नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।
‘नेपाल सर्प महोत्सव’ नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा सञ्चालन गरिएको हो ।
महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने भएको हो ।
विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा मृत्यु हुने गरेको छ । सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किन भने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अङ्ग हो । आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरी पोस्टर र तिनका विशेषताका बारेमा स्थानीय सहभागी, विद्यार्थीलगायत लाई जानकारी गराइने भएको हो ।
समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्याङ्क पनि बढ्दो रहेको छ । सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेको छ ।



























































Discussion about this post