हरेक वर्ष भदौ १ गतेका दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । यिनी कीर्तिपुर बासिन्दाका इष्टदेवता समेत हुन्।जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तिपुरका विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ ।
नेपाल सम्वत् १०६७ तदनुसार वि. सं. २०१३ साल देखि शुरु भएको यो जात्रामा खटजात्रा चलाउने परम्परा भने वि. सं. २०१४ भदौ १ गतेदेखि सुरु भएको देखिन्छ । जात्राको दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहिआएको छ । गोपाल वंशावलीका अनुसार, स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर, मातातीर्थ र साँगासँगै विस्तार भएको हो ।
इतिहासका लेखक वासुपासाले ‘नरगो’ कीर्तिपुरको प्राचीन बस्ती भएकाले जहाँ खनेर हेरे पनि अझै पनि भग्नावशेष भेटिन सक्ने कुरा उल्लेख गरेका छन् । त्यस सयममा जंगलैजंगल भइरहेको कीर्तिपुरको डाँडामा ‘नरगो’ का गोठाला केटाकेटीले भेडाबाख्रा चराउन जान्थे । ती गोठालाले त्यहाँ माटोको बाघ बनाई खेलिरहेको बेलामा बाघको जिब्रो राख्न पात खोजेर ल्याउँदा त्यहाँ चराइरहेका सबै भेडाबाख्रा बाघले खाइसकेको रहेछ । गोठाला केटाहरूले यस्तो दृश्य देखेर डराई गाउँका मानिसलाई भन्न जाँदा सबै गाउँले आउँदा यस्तो आश्चर्यजनक दृश्य देखेछन् । जंगलको चारैतिरबाट बाघ कराएको आवाज सुनेर डराएर त्यहाँका सबै मानिस काठमाडौंको हाँडीगाउँमा बस्ती नै सरेको थिए, भनिन्छ ।
ती मानिस बसाइँ सरेपछि पांगा र नगांका ज्यापुरुलाई पनि बाघले दुःख दिन थालेछ । भेडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर बाघले दुःख दिएकाले मानिस त्रासमा बाँच्नुपर्ने भयो । यस्तो दुःख र त्रासबाट कसरी पार पाउन सकिन्छ भन्दै जान्ने एक जना तान्त्रिकलाई देखाउँदा माटोको बाघको शरीरमा भैरव वहन आएकाले यस्तो भएको हो भनेछन् । अब त्यो बाघलाई शान्त पार्न हरेक वर्ष सिंह संक्रान्ति अर्थात् भदौ १ गते भेडा, बोका र राँगा बलि दिएर बाघभैरवको जात्रा गर्नुपर्ने बताएछन् । त्यही बेलादेखि बाघभैरवको मन्दिर बनाएर पूजाआजा गरी जात्रा चलाउँदै आएको हो, भन्ने गरिन्छ (स्रोत: प्रेममान डंगोल)। र, यस मूर्तिमा जिब्रो छैन ।


ने.सं. ३३५ मा पाटन पिम्बहालका महापात्र जगतपाल वर्माले बाघभैरव देवाताको पुरानो मन्दिर भत्काएर पुनर्निर्माण गराई तीनतले प्यागोडाशैलीमा मन्दिर बनाएर भव्य रूपमा जात्रा चलाएका हुन् । हालसम्म पनि प्रत्येक वर्ष भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरेर मेला पर्व मनाइँदै आएको छ ।
१२ वर्षमा एकपटक बाघभैरवको भव्य जात्रा गरिन्छ । १२ वर्षे मेलाको रूपमा मनाइने जात्रामा विभिन्न देवीदेवताको नाच पनि देखाउने गरिन्छ । यसरी देखाइने नाचमा भैरव, बारही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ ।




























































Discussion about this post