्रभाले मिश्रघरानाका श्रीहर्ष मिश्रलाई बोलाएर मन्त्र सुनाउन लाउने प्रबन्ध मिलाइन् । चन्द्रप्रभाले पाँडेहरूले बाधा नदिऊन् भनेर श्री ५ पृथ्वीनारायण शाहलाई सिकारको बहाना गरी धादिङ इलाका मैधीको एक देवस्थलमा लगी व्रतबन्ध गराएर श्रीहर्ष मिश्रलाई सावित्रमन्त्र सुनाउन लगाइन् । सो देवस्थल नै मैधीकोट हो ।


शाहवंशसँग मगरको साइनो:
गोरखाको शाहवंशसँग मगरहरूको साइनो सुरुदेखि नै नजिकको रहँदै आएको छ । पृथ्वीनारायणका नजिकमा मगरहरूको सङ्ख्या उल्लेख्य रहेको पाइन्छ । अर्कोतिर पृथ्वीनारायणलाई हुर्काउने जिम्मा नै ददा सुरथसिंह रानामगरले लिएका थिए । पृथ्वीनारायण आफैँले आफूलाई ‘म मगर हुँ’ भनेर कहिल्यै नभने पनि ‘मगरातको राजा मैं हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ । शासनसत्तामा शाहहरूले ६ थर घरअन्तर्गत मगरहरूलाई राखेको पाइन्छ । अर्को कुरा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा मगरलाई सबैभन्दा धेरै साथ लिएको देखिन्छ । उनी भन्थे– ‘अदालतमा ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु…।’
अन्त्यमा:
यसप्रकार, यहाँ खड्गदेवी भगवतीको थान हुनु, राम शाहले कोत स्थापना गर्नु, पूर्ण शाहसँग वीरतापूर्वक युद्ध लड्नु, दलु शाहको दरबार मैधीकोटमा हुनु र एवं रितले गोरखाको शाहवंशसँग मगरहरूको साइनो सुरुदेखि नै नजिकको रहनुले पनि पृथ्वीनारायणको व्रतबन्ध मैधीमा हुनु सम्भव भएको हो । त्यति मात्रै नभई, तत्कालीन मैधी राज्य र पूर्ण शाहको आक्रमणपछिको गोर्खा अधिनिस्थ यस राज्यमा भएका साना-ठुला सबै युद्ध, यहाँ बसाइ सराइ आएका सबै जातजाति र यस भेगमा भएका साना-ठुला प्राकृतिक हलचललाई नजिकदेखि देखेका आदिवासी मगरहरू बारेमा भने अझै पनि यथेष्ट जानकारी हासिल गर्न अझै पनि हासिल गर्न सकिएको छैन । तर, गोर्खा एवं अन्य जातिको इतिहाससँग परस्पर दाजी हेर्दा यहाँका मगरहरूको एक आकर्षक इतिहास रहेको प्रतीत हुन्छ । यससम्बन्धमा थप सोधिखोजी जानु पर्दछ नै । यसप्रकार, मैधी मगरहरूको इतिहास अध्येताहरूका लागि एक खुला संग्रालयको रूपमा यद्यपि रहिरहेकै छ ।


सन्दर्भ-समाग्री सूची:
१. हाम्रो मैदी, शाह, विष्णुप्राताप , आफ्नो माटो, स्मारिका-१, २०६०, भाद्र
२. मैदीको आत्म-कथा, अधिकारि, रामप्रसाद, आफ्नो माटो, स्मारिका-१, २०६०, भाद्र
३. हाम्रो ढोला, भट्ट, प्रमोद, २०७१
४. गोरखा वंशावलीका विभिन्न पृष्ठहरू, सं. योगी, नरहरिनाथ
५. पर्यटकीय बिम्ब चित्रमा धादिङ, प्रा. दाहाल, रामहरि, २०६८
६, ढोलामण्डली माईको ख्याति, अर्ज्याल डिल्लीरमण शर्मा, साहित्यसंसार, २०६८, वैशाख ५
७. दसैं र खड्गसिद्धिको महत्व, महर्जन, कल्पना, सन् २०२०
८. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी,आचार्य, बाबुराम
९. रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण, प्राचीन नेपाल, देवीप्रसाद लम्साल, बलराम चित्रकार, राधेश्याम भट्टराई, २०३२
१०. स्थलगत अध्ययन आदि ।




























































Discussion about this post