सुनिल उलाक
काठमाडौंको टुडिखेल पश्चिम तिर राखिएको यो रेलको डिब्बा वि.सं.२०२५ सालसम्म देख्नेहरू धेरै नै पाइन्छन् । पछिल्लो पटक देख्नेहरूले यस भाँडोलाई शौचालयको रुपमा पनि देखे होलान् । सार्वजनिक शौचालयको अभाव भएको काठमाडौंमा यसलाई धेरैले शौचालय नै बनाइदिएका थिए । त्यसपछि बालाजुमा लगेर मिल्काइयो र त्यही नै यसको अस्तित्व पनि हरायो ।
आखिर यो के थियो त रु वा किन यहाँ राखियो भन्ने धेरैलाई थाहा नै भएन । राणाकालमा नै ल्याइएको भन्ने जानकारी प्राप्त भए पछि मैले यस विषयमा बुझ्नको लागि जुद्धशम्शेरका खलकका, चन्द्रशम्शेर खलकका तथा वीरशम्शेर खलकका केही मेरा चिरपरिचित राणा व्यक्तित्त्वहरूसँग सोधपूछ गरे । यहि नै हो भन्ने यकिन जानकारी वहाँहरूबाट पनि जवाफमा पाउन सकिन । तर, केही तथ्यहरू जुन पाएँ त्यो रोचक नै थियो ।
यो रेलको डिब्बा टुँडिखेलको पश्चिमतर्फ राणा प्रधानमन्त्री जुद्ध शम्शेरको समयमा राखिएको थियो । शुरुमा यस प्रकारको डिब्बा ७ वटा थियो । यो डिब्बा रेलको डिब्बा नै थियो तर आवश्यकता अनुरुप केही परिवर्तन गरिएको थियो । जुद्धशम्शेरको समयमा नरशम्शेरको नेतृत्वमा बेला बेला फुटबल खेल भइरहने गर्दथ्यो । मदनशम्शेरको नेतृत्वमा क्रिकेटका खेलहरू हुने गर्दथ्यो । त्यो समयको निकै चर्चित फुटबल तथा क्रिकेटको खेल हेर्न जुद्धशम्शेर आफ्ना रानी तथा राणा परिवारका अन्य सदस्यहरू पनि फुटबल हेर्न पुग्दथे ।
प्रधानमन्त्री तथा अन्य पारिवारिक सदस्य तथा विशिष्ट व्यक्तिहरू यहि डिब्बामा घामपानीबाट सुरक्षित भएर फुटबल हेर्दथे । बबर महल टिम, श्रीदरवार ११ टिम तथा जावलाखेल टिमका क्रिकेट म्याच तथा फुटबलमा राम जानकी कप प्रतियोगिता नै हुने गर्दथ्यो । यसरी यी खेलहरू हेर्न राणा परिवारका महिला सदस्यहरू पनि पुग्दथे । यी राणा परिवारका महिला सदस्यहरूको लागि पनि सुरक्षित भएर खेल हेर्न सहजता यहि भित्र नै हुने गर्दथ्यो ।
सातवटा डिब्बाहरू जमिनमा ओछ्याइएको लिकमा नै राखिएका हुन्थे । यस लिकको प्रयोजन उत्तर र दक्षिण तर्फ सार्नको लागि प्रयोग गरिन्थ्यो । खासै लामो लिक ओछ्याइएको थिएन तर पनि लिक मार्फत दायाँबायाँ सार्न भने सहज हुन्थ्यो । सायद, फुटबल तथा क्रिकेट खेलको समय वा स्थान चयन गर्दा यसलाई पायक पर्ने ठाँउमा सार्नको लागि पनि लिक राखिएको हुन सक्छ ।
अब प्रश्न आउँछ यि रेलका डिब्बा काठमाडौंमा अन्य प्रयोजनका लागि ल्याइएर उपयोग विहिन भए पछि फुटबल तथा क्रिकेट हेर्नको लागि बनाइएको त होइन वा भनौ काठमाडौं उपत्यकामा गुड्ने मातातिर्थ रेलवेका डिब्बा त होइनन् या भनौ मातातिर्थ रेलवे बन्द भए पछि वा खासै सञ्चालनमा आउन नसके पछि सो रेलको लागि ल्याइएका डिब्बा नै यहाँ राखिएका हुन् कि वा रेलको डिब्बा आवश्यकता भन्दा बढि संख्यामा ल्याइए पछि बढि भएका डिब्बालाई परिवर्तन गरि यस प्रकारको प्रयोजनको लागि परिमार्जन गरि टुँडिखेलको पश्चिममा लहरै राखिएका हुन् कि ?




























































Discussion about this post