- प्रेम बास्तोला, राजु झल्लु प्रसाद
ठाकुरबाबा । ‘सस्टेनेबल टप १०० डेस्टिनेसन अवार्ड २०१९’ को ‘एसिया प्यासिफिक’ विधामा उत्कृष्ट दिगो गन्तव्यको रूपमा सम्मानित बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सम्भावित खतराबाट जोगाउन निकुञ्जको आँगनमा रहेको पर्यटकीय नगरी ठाकुरबाबा नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट प्लास्टिकजन्य सामाग्री, फोहोरमैला व्यवस्थापन र ध्वनि प्रदूषणलाई पूर्णरूपमा नियन्त्रण गर्ने भएको छ ।
बिहीबार नगरपालिकाको सभाहलमा भएको ‘ठाकुरबाबा नगरपालिकालाई प्लास्टिक तथा ध्वनि प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापनका सम्बन्धी सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम’बाट यस्तो निर्णय भएको हो ।


नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिना कुमारी भट्टराई र वडाध्यक्ष लगायत सरोकारवालाहरूको अन्तर्क्रियापछि पर्यापर्यटनमा प्रत्यक्ष असर पार्ने प्लास्टिकजन्य सामग्री र ध्वनि प्रदूषणलाई पूर्णरूपमा निषेध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको छ ।
पर्यटन व्यवसायीहरूले डिजे नबजाउने, अनिवार्यरूपमा डस्टबिन राख्ने, डिस्पोजल प्लास्टिक एवं फाइबरको थाल, प्लेट एवं कपको विकल्पको रूपमा दुना-टपरीको प्रयोग बढाउने, निकुञ्ज आसपासमा पिकनिक मनाउन आउने बसहरूलाई अनिवार्य फोहोर व्यवस्थापन गर्न लगाउने, बाहिरबाट आउने पर्यटकहरूलाई हाइवे क्षेत्रमा प्लास्टिक फ्याल्न पूर्ण निषेध गर्ने, मन्दिर क्षेत्रमा सानो स्वरमा भजन बजाउने एवं यी कार्यहरू कार्यान्वयन गराउन नगर प्रहरी, जनपथ प्रहरी, टोल विकास समिति र वडा कार्यालयलाई परिचालन गर्ने निर्णयहरू भएका छन् । त्यसका लागि नगरपालिकाले सुरुमा ७ दिनको सूचना प्रकाशन गर्ने, १०३ वटा टोलविकास संस्थाहरूद्वारा टोल-टोलमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत भएको नगरपालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले बताइन् ।


नगरपालिकाको आयोजनामा भएको अन्तरक्रियामा ठाकुरबाबा नगरपालिका क्षेत्रभित्रका पर्यटन व्यवसायी, होटेल व्यवसायी, टेन्ट व्यवसायी, डिजे व्यवसायी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू, उद्योग, वाणिज्य सङ्घ बर्दियाका पदाधिकारीहरू, इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँका पदाधिकारीहरू, स्वास्थ्य शाखामा कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष तथा दिग्गज पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले अत्यधिक चर्को स्वरमा बजाइने डिजे तथा अनियन्त्रित प्लास्टिकजन्य फोहरका कारण विश्वमाझ नै पर्यापर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा परिचित बर्दियाको स्वाभिमान गुम्ने खतरा बढेकोले तत्काल नियन्त्रणका लागि नगरपालिका एक्सनमा जानुपर्ने बताए । “बर्दियाको आर्थिक आधारक्षेत्र ठाकुरबाबा हो, यसलाई सुन्दर र सफा बनाऔँ”, उनले भने ।
टेन्ट व्यवसायी दुर्गाप्रसाद जैशीले डिजेको कारण ध्वनि प्रदूषण नबढेको दाबी गर्दै यसलाई पूर्ण नियन्त्रणभन्दा पनि समय र भोल्युमको नियन्त्रण गर्न सुझाव दिए ।


इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँका प्रहरी निरीक्षक नवराज बहादुर शाहीले नगरपालिका निकुञ्जको आँगनमा रहेकाले प्लास्टिकजन्य फोहोर र ध्वनि प्रदूषणले पर्यटकलाई मात्रै नभई वन्यजन्तुलाई समेत गम्भीर असर गर्ने भएकाले कडाइका साथ नियन्त्रण गर्न जरुरी रहेको बताए । त्यसका लागि नगरपालिकाले चाहेको खण्डमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न आफ्नो कार्यालय तयार रहेको बताए ।
उपमेयर भट्टराईले कार्यक्रममाथि प्रकाश पार्दै नगरपालिकाको नीति तथा कार्यक्रम ०८०/८१ मै नगरक्षेत्रलाई प्लास्टिकमुक्त नगरपालिका घोषणा गर्ने र सो कार्यको थालनी वडा-९ बाट सुरु गरि अन्य वडामा लैजाने निर्णय भएको बताइन् । उनले नगरपालिकाको वातावरण तथा प्रकृति संरक्षण ऐन, २०७७ ले व्यवस्था गरेबमोजिम स्थानीय सरकारले नीतिगत निर्णयलाई व्यवहारमा उतार्न र नगरपालिकाको यत्रतत्र रहेको जैविक तथा अजैविक फोहोरमैलाको व्यवस्थापन गर्नु अत्यावश्यक रहेको बताइन् । “नगरपालिकामा ८ वटा वडा मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले डम्पिङ साइटका रूपमा ५ नम्बरमा फोहोरमैला व्यवस्थापन गरिरहेका छौँ । निकुञ्जको सहायता थप ४ वटा ठाउँहरूको छनौट गरेका छौँ”, उपमेयर भट्टराईले अगाडि भनिन्, “खुला दिसामुक्त कार्यक्रमको समस्याको रूपमा रहेको ढल तथा दिसाजन्य लेदोलाई पनि व्यवस्थापन गर्दै प्राङ्गारिक मलतर्फ जानुपर्ने, सेप्टी ट्याङ्कीको स्तरोन्नति गर्नु आवश्यक देखेका छौँ ।”


उपमेयर भट्टराईले ४० माइक्रोन भन्दा कम तौल भएका प्लास्टिकको पूर्ण निषेध, कृषि हाटबजारमा गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा पूर्णतया रोक लगाई दुनाटपरी उद्योग तथा कपडाका झोलाहरूको उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्ने बताइन् । बजारबाट प्लास्टिक र फाइबरका थाल, प्लेट, गिलास, हटाउनका लागि नगरपालिकाको आर्थिक सहयोगमा भुरीगाउँ बजारमा लक्ष्मी दुना टपरी उद्योग सञ्चालनमा आइसकेको उपमेयर भट्टराईले बताइन् ।
वडा-७ का अध्यक्ष तथा कार्यक्रमका सभापति कलम बहादुर विष्टले फोहोरमैला पृथकीकरण तथा दिगो व्यवस्थापन गरि बर्दियाको चम्कँदो पर्यटनलाई सदाका लागि जोगाइराख्न नगरवासीको रचनात्मक सहयोग आवश्यक रहेको बताए । उनले क्रसर उद्योग सञ्चालनको समय तोक्ने विषयमा पनि नगरपालिका गम्भीर रहेको बताए ।



























































Discussion about this post