काठमाडौं: सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रूपमा कठिनाइ होला । उनमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहका साथ आरोहणयात्रा तय गर्दै उनी गत साउन २६ गते आरोहणका लागि रसिया गए ।
आरोहण प्रक्रिया पूरा गरी गत बिहीबार साउन ३२ गते बिहान शेर्माले माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फहराउन सफल भए । “हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो”, हिमाल आरोहण सकेर मङ्गलबार काठमाडौं ओर्लिएका आरोही शेर्माले भने, “क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ ।”
सगरमाथा र एल्ब्रस चढ्न कुन बढी कठिनाइ रहेछ भनी सोधिएको जिज्ञासामा आरोही शेर्माले भन्नुभयो, “फरक भनेको हिमालको उचाइ मात्रै हो । हिउँ उस्तै हो, हिमाल चढाइको रमाइलो र कष्ट दुवै उस्तै हुन् । हिमालमा देखिने दृश्य र ती दृश्यले लोभ्याउने पल, मौसममा आएको बदलीले उब्जाउने त्रास सबै उस्तै हुन् । त्यहाँ पुग्दा सगरमाथाको उचाइमा पुगेजस्तै अनुभूति भयो ।”
आरोही शेर्माको बुझाइमा सगरमाथामा हिमपहिरो र ग्लेसियर बढी जोखिम हुनेगर्छ भने एल्ब्रसमा ग्लेसियर कम हुने हुनाले दुर्घटनाको जोखिम कम हुन्छ । उनले वि.सं. २०७४ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
एल्ब्रस हिमालका लागि काठमाडौंदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट गएका शेर्मा त्यहाँबाट करिब ६ घण्टा पैदलयात्रा पछि आजाउमा पुगेका थिए । शेर्माले आजाउबाट तेसकोल हुँदै छिकेद पिकसम्मको आरोहण अभ्यास गरेका थिए । उनको टोलीमा नेपाली गाइड चतुरमान तामाङ र रसियन गाइड डेनिससहित त्यहाँका तीन आरोही गरी पाँचजना सहभागी थिए ।
आजाउ नजिकैको माउन्टेन हटदेखि बुधबार मध्यरात माउन्ट एल्ब्रसका लागि प्रस्थान गरेका उनले रातभर आरोहण यात्रा तय गरेर बिहीबार बिहान ५ः१५ बजे सफलतापूर्वक आरोहण गरी नेपाली झण्डा फहराएका थिए । शेर्माको पर्वतारोहणको चाँजोपाजो ट्रेकिङ एजेन्सी चतुर ट्रेक एन्ड एभडेन्चर प्रा.लि.ले गरेको थियो ।
रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा, लुम्बिनीलगायत नेपालका धार्मिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी दिँदै उनीहरूलाई नेपाल भ्रमणको निम्तो दिएको आरोही शेर्माले बताए । “आरोहणका क्रममा आफूले बयान गरेको यहाँको वस्तुस्थितिका बारेमा सबै आरोहीले कौतुहलतापूर्वक सुनेका थिए”, उनले भने, “उनीहरूले नेपाल भ्रमणमा आउने चासो पनि देखाएका छन् ।”
शेर्माले यसपछि तान्जानियाको किलि मन्जारो हिमाल आरोहण गर्ने योजना बनाएका छन् । सात महादेशका सात वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता र नेपालको पर्यटन प्रवर्द्वनमा योगदान पुर्याउने उद्देश्यले हिमाल आरोहण अभियान सुरु गरेको शेर्माले बताए । आरोहण अभियानको नारा ‘विश्व मानव शान्तिका लागि मानव एकता र धार्मिक सहिष्णुता कायम राखौँ’ रहेको उनले जानकारी दिए ।
पाँचथरका ३६ वर्षीय शेर्माले यसअघि सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ र आइसल्यान्ड पिकको सफल आरोहण गरिसकेका छन् । उनले नेपालको होचो भू-भाग केचनाकवलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा बेस क्याम्पसम्मको पैदलयात्रा पनि गरिसकेका छन् । पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धनका साथै धार्मिक सहिष्णुता कायम गर्नका लागि आफू लागेको बताए ।
“देश पर्यटनको माध्यमबाट समुन्नत र समृद्धिको दिशामा अघि बढोस् भन्ने मेरो चाहना छ, पर्वतारोहीलाई राज्यले पनि सम्मान गर्नुपर्छ । उनीहरूको जीविकोपार्जनका लागि केही व्यवस्था हुनसके पर्वतीय पर्यटनको प्रभावकारी प्रवर्द्धन हुने थियो”, आरोही शेर्माले भने । आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विशेषज्ञबाट तालिमको यथोचित व्यवस्था गरी पूर्ण व्यावसायिक बनाउन जरुरी रहेकामा उनले जोड दिए । आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्दै अर्को देशको भाषा, संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने उनले धारणा राखे ।
आरोही शेर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शेर्मा समुदायका अगुवा एवम् प्रतिनिधिले सांस्कृतिक परम्परासहित स्वागत गरेका थिए । स्वागतपछि आयोजित कार्यक्रममा शेर्मालाई सम्मान गरिएको थियो । सोही अवसरमा उनले आफ्नो आरोहण अनुभव सुनाएका हुन् । रासस




























































Discussion about this post