काठमाडौं । हिन्दु नारीहरूको महान चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छ तर, पार्टी प्यालेस, रेस्टुरेन्ट, दोहोरीसाँझमा अनावश्यक खर्च तडकभडक, धनदौलतको प्रदर्शन महिनौँ दिन अघिदेखि बढिरहेको छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर पछिल्ला वर्षहरूदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । विगत केही वर्षदेखि तीजको सांस्कृतिक पक्षमा छाडापन त मौलाएको छ नै, विद्यालय, अस्पताल, सरकारी कार्यालय जस्ता सार्वजनिक संस्थाहरूले तीज आउनुपूर्वदेखि नै दर खाने निहुँमा आफ्नो जिम्मेवारी बिर्सिँदै गएको देखिन थालेको छ ।
यस्तै घटनाको पछिल्लो उदाहरण हो, भक्तपुरको चाँगुनारायण नगरपालिका, वडा नम्बर २, दुवाकोटस्थित गणेश आधारभूत विद्यालय ।
बुधबार बिहानै विद्यालयको प्रधानाध्यापकको नेतृत्त्वमा सम्पूर्ण महिला शिक्षकहरू विद्यालय छाडेर वडाध्यक्षको निमन्त्रणामा दर खान गएको पाइएको छ । विद्यालयमा बिहानी प्रार्थनासभा भइरहेको समयमा विद्यालयकी प्रधानाध्यापक कल्पना बोहोराको नेतृत्वमा सम्पूर्ण महिला शिक्षकहरू वडाध्यक्ष सोम प्रधानको निमन्त्रणामा दर खान दुवाकोट सिटि बैंकुट, तल्लो हाईट पुगेका हुन् ।
टूरशालाले पाएको जानकारी अनुसार बिहान १० बजेर २० मिनेट जाँदासम्म विद्यालयमा महिला शिक्षकहरू उपस्थित थिएनन् । विद्यालय प्रशासनको यस्तो गतिविधिले विद्यार्थीको पठनपाठनमा त नोक्सान पुर्याएको छ नै, विद्यालय प्रशासनको गैह्रजिम्मेवारीपन र नियामक निकायको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।





























































Discussion about this post