मुगु: मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. २ चैनगाउँमा रहेको छायाँनाथको मन्दिरबाट आज भगवान् शिव र सतीदेवीको (गाथ) मूर्ति लिएर पुजारी, सुरक्षाकर्मी तथा स्थानीय टोलीले छायाँनाथ धाम यात्रा सुरु गरेको छ ।
हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर मानिँदै आएका यी दुई धार्मिक स्थलहरूमा साउन महिनामा छायाँनाथ धाममा गाथ, मूर्ति लिनै पर्ने बाध्यकारी अवस्थाका कारण आज सुरक्षाकर्मी, पुजारी र भक्तालु सर्वसाधारणले छायाँनाथ धामको यात्रा सुरु गरेका हुन् ।
जिल्लाको मुगुम् कार्मारोङ्ग गाउँपालिकाको वडा नं. १ डोल्फुमा रहेको छायाँनाथ धाम र जिल्लाकै छायाँनाथ रारा नगरपालिका वडा नं. १० र ११ मा रहेको ऋणीमोक्ष्य धाममा वर्षेनी साउनको अष्टमी देखि जनै पूर्णिमासम्म देश भित्रका र छिमेकी देश भारतबाट समेत गरि हजारौँ तिर्थयात्रु आफ्ना कुल देवताको शुद्धि, नयाँ धामी, झाँक्री औतार गर्न, आफूले चाहेको वर माग्न र पितृहरूको सम्झना गर्न आउने भएकाले तिर्थालु तथा भक्तजनको दर्शनका लागि चैन गाउँको छायाँनाथ मन्दिरमा रहेका गाथहरू अथवा मूर्तिहरू समुन्द्री सतह देखि ५ हजार मिटरको उचाइमा रहेको हिमालको खोचमा अवस्थित छायाँक्षेत्रमा लैजाने गरिएको छ ।
हिन्दुहरूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १०औँ अध्यायकाअनुसार दक्षप्रजापतीले आफ्नो घरमा लगाएको महायज्ञमा ३३ कोटी देवी देवताहरूलाई बोलाए पनि भगवान् महादेवलाई नबोलाउँदा छोरी सतीदेवीले आफ्ना बुवा दक्षप्रजापतीलाई नबोलाउनुका कारण बारे सोध्दा दक्ष प्रजापतीले महादेवबारे नानाथरीको आरोप लाञ्छना लगाउँदै आफ्नो बेइज्जत रोक्न ३३ कोटी देवता ज्वाई छोरीलाई बोलाए पनि महादेवलाई नबोलाएको भनेपछि आफ्ना पतिको बेइज्जत सहन नसकी यज्ञको होम कुण्डमा सतीदेवीले हामफाली प्राण त्याग गरेपछि महादेव विरक्त भई सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जाँदा सतीदेवीका अङ्ग जहाँ जहाँ पतन भए ती स्थान शक्तिपिठका रुपमा स्थापना भएको र छायाँनाथमा सतीदेवीका अन्तिममा बाँकी सबै अङ्ग पतन भएको छायाँनाथ अद्भुत शक्ति पीठका रुपमा रहँदै आएको उल्लेख भएकाले अहिले पनि भगवान् महादेव सतीदेवीका अन्तिममा बाँकी रहेका सम्पूर्ण अङ्ग पतन भएको छायाँनाथ धाममा सतीदेवीको मायाले साक्षात् रही यतै बसेको कुरा हिन्दु धर्मावलम्बीहरूले विश्वास गर्ने गरेको बताइन्छ ।
उता ऋणीमोक्ष तिर्थ स्थलबारे हिन्दु धर्मावलम्बी छाँयानाथमा महादेव बसेकाले उहाँको ध्यान सतीदेवीबाट मोक्ष गराउन अप्सरा तथा देवीहरूले ऋणीमोक्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरू त्यहाँ रहेको भन्दै पूजाआजा र आफ्ना पाप मोक्ष र वर प्राप्तिका लागि आउने गरेका हुन् ।
छायाँनाथ र ऋणीमोक्ष धाम उच्च हिमालमा रहेका र यहाँ बाह्रै महिना हिउँ जम्ने भएकाले दैनिक पूजाआजा गर्न समस्या हुने भएकाले महादेव र सतीदेवीका मूर्तिहरू ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाउँमा रहेका छायाँनाथ र ऋणीमोक्ष मन्दिरमा राखिँदै आएका छन् भने प्रत्येक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित गाथ (मूर्ति) छायाँनाथ र ऋणीमोक्ष धाममा पूजाआजाका साथै सुद्धी र भक्तजनको दर्शनका लागि लिने गरिन्छ ।




























































Discussion about this post