काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले उक्त प्रतिबद्धता जनाएका हुन् ।
उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताएका हुन् । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताउँदै तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताएका हुन् ।
यसका साथै, प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढेको बताए । उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।
उनले भने ‘‘अगाडि बोल्ने नेताहरूले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ। हिजो मात्रै मन्त्रीपरिषद् बैठकमा यो कुरा चलेको छ । हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन । सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्र्रष्ट गरेका छौं । आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु । सुदूरपश्चिममा पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउने मैले जमर्को गरेको थिए । तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा धेरै कुरा भएका छन् । चाहे गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको छ । सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास राख्ने मान्छे हुँ म । सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरश्चिममा गएको छु ।’’



























































Discussion about this post