चितवन । समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी काम सुरु भएको छ ।
नवलपुरमा कावासोती नगरपालिकाका १४ वटा वडा, हुप्सेकोट गाउँपालिकाका २ वटा वडा, चितवनमा रत्ननगर नगरपालिकाका ४ वटा वडा, कालिका नगरपालिकाको ७ वटा वडा र इच्छाकामना गाउँपालिकाको १ नम्बर वडामा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्न लागिएको हो । वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालले सहमती संस्था गैँडाकोटसँगको सहकार्यमा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ सुरु गरेको हो ।
डब्लु डब्लु एफ डेनमार्क र डेनमार्क सरकारको आर्थिक सहयोगमा सुरु भएको यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थनशिल नारायणी नदी जलाधारको लक्ष्य राखेको छ ।
ट्रिपल बेनिफिट प्रोग्राम (टि.बि.पि.) परियोजनामाफर्त नारायणी नदी जलाधार अन्तर्गतको नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा ३ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ९ करोड ९३ लाख बराबरको काम हुने सहमतिका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिए ।


शुक्रबार भरतपुरमा भएको परियोजना शुभारम्भ घोषणा कार्यक्रममा डब्लु डब्लु एफ नेपालका स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँदले यस कार्यक्रमले स्थानीय समुदायहरुलाई प्राकृतिक स्रोतहरूमाथिको निर्भरता घटाउँदै, वन तथा जलिय पारीस्थितिकिय प्रणालीको संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्न र तिनीहरूको जीविकोपार्जन उत्थान गर्ने प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्न सहयोग गर्ने जानकारी दिए ।
“यस क्षेत्रमा पानीको अभाव, नदी कटान, वन डडेलो, खुला चरिचरण, सिमित जीविकोपार्जनका अवसरहरू र सीमान्तकृत समूहहरूको प्रतिनिधित्व र सहभागिताको अभाव महशुस गरीएकोले त्यस्ता समस्या समाधानका लागि काम गरिनेछ”, उनले भने । सरोकारवालाहरुको परामर्शमा पहिचान गरिएका सामाजिक चुनौतिहरूको आधारमा यी जलाधार क्षेत्रमा परियोजनाको कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा गर्न लागिएको यस कार्यलाई निरन्तरता दिन सके दिगो विकासको लक्ष्य प्राप्तीमा सघाउ पुग्ने बताए । त्यस्तै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले स्थानीय पालिकासँगको समन्वयमा हुने हुँदा अझ बढी प्रभावकारी हुने बताउँदै जिल्ला समन्वय समितिको तर्फबाट भरपुर सहयोग रहने बताए । इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले खगेरीको मूहानमा ठूलो पहिरो आउने खोलाको धार नै परिवर्तन हुने अवस्था रहेकोले तटबन्धनमा ध्यान दिन आग्रह गरे ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले जैविक विविधता संरक्षणका लागि यो अपरिहार्य रहेको बताए । उनले भने, “पहिले रुखले पानी होल्ड गर्थ्यो, अहिले रुख कटान हुन थाल्यो त्यसपछि पानी बग्न थाल्यो, जसले कटान जस्ता क्षति बढी हुन थाल्यो यो रोक्नपनि संरक्षणमुखी कार्यक्रम जरुरी छ ।”
डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले खगेरी खोला पश्चिम चितवनको लाइफलाइनसँग जोडिएको बताउँदै माथिल्लो र तल्लो तटीय क्षेत्रका जनजीवन सहज बनाउन वन र खोलामा हुने प्रदुषण रोक्नुपर्नेमा जोड दिए । उनले भने, “नदीबाट माछा, ढुङ्गा गिटी बेचेर धेरै धनी भए तर नदी गरीब बन्दै गयो अहिले पालिकाले फोहर यहि क्षेत्रमा फाल्छन्, अब यसलाई जोगाउनुपर्छ ।”
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बन्ने संरचना जनावरमैत्री हुनुपर्नेमा जोड दिए । उनले भने, “पहिले खोला नहरमा पानी आउँदा माछा आउँथ्यो, अहिले प्लास्टिका आउँछ, त्यो रोक्नुपर्छ ।”
वन निर्देशनालयका योजना अधिकृत हेम पाठकले स्थानीय सरकारसँगको समन्वयमा काम गर्न सुझाव दिए। वन, पर्यावरण र संरक्षणसँग सम्बन्धित अन्य सरोकारवालाहरुले परियोजना सफलताको शुभकामना व्यक्त गर्दै प्रभावकारी रुपमा गर्न आग्रह गरेका थिए । सहमतिका कार्यकारी निर्देशक हरिप्रसाद सापकोटाले कार्यक्रमको सहजिकरण गरेका थिए ।



























































Discussion about this post