काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो विज्ञान अनुसन्धान केन्द्रले खेतबारीको माटोको अवस्था स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कृत गर्ने भएको छ ।
‘विश्व माटो दिवस २०२३’ को अवसरमा संवाद कार्यक्रम सहित किसानहरूलाई सम्मानित गरिने नार्कका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले बताए । नेपालका विभिन्न ठाउँबाट संकलित ३४ सयभन्दा बढी कृषि माटोको नमूनामध्ये स्वच्छ माटो कायम गरेका दुई जना किसानलाई मंसीर १९ गते सम्मान गरिनेछ । उत्कष्ट दुई किसानलाई जनही १० हजार नगद सहित पुरस्कृत गरिनेछ ।
चार दिनसम्म मनाइने माटो दिवसको यस वर्षको नारा ‘माटो र पानी, जीवनको थालनी’ रहेको छ ।
गत शनिबारदेखि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले बताए । “माटोको गुणस्तर सुधार गर्न जनचेतना जगाउन, माटोको परीक्षण गर्नुपर्छ भन्ने विषयलाई उजागर गर्नु माटो दिवसको उद्देश्य हो,” विष्टले भने ।
दिवसकै अवसरमा पनौतीको खोपासीमा आइतबार र सोमबार दुई दिन निःशुल्क माटो शिविर मार्फत सचेतना अभियान गरिंदै छ । “शिविरमा विद्यालय तहका विद्यार्थीलाई समावेश गराएर माटो परीक्षणको आवश्यकता र स्वच्छ माटोको महत्त्व प्रसार गरिनेछ,” उनले भने ।
यस्तै, मंगलबार नार्कमा तीन वटा विषयगत कार्यपत्रमाथि छलफल पनि हुनेछ । छलफलमा केन्द्रका तर्फबाट ‘नेपालको माटोको समग्र अवस्था’, नेपाल जल संरक्षण फाउन्डेशनको तर्फबाट ङमिन्द्र दाहालले ‘माटो संरक्षणका नीतिगत पक्ष’, त्रिभुवन विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका तर्फबाट प्राध्यापक डा. खेमराज दाहालले ‘नेपाली जनजीवनमा माटोको महत्त्व’ माथि चर्चा गर्नेछन् ।
मंगलबारै कृषि वैज्ञानिक तथा नेपालमा किवी र ड्रागन फ्रूटको विस्तारमा भूमिका निर्वाह गरेका सूर्य पाण्डेले नार्कका महानिर्देशकसँग प्यानल छलफल गर्ने कार्यक्रम पनि छ।
संकटमा माटो
भूक्षय तथा वर्षाको पानीले माटो बगाएर लैजाने गरेको छ । नेपालको अनुमानित वार्षिक १२ देखि १४ टन माटो बगेर जाने गरेको छ, जसमध्ये पहाडी क्षेत्रबाटै २० देखि ३० टन माटो बग्ने गरेको छ ।
पानीको शुद्धीकरण र भण्डारणमा माटो महत्त्वपूर्ण हुन्छ । एक हेक्टर माटोले एक लाख ५० हजार लिटर पानी वहन गर्ने क्षमता राख्छ ।
“नेपालको समग्र माटोको समीक्षा गर्दा नेपालको ६६ प्रतिशत माटो अम्लीय, पाँच प्रतिशत क्षारीय र २९ प्रतिशत माटो तटस्थ रहको देखिन्छ,” विष्टले भने ।
नेपालको माटोको गुणस्तर निरन्तर खस्कँदै गएको नेपाल माटो समाजका उपाध्यक्ष कृषि वैज्ञानिक दुर्गाप्रसाद दवाडी बताउँछन् । “नेपाली माटो रासायनिक मलको अवैज्ञानिक प्रयोगले बिग्रिरहेको छ,” दवाडीले भने, “माटो खाद्य सुरक्षा र स्वास्थ्यसँग जोडिएकाले यसलाई संरक्षण गर्न नसक्दा विकराल समस्या आउँछ ।”
हाल नेपाली किसानले माटोमा प्रांगारिक तत्त्वको कमी हुने समस्या झेलिरहेका छन् । “माटोमा प्रांगारिक तत्त्वको कमी हुनु भनेको माटोको पानी वहन शक्तिमा ह्रास आउनु हो,” दवाडीले भने, “यसले सूक्ष्म जीवाणु नाश हुन्छन् र हाम्रो पर्यावरणमै असर गर्छ ।”
नसर्ने रोगहरू बढ्दै जानुमा पनि माटोको भूमिका हुने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने उनी बताउँछन् । कृषि उत्पादन बढाउन माटोमा हालिने रसायन र हर्मोनहरूले उत्पादित वस्तुमा हर्मोनको असन्तुलन हुने हुँदा मानव स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ ।
“रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सरको वृद्धिको एउटा कारक माटो पनि हो,” उनले भने, “माटो सुधारमा लगानी गर्ने हो भने नसर्ने रोगका कारण हुने खर्च कम हुन्छ र मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।”
विश्वव्यापी रूपमै माटो कसैको प्राथमिकतामा नपरेकाले पनि नेपालमा माटो दिवसको महत्त्व अझै सान्दर्भिक भएको उनको तर्क छ । विश्व खाद्य संगठन (एफएओ)को सिफारिशमा संयुक्त राष्ट्रसंघको ६८औं महासभाको निर्णयले ५ डिसेम्बर २०१३ देखि माटो दिवस मनाउन थालिएको हो । यस वर्षको विश्व माटो दिवस १०औं विश्व माटो दिवस हो । नेपालमा ५ डिसेम्बर २०१४ मा काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरूआत गरी विश्व माटो दिवस मनाउन शुरू गरिएको थियो ।
माटो दिवस मनाउने क्रममा केन्द्रका वैज्ञानिक डा. रोशनबाबु ओझाको टोलीले विद्यार्थीलाई माटो परीक्षण गर्ने तरीका र स्वच्छ माटो किन आवश्यक छ भन्ने तालीम पनि दिनेछ। यसो गर्नुको उद्देश्य मानव स्वास्थ्य जस्तै माटोको पनि स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने जानकारी समाजमा प्रवाह गर्नु हो।
नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो।



























































Discussion about this post