अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ । नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ ।
यो नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा प्रचलित छ । यसमा काल भैरव मुख्य मानिन्छन् भने श्वेत भैरव र रातो भैरव सहायक हुन्छ । साथमा डंकिनी पनि हुन्छ । भैरवको स्वरूपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्छ । डंकिनीलाई नारी स्वरूपको रूपमा पूजा गरिन्छ ।
तीनवटै भैरव आफ्नो भूमिका अनुसारका रङमा खप्पर, कपडा, चौंरी गाईको पुच्छर, मालासहित शृंगार गरी भगवान्को आकृतिमा सजिएका हुन्छन् । पुरुष नर्तक महिलाको भेषमा शृंगार गरेको हुन्छ, जसलाई डंकिनी भनिन्छ । डंकिनीको भूमिका नखुले पनि भैरव नाचको अभिन्न अंगका रूपमा रहँदै आएको छ ।
भैरव नाच सात तालसम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । सातवटै ताल (पटक) को लय फरकफरक हुन्छ । नाचलाई थप रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच, भालु नाच, भुच्याङलगायत हास्यव्यङय विधा मिसाएर नाचलाई थप रोचक र रमाइलो बनाइएको हुन्छ ।
भूमिकास्थान नगरपालिका ८ हटियाको संरक्षणमा रहेको नुवाकोट भैरव समाजको भैरव नाच हटिया बजारबाट शुभारम्भ गरिएको समाजका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘श्रीकृष्ण जन्माष्टमीको दिनदेखि सुरु हुन्छ,’ उनले भने, ‘तिहारको मादल बज्नुअघि यसलाई विसर्जन गर्नुपर्छ ।’
रातमा मात्र नाचिने यो नाँच हेर्न हजारौं दर्शकको उपस्थिति रहेको थियो । भैरव नाच नेवार समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय छ । अर्घाखाँचीको भैरव नाँच छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रूपन्देहीलगायत काठमाडौंमा समेत लोकप्रिय छ। विभिन्न सम्पर्क समाजको आयोजनामा बाहिरी जिल्लामा पनि भैरव नाच देखाउने गरिएको छ ।
अर्घाखाँचीको डिभर्ना, पटुवाथुम, लात्तेबाज र नुवाकोटबाट यो नाच निकालिँदै आएको छ । युवा पुस्ताको अभावमा यो नाँच विस्तार हुन सकेको छैन । परम्परागत रूपमा देखाउने गरिए पनि यसको संरक्षण र विस्तारमा चुनौती देखिएको छ । (नागरिक दैनिकबाट)




























































Discussion about this post